Trending :
 

रेशम विरहीको उपन्यास ‘प्रेमदासको डायरी’ सार्वजनिक

बैशाख २४,२०७४

-

वैशाख २४ –

साहित्यकार तथा पत्रकार रेशम विरहीको नयाँ उपन्यास ‘प्रेमदासको डायरी’  सार्वजनिक भएको छ ।

कविता तथा निबन्ध विधामा कलम चलाउने रेशम विरही ‘प्रेमदासको डायरी’ बाट उपन्यासकारका रुपमा आएका हुन्  ।

राजधानीको सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रममा लेखक नारायण ढकाल, कवि श्यामल, पत्रकार नारायण वाग्ले र दिलभूषण पाठकले संयुक्त रुपमा उपन्यासको विमोचन गरे ।

उपन्यास नेपालको कम्युनिष्ट आन्दोलन, भारतको प्रभाव तथा आन्दोलनबाट पलायन पात्रको कथामा आधारित रहेको छ ।

सहजकर्ता दीपक सापकोटासँको संवादमा समीक्षक वाग्लेले उपन्यासमा भारतसँगको अनुभव र प्लट ब्ल्याक एन्ड ह्वाइटको रुपमा मात्र आएको टिप्पणी गरे। उनले भने, ‘उपन्यासमा नेपालको कम्युनिष्ट आन्दोलनमा भारतको पूरै प्रभाव परेको देखाइएको छ, उसको सानोतिनो प्रभाव नपरेको होइन तर सत्ता नै उलटपुलट गराउने खालको होइन।'

कवि श्यामलले भने विरहीले उन्यास लेख्दैछु भनेर सुनाउँदा सुरुमा पत्याएका रहेनछन् । विरहीसँग चार दशकदेखि संगत गर्दै आएका श्यामलले कार्यक्रममा भने, ‘ऊ इमोसनल टाइपको मान्छे हो । उसलाई चित्त नबुझेको कुरामा प्रवेश नै गर्दैैन तर जहाँ पस्छ, त्यसलाई गम्भीर तरिकाले पूरा गर्छ । प्रेमदासको डायरी त्यसकै उदाहरण हो ।’ नेपाल, भारतको राजनीतिक परिवेश र प्रेमलाई समेत जोडेर विशाल क्यानभासमा उपन्यास तयार भएको भन्दै उनले इतिहासको आख्यानीकरणको रुपमा गम्भिर कृति आएको बताए ।

अर्का वक्ता नारायण ढकालले भने आफूले लेखिरहेको उपन्यासको कथासँग केही प्लट मिलेको खुलासा गरे । ‘म पनि उपन्यास लेखिरहेको छु, प्रेमदासको डायरी पढ्दा मेरै कथासँग मेल खाने केही प्रसंगहरु पाएँ । अब अर्कै तरिकाले लेख्नुपर्ने भएको छ ।‘

शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य ३९५ रुपैयाँ रहेको छ।