दक्षिण कोरियासँग सैन्य अभ्यासको अर्थ छैन : ट्रम्प
-
१५ भदौ, २०७५ एजेंसी l
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले दक्षिण कोरियासँग सैन्य अभ्यास गर्नुको अब कुनै अर्थ नरहेको बताएका छन् । दुई देशबीच पछिल्ला केही वर्षयता वार्षिक सैन्य अभ्यास हुँदै आएको थियो, जसलाई लिएर उत्तर कोरियाले आपत्ति जनाउँदै आएको थियो ।
चीनमाथि आरोप
उत्तर कोरिया पूर्ण रूपमा निशस्त्र नहुनुमा चीनको हात रहेको ट्रम्पले बताएका छन् । तर, व्यक्तिगत रूपमा उत्तर कोरिया र चीनका नेतासँग आफ्नो सम्बन्ध सुमधुर रहेको उनले बताएका छन् । पछिल्लो ट्विटमा ट्रम्पले उत्तर र अमेरिकाबीचको व्यापार द्वन्द्वका कारण चीनले उत्तर कोरियालाई अमेरिकाविरुद्ध उपयोग गरेको बताए । बेइजिङ प्योङयाङको एक मात्र निकट मित्र हो र उत्तरले लिने कुनै पनि कदममा चीनको महत्वपूर्ण प्रभाव पर्ने बताइन्छ ।
त्यस्तै, बेइजिङ लामो समयदेखि वासिङ्टनको सबैभन्दा शक्तिशाली र दीर्घकालीन प्रतिद्वन्द्वीसमेत हो । चीन र अमेरिका पछिल्लो समयमा व्यापार युद्धमा फसेका छन् । अमेरिकाले चिनियाँ सामग्रीमाथि भारी मात्रामा कर लगाउने घोषणा गरेपछि बेइजिङले पनि सोही परिमाणमा वासिङ्टनविरुद्ध कर लगाउने चेतावनी दिएको छ ।
निशस्त्रीकरणबारे अन्योल
गत जुन महिनामा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग सिंगापुरमा शीर्ष भेटवार्ता गरेका थिए । उत्तर कोरियालाई जतिसक्दो चाँडो निशस्त्र पार्ने विषयमा दुई नेताबीच सहमति भएको थियो । सो सम्मेलनमा उत्तर कोरियाले परमाणु कार्यक्रम समाप्त गरेर निशस्त्रीकरण प्रक्रियामा जाने प्रतिबद्धता जनाएको थियो ।
तर, उत्तरलाई कहिलेसम्म र कसरी निशस्त्र पार्ने भन्ने विषयमा वार्ताको समयमा केही उल्लेख गरिएको थिएन । उत्तरलाई निशस्त्र गर्न कुनै समयसीमा नभएको ट्रम्पले बताउँदै आएका छन् । उत्तर कोरियाबाट परमाणु खतरा नरहेको राष्ट्रपति ट्रम्पले नै बताउँदै आएका छन् । निशस्त्रीकरण प्रक्रिया र समयसीमालाई लिएर अमेरिकी विज्ञसमेत अन्योलमा छन् । आणविक कार्यक्रम र क्षेप्यास्त्र परीक्षणलाई लिएर प्योङयाङमाथि अन्तर्राष्ट्रिय समुदायले निरन्तर प्रतिबन्ध लगाएको छ ।
उत्तरका शंकास्पद गतिविधि
उत्तर कोरियाका आणविक भट्टीहरूमा अझै पनि शंकास्पद गतिविधिका स्याटलाइट तस्बिर भेटिएको अमेरिकी गुप्तचर अधिकारीले बताउँदै आएका छन् । केही दिनअघि अमेरिकी गुप्तचर निकायले प्योङयाङले नयाँ ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गरेको दाबीसहितको रिपोर्ट सार्वजनिक गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पसँगको सुधिएको सम्बन्धका बाबजुद पनि उत्तर कोरियाले क्षेप्यास्त्र निर्माण गरेका प्रमाण भेटिएका गुप्तचर अधिकारीको दाबी छ । उत्तर कोरियाले नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र बनाउँदै गरेको अमेरिकाको आरोप छ । त्यस्तै, संयुक्त राष्ट्रसंघको परमाणु एजेन्सीले पनि उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई बन्द नगरेको बताएको छ ।
के भने टम्पले ?
‘दक्षिण कोरियासँग सैन्य अभ्यास गर्नुपर्ने म कुनै कारण देख्दिनँ । तर, दक्षिणसँगको सैनिक अभ्यास सुरु भयो भने अहिलेसम्मकै ठूलो हुनेछ,’ ट्रम्पले भनेका छन् । ट्रम्पको भनाइ आफ्नै रक्षामन्त्रीको अभिव्यक्तिसँग बाझिएको छ । रक्षामन्त्री म्याटिसले यसै सातादेखि अमेरिका र दक्षिण कोरियाबीच सैन्य अभ्यास हुने बताएका थिए । जुन महिनामा उत्तर कोरियाली नेतासँगको शिखर वार्तापछि अमेरिकाले दक्षिणसँग संयुक्त सैन्य अभ्यास नगर्ने अमेरिकाले प्रतिबद्धता जनाएको थियो । ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको शिखर वार्तापछि पनि उत्तरले निशस्त्रीकरणको पहललाई तीव्र नपारेको विज्ञहरूले बताइरहेका वेला दक्षिणसँगको सैन्य अभ्यासबाट अमेरिका पछि हटेको हो ।
ट्रम्पका अभिव्यक्ति गैरजिम्मेवार : चीन
बेइजिङरवासिङ्टनको उत्तर कोरियासँगको सम्बन्ध बेइजिङका कारण जटिल बनेको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ गैरजिम्मेवार भन्दै त्यसकोे चीनले विरोध गरेको छ । ट्रम्पको आरोप ‘गैरजिम्मेवार र बेतुकको तर्क’ भएको बेइजिङले जनाएको छ ।
सत्यतथ्यलाई बंग्याउनु अमेरिकी संस्कृति नै भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले बताए । उनले भने, ‘हामी चाहान्छौँ कि उत्तर कोरियासँगको वार्तालाई अघि बढाउन चीनले जस्तै अमेरिकाले पनि सकारात्मक तथा रचनात्मक भूमिका खेल्नेछ । अमेरिकाले अरूलाई दोष दिनुभन्दा आफैँलाई हेरोस् ।’ ह्वाइट हाउसमा बुधबार बोल्दै अमेरिकी राष्ट्रपतिले ट्रम्पले उत्तर कोरियासँग अमेरिकाको सम्बन्ध विस्तारमा चीनको कारण जटिलता थपिएको बताएका थिए ।