वासस्थानको नुनिलो पानीले ११ गैँडा मरे
-
१५ भदौ, २०७५ एजेंसी l
लोपोन्मुख गैँडा बचाउसम्बन्धी केन्याको एउटा अभियानको असफलताले विश्वभरका वन्यजन्तु संरक्षणकर्मी चकित परेका छन् । अभियानअन्तर्गत केन्याका ११ वटा महत्वपूर्ण काला प्रजातिका गैँडालाई नयाँ स्थानमा स्थानान्तरण गरिएको थियो । अभियान गैँडा संरक्षणमा कोसेढुंगा साबित हुने अपेक्षा गरिएको थियो । तर, उचित वासस्थानको अभाव र नुनिलो पानीका कारण स्थानान्तरण गरिएका लोपन्मुख ११ गैँडा मरेका छन् ।
कसरी मरे गैँडा ?
गैँडाको मृत्युको मुख्य कारण नयाँ वासस्थानको पानीमा नुनको मात्रा बढी भएको आधिकारिक प्रतिवेदनमा उल्लेख छ । विज्ञहरूले नयाँ वासस्थान गैँडाका लागि उपयुक्त नरहेको भन्दै पटक–पटक चेतावनी दिए पनि गैँडा स्थानान्तरण परियोजना अगाडि बढाइएको थियो । अभियान विफल भएपछि सरकारी अधिकारीले एक–अर्कामाथि दोषारोपण गरेका छन् ।
गैँडा स्थानान्तरण परियोजना केन्याका पर्यटन तथा वन्यजन्तुमन्त्री नजिब बलालाले जुन महिनामा एक ‘भव्य’ कार्यक्रमबीच शुभारम्भ गरेका थिए । सो परियोजनाका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले करिब १० लाख अमेरिकी डलर सहयोग गरेको थियो ।
मुभ नाम दिइएको सो अभियानले चोरी–सिकारीबाट गैँडाको संरक्षण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको थियो । प्रकृति संरक्षण युनियन ९आइयुसिएएन०ले काला गैँडालाई अति संकटापन्न प्राणीको सूचीमा सूचीकृत गरेको थियो । नैरोबी र नाकुरुका निकुञ्जबाट यी गैँडालाई चाभो इस्ट नामको नयाँ वासस्थानमा पठाइएको थियो । केन्या वन्यजन्तु सेवा (केडब्लुएस) र डब्लुडब्लुएफले यी गैँडाको वासस्थान निर्माण गर्न ६ वर्ष लगाएका थिए ।
नयाँ वासस्थानमा गैँडालाई जमिनबाट पम्प गरेको पानी खुवाउने प्रबन्ध गरियो । तर, पानी ज्यादै नुनिलो थियो । ‘वासस्थानमा रहेका अन्य जीवजन्तु भने पम्प गरिएको पानीको छेउमा समेत आउँदैनथे,’ केन्याली पशुचिकित्सक युनियनका अध्यक्ष डा. बेन्सन किबोरले भने ।
किबोरका अनुसार लवणयुक्त पानीले गैँडालाई तिर्खा मात्र लाग्थ्यो र बढी पानी खानुपथ्र्यो । जसका कारण रगत बाक्लो हुने तथा रक्तप्रवाहको गतिलाई सुस्त बनाउँथ्यो । किबोरले भने, ‘पानीले गैँडाको शरीरको सुक्खापन उच्चस्तरमा पुगेको थियो ।’
पानीमा पाइने अत्यधिक नुनका कारण बोल्ट नाम दिइएको गैँडा सबैभन्दा पहिले मरेको थियो । त्यसपछि अरू गैँडा एकपछि अर्को गर्दै मरे । अन्तिम गैँडा ज्याक यति कमजोर भइसकेको थियो कि सिंहले आक्रमण गर्दा आफूलाई जोगाउन नसक्ने अवस्थामा पुगेको थियो । सिंहको आक्रमणको भोलिपल्ट ज्याकको मृत्यु भएको थियो । ‘यी गैँडा धेरै ठूलो समस्यामा छन् भन्ने मलाई लागेको थियो,’ केडब्लुएसका पूर्वअध्यक्ष एवं वरिष्ठ संरक्षणकर्मी नेहेमिया रोटिचले भने ।
रोटिच र परियोजनाका केही पूर्वसदस्यले आफूहरूले नयाँ वासस्थानको पानीको अम्लीयपन र खानाको अभावका कारण गैँडा स्थानान्तरण कार्यक्रमलाई धेरैपटक स्थगित गरेको बताए । उनले गैँडा स्थानान्तरण गरिएको ठाँउको दुईपटक भ्रमण गरेका थिए । सुख्खा र नदीबाट निकै टाढा रहेकाले नयाँ वासस्थानमा पानीको व्यवस्था गर्न पम्प जडान गरिएको थियो ।
गैँडा स्थानान्तरण कार्यक्रम आयोजना गरिएको बारे केडब्लुएसलाई दुई दिनअघि मात्र सूचना दिइएको थियो । केडब्लुएसका सदस्य हिथ र रोटिच दुवैले स्थानान्तरणका लागि डब्लुडब्लुएफले जबर्जस्ती गरेको आरोप लगाए । २०१७ को अक्टोबरमा बोर्डले स्थानान्तरणका लागि सर्तसहितको स्वीकृति प्रदान गरेको थियो । जसमा नयाँ वासस्थान सुरक्षित हुनुपर्ने सर्त राखिएको थियो ।
केडब्लुएसले यसै वर्ष १५ पटक गरेको पानीको परीक्षणमा स्वीकृत स्तरभन्दा तीनगुणा बढी नुनिलो रहेको देखिएको थियो । किबोरका अनुसार यी महत्वपूर्ण सूचक पहिलो गैँडा बिरामी हुँदासमेत पशुचिकित्सकलाई हेर्नसमेत दिइएको थिएन ।