भाद्र १६,२०७५
-माधव प्रसाद गर्तौला
१६ भदौ, २०७५ काठमाण्डौ l
कथितो वंशविस्तारो भवता सोमसूर्ययो: l
राज्ञां चोभयवंश्यानां चरितं परमाद्भुतम् l l (श्रीमद्भागवतम्)
अर्थात्, राजा परीक्षित श्रीशुकदेवजी संग भन्नुहुन्छ- भगवन् ! तपाईंले चन्द्रवंश र सूर्यवंशको विस्तार तथा दुबै वंशका राजाहरुका अत्यंत अद्भुत चरित्र वर्णन गर्नुभयो l भगवानको परमप्रेमी मुनिवर ! तपाईंले स्वभावले नै धर्मप्रेमी यदुवंशको पनि विशद वर्णन गर्नुभयो l अब कृपा गरेर त्यसै वंशमा आफ्नो अंश श्रीबलरामजीको साथ अवतीर्ण हुनुभएका भगवान् श्रीकृष्णको परम पवित्र चरित्र पनि हामीलाई सुनाउनुहोस् l
सम्यग्व्यवसिता बुद्धिस्तव राजर्षिसत्तम l
वासुदेवकथायां ते यज्जाता नैष्ठिकी रति: l l (श्रीमद्भागवतम्)
अर्थात्, श्रीशुकदेवजी भन्नुहुन्छ- भगवान् को लीला-रसका रसिक राजर्षे ! तिमीले जुन निश्चय गर्यौ, त्यो अति नै सुन्दर र आदरणीय छ; किनकी सबैको ह्रदय- आराध्य श्रीकृष्णको लीला-कथा श्रवण गर्नमा तिमीलाई सहज एवं सुदृढ़ प्रीती प्राप्त भैसकेको छ l यसर्थ संक्षेपमा सुन !
भगवान् विष्णुका आठौं अवतार मानिएका भगवान् श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको हो । पुराणहरूका अनुसार बुधबार र रोहिणी नक्षत्रको संयोगमा भगवान् विष्णु मानवरूपमा पृथ्वीमा अवतरित भएका हुन् । कृष्णपक्षको कालो रातमा कंसको कालकोठरीमा जन्मेर भगवान् श्रीकृष्णले बाललीला मात्र देखाएनन्, अन्याय अत्याचारको अन्त्य पनि गरे साथै गीताको माध्यमबाट कर्म र ज्ञानको महत्त्व विश्वभरि फैलाए । वसुदेव र देवकीका आठौं पुत्रको रूपमा पृथ्वीमा आएका भगवान् कृष्णले दिएको गीता ज्ञानलाई विश्वकै उत्कृष्ट दर्शन मानिएको छ ।
यस्तो थियो बाललीला
भगवान् कृष्णको जन्म, बाललीला, रासलीला, राधासँगको प्रेम प्रसंग, महाभारत युद्धमा कृष्णको भूमिका आदि श्रीमद्भागवत लगातका पुराण तथा महाभारत आदि ग्रन्थमा वर्णन गरिएको छ । श्रीमद्भागवतको दशम स्कन्ध पूर्वार्ध र उत्तरार्ध गरी ९० अध्यायमा भगवान् कृष्णको लीलाहरूको विशेष वर्णन गरिएको छ । कृष्णले बाल्यकालमा आफूलाई कंसले मार्न पठाएका शकटसुर, तृणवर्त, वत्सासुर, बकासुर पुतना लगायतका असुरहरूको नाश गरेका थिए ।
यसैगरी गोकुलका वासिन्दाको दही चोरेर, अनेक बिगार गरेर माता यशोदा र छिमेकीलाई सताएको प्रसंग पनि छ । माटो खाएको निहुँमा यशोदालाई विश्व ब्रह्माण्डको दर्शन गराएको, गोठालाका रूपमा बाललीला गरेको प्रसंग पनि कृष्णलीलाअन्तर्गत बडो चाखका साथ चर्चा हुने गर्दछ । पानीमा विष फैलाउने कालिया नागलाई ठीक ठाउँमा ल्याएको र गोवर्धन पर्वत उचालेर गोकुलवासीको रक्षा गरेको आदि प्रसंग नेपाली समाजमा प्रचलित रहेका छन् । यसैगरी, राधाकृष्णको प्रेमप्रसंग पनि प्रेमी–प्रेमिकामाझ प्रेरणाको स्रोत बनेको छ ।
कंसको अत्याचारको अन्त्य
द्वापरयुगमा मानिसहरू कंसको अन्याय र अत्याचारबाट पीडित भइरहेका थिए । आफ्नै बाबु उग्रसेनलाई समेत बन्दी बनाएर कंसले आफूलाई मथुराको राजा घोषित गरे । यस क्रममा आफ्नी बहिनी देवकीको विवाह यदुकुलका वसुदेवसँग गरिदिए । बहिनीज्वाइँ पुर्याउन जाने क्रममा वसुदेव र देवकीको आठौं पुत्रबाट मारिने आकाशवाणीबाट त्रसित भएको कंसले दुवैलाई बन्दी बनाई जन्मिएका भाञ्जाभाञ्जीहरू एक–एक गरी मार्न थाले । तर आठौं गर्भका रूपमा आएका कृष्णलाई बाबु वसुदेवले रातारात गरी गोकुल लगेर सुरक्षित पारे । यस क्रममा कृष्णलाई मार्न कंसले गरेका अनेकौं प्रयास सफल हुन सकेनन्, अन्तिममा आफैं कृष्णको हातबाट मारिन पुगे ।
भगवान् श्रीकृष्णको विलक्षणता
वास्तवमा श्रीकृष्णको विलक्षण स्वरूप त्यतिखेर प्रस्फुटित हुन्छ, जतिखेर कंसद्वारा आयोजित मल्लयुद्धमा वहाँ प्रवेश गर्दै हुनुहुन्थ्यो । त्यहाँ उपस्थित राजामहाराजादेखि सामान्य मानिससम्मले भगवानको दिव्य स्वरूपको आभास प्राप्त गरेका थिए । यही प्रसंगमा उपस्थित व्यक्तिहरूको दृष्टिमा भगवानको विलक्षणताको यसरी मूल्यांकन गरिएको पाइन्छ –
मल्लानामशनिर्नृणां नरवर: स्त्रीणां स्मरो मूर्तीमान्, गोपनां स्वजनोऽसतां क्षितिभुजां शास्ता स्वपित्रो: शिशु: l l
मृत्योर्भोजपतेर्विराडविदुषां तत्वं परं योगिनां, वृष्णिनां परदेवतेति विदितो रङ्गं गत: साग्रज: l l (श्रीमद्भागवतम्)
अर्थात् मल्लयोद्धाहरूले भगवानलाई वज्रसमान देखे । सामान्य मानवले अलौकिक मानव देखे भने स्त्रीजातिले साक्षात् कामदेवको रूपमा देखे l गोपीजनले आफन्तको रूपमा देखे साथै पापी तथा दुराचारी राजाजनले कुशल प्रशासकको रूपमा पाए l देवकी, वसुदेव एवं नन्द–यशोदाले बालक पुत्र देखे भने राजा कंसले साक्षात् आफ्नो मृत्यु नै देखे । विद्वज्जनले विराट पुरुष देखे तथा योगीजनले परं तत्त्व (परमात्मा) देखे । वृष्णीहरूले परब्रह्म परमेश्वरका रूपमा दर्शन पाए ।
एउटै व्यक्तिमा एकैपटक यति प्रकारको भाव जागरण हुनुमा विलक्षणताको परिचय झल्किन्छ । अर्को कुरा साक्षात् परमात्मामा हुने षड्–ऐश्वर्य–सम्पन्नता पनि कृष्णमा देख्न सकिन्छ । ती ६ वटा ऐश्वर्य हुन्– ऐश्वर्य (धनसम्पत्ति), धर्म, कीर्ति, पारलौकिक श्रेय आर्जन, ज्ञान र वैराग्य ।
ऐश्वर्यस्य समग्रस्य धर्मस्य यशसः श्रियः ।
ज्ञानवैराग्ययोश्चैव षण्णां भगः इतीरितः ।।
भगवानको गुण वा वहाँमा हुनैपर्ने विलक्षणता एवं समर्थतामा यी माथिका ६ वटा कुराको निवास हुनुपर्छ । भगवान् श्रीकृष्णमा षड्–ऐश्वर्य–सम्पन्नता थियो । जब घर तथा मठमन्दिरमा पनि भगवानलाई स्थापना गरिन्छ र पूजा–आराधना गरिन्छ भने त्यो घर वा मन्दिर सामान्य नभएर यी ६ वटै ऐश्वर्यले युक्त हुन्छ । यसर्थ भगवानको प्राणप्रतिष्ठा गर्दा यी ६ वटा कुरा त्यहाँ आऊन् भन्ने अनुष्ठानविज्ञको चाहना हुन्छ ।
त्यसैले विधिपूर्वक उपयुक्त समयमा भगवानको प्राणप्रतिष्ठा गरिन्छ । शुभमुहूर्त एवं स्थिर लग्नमा प्राणप्रतिष्ठा गर्नुको उद्देश्य पनि भगवान् श्रीकृष्णको षड्–ऐश्वर्य–सम्पन्नता त्यहाँ पूर्णरूपमा चिरकालसम्म रहिरहोस् र जुनसुकै समयमा पनि भक्तले पूजाआराधना गरी याचना गर्दा उसमा पनि ती गुण अधिक मात्रामा प्राप्त होऊन् भन्ने नै हो ।
यद्यपि व्यक्ति कृष्ण बन्न सक्दैन तर कृष्णले चाहनुभयो भने विद्या, बल, गुण, तेज, ऐश्वर्य तथा यशले युक्तचाहिँ अवश्यै बनाइदिनुहुन्छ । यही नै भक्त र भगवानमा फरक छ । यस्तै प्रकारका विलक्षणता भगवान् श्रीकृष्णका अनेकौं लीलामा देख्न सकिन्छ र वहाँका गुणानुवादको अध्ययन गर्दा चिन्तन–मनन गर्न सकिन्छ । यस्तो विलक्षणता भगवान् श्रीकृष्णबाहेक अन्यत्र पाइँदैन । यही नै श्रीकृष्णको विशेषता एवं विलक्षणपन हो ।
राजनीति र कूटनीतिमा श्रीकृष्ण
कंसको अन्त्यपछि पनि समाजमा अत्याचार मच्चाउने शिशुपाल आदि राक्षसको अन्त्य र हस्तिनापुर राज्यको राजनीतिमा समेत कृष्णको ठूलो योगदान छ । युद्धको मैदानबाट हटिसकेका अर्जुनलाई गीताको माध्यमबाट युद्धतर्फ प्रेरित गरे । गीताज्ञानले महाभारत युद्ध मात्र गराएन ज्ञान र कर्मको सन्देश पनि छोडेर गयो । आज पनि दार्शनिक ग्रन्थहरूको चर्चा चल्यो भने पहिलो कोटिमा श्रीमद्भगवत गीता नै आउँछ ।
श्रीमद्भगवद्गीताको व्याख्या गर्न विश्वभरि नै अनेकौ प्रयास भएका छन् तर सतहमा बाहेक गहिराइमा पुगेर व्याख्या गर्न आज पनि कसैले सकेका छैनन् । जुनसुकै समयमा पनि केही समय खराब र असत्य पक्षको विजय भएको देख्न सकिन्छ, चाहे पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएका सत्ययुग होस् वा द्वापर वा त्रेतायुग नै । विभिन्न समयमा असत्यको बोलवाला रहेर धर्म वा सत्य डगमगाउने स्थितिमा पुगिसकेको हुन्छ । त्यसको रक्षा गर्न भगवानले विभिन्न रूप लिएर असत्यको नाश गरेका उदाहरण प्रशस्तै छन् । यसै सन्दर्भमा अर्जुनलाई दिएको गीता ज्ञानको एक प्रसंगमा भगवान् कृष्णले भनेका छन्-
यदा यदा ही धर्मस्य ग्लानिर्भवति भारत l अभ्युत्थानमर्धमस्य तदात्मानं सृजाम्यहम् l l (गीता)
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् l धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे । l (गीता)
अर्थात् ‘जब-जब पृथ्वीमा धर्ममा ग्लानि बढ्छ, अधर्मको नाश गरेर धर्मको स्थापना गर्न म आउँछु । दुष्टहरूको नाश गरेर सज्जनहरूको रक्षा गर्न धर्मको स्थापना र अधर्मको नाश गर्न म समय समयमा धर्तीमा अवतरित हुनेछु ।’
दार्शनिकका रूपमा श्रीकृष्ण
श्रीकृष्णलाई भगवानका रूपमा मात्र होइन एक दार्शनिकका रूपमा समेत स्मरण गरिन्छ । कृष्ण आस्तिकहरूको मात्र आस्थाका प्रतीक नभई नास्तिकले समेत उनले दिएका गीताज्ञानको अनुशरण गर्दछन् । भगवान् कृष्णले दिएका ‘कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन ।’ अर्थात् ‘कर्म गर, फलको आशा नगर ।’ भन्ने वचनभित्र ज्यादै गहिरो दर्शन लुकेको पाइन्छ । मानिसले गरेको कर्मअनुसार नै उसलाई फल प्राप्त हुन्छ । राम्रो कर्म गरेको छ भने स्वतः फल पनि राम्रै हुन्छ त्यस कारण गरिसकेको कामबारे आसक्ति राखी त्यसबारे चिन्तित नहुनु भन्ने गीताको सन्देश छ ।
श्रीकृष्ण जन्माष्टमीमा श्रीकृष्णको पूजाविधि
भगवानमा ऐश्वर्यआदि गुणको खानी भएकाले नै भगवानको सेवा गर्दा भक्तहरूको अभीष्टसिद्धि हुने हो । त्यस्ता भगवानको पूजा-आराधना गर्न भक्तजन सदैव लालायित हुन्छन् । पूजा गर्ने विधिविधानलाई यसरी जान्न सकिन्छ– सबभन्दा पहिले यशोदा माताको काखमा रहेर स्तनपान गरिरहनुभएका भगवानको ध्यान गर्नुपर्दछ । यसरी ध्यान गरेपछि नाममन्त्रअनुसार भगवानको पूजा गर्नुपर्दछ–
ध्यानं समर्पयामि श्रीकृष्णाय नमः।
आसनं समर्पयामि श्रीकृष्णाय नमः।
पाद्यं समर्पयामि श्रीकृष्णाय नमः।
अर्घ्यं समर्पयामि श्रीकृष्णाय नमः।
आचमनीयं समर्पयामि श्रीकृष्णाय नमः।
पुनराचमनीयं समर्पयामि श्रीकृष्णाय नमः।
पञ्चामृतं समर्पयामि श्रीकृष्णाय नमः।
शुद्धोदकं समर्पयामि श्रीकृष्णाय नमः।
पीताम्बरयुग्मं समर्पयामि श्रीकृष्णाय नमः।
यज्ञोपवीतं समर्पयामि श्रीकृष्णाय नमः।
चन्दनं समर्पयामि श्रीकृष्णाय नमः।
तिलयवान् समर्पयामि श्रीकृष्णाय नमः।
पुष्पाणि समर्पयामि, पुष्पमालां समर्पयामि श्रीकृष्णाय नमः।
धूपं समर्पयामि श्रीकृष्णाय नमः।
दीपं समर्पयामि श्रीकृष्णाय नमः।
नैवेद्यं समर्पयामि श्रीकृष्णाय नमः।
तुलसीपत्रं समर्पयामि श्रीकृष्णाय नमः।
फलं समर्पयामि श्रीकृष्णाय नमः।
ताम्बूलं समर्पयामि श्रीकृष्णाय नमः।
द्रव्यदक्षिणां समर्पयामि श्रीकृष्णाय नमः।
आरार्तिक्यं समर्पयामि श्रीकृष्णाय नमः।
मन्त्रपुष्पाञ्जलिं समर्पयामि श्रीकृष्णाय नमः।
प्रदक्षिणां समर्पयामि श्रीकृष्णाय नमः।
साष्टाङ्गप्रणामं समर्पयामि श्रीकृष्णाय नमः।
क्षमापनं समर्पयामि श्रीकृष्णाय नमः।
यसरी भगवानलाई उपलब्ध वस्तुहरू अर्पण गरेर तथा परदेश वा घरबाहिर भए भगवान् श्रीकृष्णको ध्यान गर्दै यी पदार्थहरू चढाएको भावना गरेर पनि कृष्ण भगवानको पूजा सम्पन्न गर्न सकिन्छ । शुद्ध शरीर एवं पहिरन तथा पवित्र मन पारेर निश्चिन्त रूपमा भगवानको ध्यान गरी वहाँले गरेका लीलाहरूको स्मरण गर्दै भक्तिभावले समर्पण गर्नु र आफूले गरेका सम्पूर्ण कार्यहरू भगवानमा समर्पण गर्नु नै भगवानको पूजा हो ।
प्रमुख समाचार
सम्वन्धित समाचार