अमेरिकाले किन बन्द गर्यो शरणार्थीलाई सहयोग ?
-
१७ भदौ, २०७५ एजेंसी l
अमेरिकाले प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता उपलब्ध गराउने राष्ट्रसंघीय निकायलाई गर्ने सबै सहयोग बन्द गर्न लागेको छ । राष्ट्रसंघको राहत तथा उद्धारसम्बन्धी निकाय अर्नवाका गतिविधिलाई सावधानीपूर्वक अवलोकन गरेको र आगामी दिनमा त्यसलाई थप सहयोग नगर्ने अमेरिकाको विदेश मन्त्रालयकी प्रवक्ता हिथर नार्टले बताएकी छिन् । गत जनवरीमा अमेरिकाले अर्नवालाई उपलब्ध गराउँदै आएको आधा रकम रोक्ने घोषणा गरेको थियो ।
‘प्यालेस्टिनीमाथिको ठाडो हमला’
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका प्रवक्ताले अमेरिकी कदम प्यालेस्टिनी जनतामाथिको ‘ठाडो हमला’ भएको प्रतिक्रिया जनाएका छन् । यस दण्डात्मक कदमले यो क्षेत्रमा अमेरिकाको भूमिका अब नरहेको र ऊ समाधानको एउटा हिस्सा रहनेछैन,’ प्यालेस्टिनी राष्ट्रपति अब्बासका प्रवक्ता नबिल अबु रुदिनाले भने । सो निर्णय राष्ट्रसंघको संकल्प प्रस्तावप्रतिको अवज्ञा भएको उनले बताए ।
अमेरिकाका लागि प्यालेस्टिनी दूत होसम जोमलटले अमेरिकाको निर्णयले ५० लाख प्यालेस्टिनीको जीवनमा असर पर्ने बताए । अमेरिकाले अशान्ति निम्त्याएको पनि उनले आरोप लगाए । अमेरिकाले एकपक्षीय रूपमा इजरायलको समर्थन गरेर प्यालेस्टिनीलाई एक्ल्याएको उनले आरोप लगाए । गत डिसेम्बरमा ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएको थियो ।
अर्नवाको बचाउ
अर्नवाका प्रवक्ता क्रिस गुनेजले शृंखलाबद्ध ट्विट गर्दै अन्नाको बचाउ गरेका छन् । ‘अन्नाका विद्यालय, स्वास्थ्य केन्द्र र आपत्कालिक सहयोग कार्यक्रमहरू सच्याउनै नमिल्ने गरी त्रुटिपूर्ण भएको भन्ने आरोप हामीलाई स्वीकार्य छैन,’ उनले भनेका छन् । मध्यपूर्वमा सबैभन्दा सफल मानव विकास पक्रिया र त्यसको नतिजाका लागि अर्नवाले सञ्चालन गरेका कार्यक्रम कोसेढुंगा साबित भएको उनले दाबी गरेका छन् । ‘अन्तर्राष्ट्रिय समुदाय, हाम्रा दातृ निकाय र आयोजक देशहरूले पनि अन्नाको प्रगति र कार्यको निरन्तर प्रशंसा गरेका छन्,’ उनले भने ।
के हो अर्नवा ?
सन् १९४८ को अरब–इजरायल द्वन्द्वबाट विस्थापित दशौँ हजार प्यालेस्टिनीको हेरचाह गर्न अर्नवाको स्थापना भएको हो । सो निकायले अहिले गाजाका ५० लाखभन्दा बढी प्यालेस्टिनी, वेस्ट बैंक, जोर्डन, सिरिया, लेबनानका नागरिकलाई स्वास्थ्य उपचार, शिक्षा र सामाजिक सेवामा सहयोग गरिरहेको छ । अर्नवाका लागि अमेरिका एक मात्र ठूलो दातृ निकाय थियो । उसले सन् २०१६ मा ३६ करोड ८० लाख डलर सहयोग गरेको थियो । सो क्षेत्रमा कुल लगानीमध्ये अमेरिकाले ३० प्रतिशत योगदान दिएको छ । गत जनवरीमा ट्रम्प प्रशासनले अर्नवालाई ६ करोड डलर सहयोग गर्ने वाचा गरेको थियो । उसले सहयोगको वाचा गरेको सवा ६ करोड सहयोग रद्द गरेको थियो ।
अर्नवाप्रति अमेरिका किन नकारात्मक ?
अमेरिकाले थुप्रै विषयमा अर्नवा र प्यालेस्टिनी अधिकारीप्रति विमति जनाउँदै आएको छ । मध्यपूर्वमा ठूलो परिणाममा सहयोग गरे पनि अमेरिकाले कुनै जस नपाएको अमेरिकी राष्ट्रपति ट्रम्पले गुनासो गरेका थिए । इजरायलसँग वार्ता गर्न प्यालेस्टिनी अनिच्छुक देखिएपछि यसै वर्षको सुरुमा ट्रम्पले सहयोग रकम कटौती गर्ने चेतावनी दिएका थिए । सन् १९४८ को युद्धपछि देश छोडेर भागेका प्यालेस्टिनीलाई स्वदेश फर्किने अधिकार भएको भन्ने अर्नवाको दाबीमा अमेरिका र इजरायलले असहमति जनाउँदै आएका छन् ।
राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले प्यालेस्टिनी शरणार्थीको संख्याबारे अर्नवाले बढाइचढाइ गरेको आरोप लगाउँदै वास्तविक तथ्यांक पत्ता लगाउन आवश्यक भएको बताइन् । ‘अनगिन्ति शरणार्थीले निरन्तर सहयोग लिइरहेको पछिल्ला तथ्यले देखाएको छ । तर, सबैभन्दा महत्वपूर्ण विषय यो हो कि प्यालेस्टिनीले निरन्तर प्रहार गरेको छ,’ उनले भनिन् । अर्नवामा अन्य राष्ट्रको तुलनामा अमेरिकाले धेरै ठूलो सहयोग गरेको अमेरिकी विदेश मन्त्रालयले बताउँदै आएको छ ।