Trending :
 

दमास्कस विमानस्थलमा इजरायलको रकेट हमला

भाद्र १८,२०७५

-

१८ भदौ, २०७५ एजेंसी l
 
 
सिरियाको राजधानी दमास्कसनजिकको सैनिक विमानस्थलमा ठूलो विस्फोट भएको छ । दमास्कसको पश्चिमी इलाकामा रहेको माज सैनिक विमानस्थलमा विस्फोट भएको हो । दमास्कसस्थित एक गैरसरकारी संस्थाले इजरायलले विमानस्थलमा रकेट आक्रमण गरेको जनाएको छ ।
 
तर, सिरियाका सरकारी सञ्चारमाध्यमले प्राविधिक त्रुटिका कारण हतियार भण्डारमा आगलागीपछि विस्फोट भएको दाबी गरेका छन् । । सरकारी समाचार संस्था सानाले सेनाको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘विद्युतीय गडबडीका कारण हतियार भण्डारमा विस्फोट भएको हो ।’
 
इजरायलले प्रहार गरेको क्षेप्यास्त्रबाट हतियार भण्डारमा क्षति पुगेको सिरियाली अब्जर्भेटरी फर ह्युमन राइट्सका प्रमुख रामी आब्देल रहमानले बताए । यो विमानस्थलमा सिरियाली हवाई सैन्यको जासुसी संयन्त्र छ । सन् २०१७ को सुरुमा इजरायलले सो विमानस्थलनजिक क्षेप्यास्त्र प्रहार गरेको थियो  l
 
इजरायलले सिरिया द्वन्द्वमा प्रत्यक्ष सहभागिता जनाएको छैन । तर, सिरियाभित्र रहेर इजरायलविरोधी गतिविधिमा संलग्न हेजबोल्लाहसहितका लडाकु समूहलाई लक्षित गरी दर्जनौँ हवाई हमला गरेको इजरायलले बताउँदै आएको छ ।
 
यसै साताको सुरुमा इजरायलले सिरियाभित्र सक्रिय इरानी सैनिक अखडामाथि आक्रमण गर्ने चेतावनी दिएको थियो । ‘सिरियाभित्र विकसित हतियार प्रणाली स्थापना गर्ने इरानको प्रयत्नलाई ध्वस्त बनाउन इजरायली सेना प्रतिबद्ध छ,’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेता न्याहुले भनेका थिए ।
 
जुलाईमा उत्तरी एलेप्पोको एउटा सैनिक जाँच चौकीमा इजरायलले बम आक्रमण गरेको सिरियाको आरोप छ । अब्जर्भेटरीका अनुसार सो आक्रमणबाट कम्तीमा नौजना सिरियाली सैनिक मारिएका थिए ।
 
सिरिया द्वन्द्व सुरु भएको सात वर्षपछि मात्र सिरियाली सेनाले विद्रोही र जिहादीको कब्जामा रहेका करिब दुईतिहाइ क्षेत्रमा पुनः नियन्त्रण कायम गर्न सफल भएको छ ।
 
सिरियाली सैनिकलाई रसिया र इरानी सेनाले मद्दत गरिरहेका छन् । साथै, लेबनानी हेज्बोल्लाह लडाकु तथा इराकी, इरानी र अफगान मिलिसियाले पनि सिरियाली सरकारी फौजलाई सहयोग गरिरहेका छन् ।