शिल्पीमा ‘मुनामदन’ मंचन, महाकविको ‘मुनामदन’ धपधपी बलिरहनेछ
-
१८ भदौ, २०७५ काठमाण्डौ l
मदन भोटबाट फर्किदा आमा र श्रीमती मुनाले खुसीयालीसाथ गाग्रोमा पानी भरेर स्वागत गरेको भए कथा सुखान्तमा अन्त्य हुन्थ्यो नै । तर जसको चेहरामा खुसी फूलाउन मदन भोट गए, फर्किदा श्रीमती मुना बितेको खबरले उनकै जीवनको चमक सदाको लागी गुम्यो । बिरामी आमालाई समेत बचाउन सकेनन् ।
महाकवि लक्ष्मी प्रसाद देवकोटाले ‘मुनामदन’ खण्डकाव्य लेख्दा जस्तो समाजको प्रतिविम्व मिसाएका थिए । लगभग उस्तै नै छ आज नेपाली समाज । उतिबेला भोट गएका मदनका छोरानातीहरु आजभोलि साउदी कतार र मलेसियातिर छन् । केहि पाउन केहि गुमाउनैपर्ने बाध्यतासँग सम्झौता गर्दै तरुण उमंगलाई अर्काकै माटोमा रोप्दारोप्दै सपनाको तन्किएको तार बिचमै टुटिएका शृङ्खला पनि लम्बिरहेकै छ । लाउन र खानकै लागि समुन्द्र कटेर बिरानो गल्लीहरुमा पसिना बेच्ने शृङ्खला अन्त्य नभएसम्म महाकविको ‘मुनामदन’ धपधपी बलिरहनेछ । अनि संवेदनशिल मुटु भक्कानिएर बगिरहनेछन् आँशु तप्प तप्प ।
हो, उहि महाकवि देवकोटाको चर्चित कृति मुनामदनमा आधारित नाटक यतिबेला राजधानीको शिल्पी थिएटरमा मञ्चनको क्रममा छ । भेला हुने शहरिया पुस्ताको समेत आँशु छचल्काउन नाटक सफल भएको छ । १३ भदौबाट सुरु भएको यो शृङ्खला २६ गतेसम्म चल्ने निर्देशक सविन कट्टेलले बताए ।
चुहिने छानो छाउनकै लागी, श्रीमतीको फाटेको फरिया र आमाको चाउरिएको गालामा थोरै भएपनि मुस्कान बटुल्न मदन भोट लाग्छन् । यतिबेलाजस्तो इन्टरनेट र फोनको सुविधा नभएको त्यो जमानामा चिठीपत्र नआउदा बाटो कुरिरहेका मुना र आमाको मन कसैको छायाँ देख्नासाथ मदन आएको आशामा उक्लिरहन्छ ।
तर ,मदन र उनको खबर फेला नपरेपछि घरमा कुरिरहेकाहरुको मन निराशाको भंगालोमा हाम फाल्छ । महिनौ लगाएर बटुलेको एक थैलो धन पोको पारेर फर्किएका मदन बिच बाटोमै सिकिस्त बिरामी हुन्छन् । साथीहरुले छोडेर त जान्छन् नै । घरमा पुगेर समेत मदन बितिसकेको असत्य र अप्रीय खबर सुनाउछन् । त्यो खबरले बिस्तारै थला पर्दै गएकी मुनाले संसार छोड्छिन् । आमा उसैगरी बिरामी हुन्छिन् । जसोतसो ‘भोटे’ ले फेला पारेर मदनलाई बचाउछन् । स्वस्थ भएर घर फर्किएका मदनले न मुनाको माया पाउछन् न आमालाई सक्छन् बचाउन नै ।
महाकवि देवकोटाको मुनामदन कृतिलाई संवादमा रुपान्तर गरेर विराट आर्दश साहित्य मञ्चले शिल्पी थिएटरमा यो नाटक प्रस्तुत गरेको छ । गिती नाटकको रुपमा प्रज्ञा प्रतिष्ठान र नाच घरमा विगतमा मञ्चन भएको मुनामदनलाई संवादमा रुपान्तरण गरेका हुन् कटवाल दिपकले ।
सविन कट्टेलको निर्देशनमा तयार भएको यो नाटकमा स्वयम् निर्देशक कट्टेल मदन भएर अभिनय गरेका छन् । दिपा पोखरेलले मुनाको भूमिका मञ्चमा राम्रैसँग निभाएकी छन् । मुना र मदनको भूमिकामा पोखरेल र कट्टेलबाहेक पवित्रा खड्का, शुष्मा निरौला, मानहाङ लावती, जिना राई, संजिव राई, लकेश राई, एन्जन पौडेल र सरिता ढुंगानाको अभिनय यस नाटकमा छ ।
भोटबाट नयाँ जीवन पाएर घर आएका मदनजस्तै धेरै पसिना बगाएर अझै हाम्रा समकालीन् पुस्ता विदेशयात्रामा आउजाउ गरेकै छन् । धन जोड्ने आशामा पारिवारिक विछोड सहेर घरदेश र परदेशमा पर्खाईका पीडा छचल्काउनुपर्ने बाध्यता ज्यूँ को त्यू छ ।
खुसी लिएर फर्किने आशामा परिवारका सदस्यले बाटो हेरिरहँदा कफनभित्र सदाका लागी आँखा चिम्म गरेर कतिपय दाजुभाई दिदीबहिनी फर्किएका मार्मिक दृष्य विमानस्थलमा देख्न सकिन्छ । यस्तै परिस्थिति भोगिरहेका हाम्रो पुस्ताको लागि मञ्चन भइरहेको नाटक मुनामदनले आफ्नै पीडा व्यक्त गरेजस्तो अनुभूति हुन्छ ।
‘महाकवि देवकोटाको उत्कृष्ट कृतिमाथी नाटक गर्ने साहस गरेका छौँ । यसअघि गिती नाटकको रुपमा मञ्चन भएपनि हामीले संवादमा रुपान्तर गरेर देखाइरहेका छौँ’ निर्देशक कट्टेलले भने । शिल्पी थिएटरलाई मुनामदन खण्डकाव्यले बोल्ने परिवेश सुहाउदो मञ्चको रुपमा परिकल्पना गरिनु र कलाकारले महाकवि देवकोटाको कृतिमाथी सचेत भएर अभिनय गर्नुले पनि यो नाटक,खण्डकाव्य पढेजस्तै उत्कृष्ट बनेको दर्शकहरुले बताउने गरेका छन् ।