कानून बाहिर गएर जथाभावी कर लगाउन मिल्दैनः अर्थमन्त्री खतिवडा
-
भदौ १८, २०७५ राजविराज ।
अर्थमन्त्री युवराज खतिवडाले जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा सोमबार करदाता सेवा कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले तत्काल सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरी धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए।
‘एकल विन्दुबाट कर उठाउनुपर्नेमा धेरै ठाउँमा कर बुझाउनुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘अब धेरै दिन यस्तो रहँदैन, एउटै ठाउँमा कर बुझाए पुग्ने बनाउँछौँ।’ उनले करको दायराभन्दा दर बढेकाले कानून बाहिर गएर जथाभावी कर लगाउन नहुने बताए।
विदेशी ऋणबाट देशको विकास सम्भव नभएकाले करको दायरा बढाउनुपर्नेमा मन्त्री खतिवडाले जोड दिए।
करको बारेमा जनता सचेत भए त्यसको दुरुपयोग रोकिने उनको भनाइ थियो।
‘कर लगाउने अधिकार स्थानीय तहको भए पनि कानून र ऐनभन्दा बाहिर गएर धान्नै नसक्ने गरी कर लगाउन पाइदैन,’ अर्थमन्त्री खतिवडाले बताए।
आन्तरिक राजश्व विभागका सचिव शिशिरकुमार ढुङ्गानाले करदाताको सेवालाई दृष्टिगत गरी राजविराजमा करदाता सेवा कार्यालय स्थापना गरिएको बताए।
करदाता र करको दायरा बढ्दै गएपछि आन्तरिक राजश्व कार्यालय राजविराजमा स्थापना गरिने उनको भनाइ थियो। रासस