मनुष्यको मृत्युपश्चात के हुन्छ ? तथागत बुद्धको मार्मिक उत्तर !

भाद्र १९,२०७५

-

१९ भदौ, २०७५ काठमाण्डौ l
 
 
विज्ञानको खोज पनि यहि छ कि मानिसको मृत्युपश्चात के हुन्छ ? पार्थिव शरीर त चरणबद्ध तरिकाले कुहिएर जान्छ तर उसले जीवनभरी बटुलेका दृश्य र ज्ञान के हुन्छ ? अझैसम्म विज्ञानले यसको उत्तर फेला पार्न सकेको छैन ।
 
धार्मिक पक्षलाई हेर्ने हो भने आत्मा सबैको अमर हुन्छ तर शरीरले रूप फेरिरहन्छ, मनुष्य भएर जन्मिएपनि उसको एउटा मूल उदेश्य हुन्छ र त्यो उदेश्य प्राप्त गरिसकेपछि उसको जन्म सिद्ध हुन्छ भनेर धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ । तर आधुनिक मानवमस्तिष्कले यी सबै कुराहरूको निष्कर्ष निकाल्न सकेको छैन ।
 
अझैपनि मानिसहरू अन्यौलमा छन् कि जीवनको उदेश्य के हो र मृत्युपश्चात वास्तवमै के हुन्छ ? यसै सन्दर्भमा भगवान गौतम बुद्धले आफ्ना शिष्यहरूलाई ज्ञानको ज्योती बाँडिरहेको एउटा कथाप्रसङ्ग छ, जुन अति नै मर्मस्पर्शी छ । मृत्युपश्चात के हुन्छ ?
 
गौतम बुद्धको एक प्रसंग‘ एकपटक गौतम बुद्धलाई उनका एक शिष्यले सोधे, “हे भगवन् ! हजुरले आजसम्म हामीलाई धेरै पाठहरू सिकाउनुभयो तर यसको बारेमा भन्नुभएको छैन कि मानिसको मृत्युपश्चात के हुन्छ ?”
 
शिष्यको यस्तो प्रश्न सुनेर बुद्ध मुस्कुराए र प्रतिप्रश्न गरे, “पहिला मलाई यो भन वत्स ! यदि कोहि कतै जान लागिराखेको छ र अचानक कतैबाट उसको शरीरमा एक वीषले भरिएको तीर आएर लाग्छ । यस्तो बेलामा सुरुमा के गर्नुपर्छ ? शरीरमा लागेको तीरलाई हटाएर उपचार गर्नुपर्छ कि तीर कहाँबाट कसले हान्यो भनेर खोज्न जानुपर्छ ?”
 
शिष्यले बुद्धको मनसाय बुझिसकेको थियो, तैपनि उनले भने- “सुरुमा त उसको शरीरबाट तीर झिकेर तुरुन्तै उपचार गरिहाल्नुपर्छ, गुरु ! नत्र त्यो वीष उसको पुरै शरीरमा फैलिन थाल्छ ।” “तिमीले ठीक भन्यौ वत्स ! अब यो भन कि पहिला यस जीवनमा दुखको निवारण गर्ने उपाय खोज्छौ कि, मृत्युपश्चात के हुन्छ भनेर सोच्छौ ?”
 
बुद्धको प्रश्न सुने शिष्य अकमक्क परे । बुद्धको यो वाणीबाट सिक्न सकिन्छ कि हरेक कुराको एउटा रीति हुन्छ, क्रम हुन्छ । जीवनको उदेश्यलाई बुझ्ने कुनै सर्टकट छैन, हुँदैन । जसले भोग्छ, उसले मात्र बुझ्छ । पृथ्वीमा जन्म लिएर आइसकेपछि हाम्रो परम कर्तव्य भनेको असल कर्म गर्नु हो भने जीवनको रहस्य बुझी स्वयंलाई सम्पूर्ण बंधनहरु बाट मुक्त गर्नु हो l