आठ अमर पुरुषमध्येका एक अश्वत्थामा ! महाभारतको रोचक कथा
-
१९ भदौ, २०७५ काठमाण्डौ l
महर्षि वेदव्यासले रचेका महाभारतमा यस्ता अनेक पात्र छन्, जसको बारेमा शायाद कमैलाई धेरै कुरा थाह छ, तर धेरैलाई जान्ने मन हुन्छ । अश्वत्थामा त्यस्तै एक पात्र हुन । उनी महाभारतका प्रमुख पात्र मध्येकै एक हुन् । हिन्दु धर्ममा जुन ९ पुरुषलाई अमर मानिएको छ, अश्वत्थामा तीनै मध्येका एक हुन । मृत्यु भन्दा अघि दुर्योधनले अश्वत्थामालाई कौरव सेनाको सेनापति बनाएका थिए । अश्वत्थामासंग जोडिएका यस्ता अनेक रोचक कुराहरु छन् l आउनुहोस् पढौं अश्वत्थामाको बारेमा केही रोचक कुरा-
महादेवका अशांवतार
महाभारतको अनुसार गुरु दोर्णाचार्यको विवाह कृपाचार्यकी बहिनी कृतीसँग भएको थियो । कृपीको गर्भबाट अश्वत्थामाको जन्म भयो । उनले जन्म लिना साथ अश्वको समान शब्द लिए, जसको कारण उनको नाम अश्वत्थामा राखिन गयो । उनी महादेव, यम, काल र क्रोधको सम्मिलित अंशबाट उत्पन्न भएका थिए । अश्वत्थामा महापराक्रमी थिए । युद्धमा उनले कौरवलाई साथ दि ए। मान्यता यो छ की अश्वत्थामा अहिले पनि जीवित छन् । यीनको नाम अष्ट चिरंजीविहरुमा लिइन्छ । यसै मान्यतासंग जोडिएको एक श्लोक पनि छ-
अश्वत्थामा बलिर्व्यासो हनूमांश्च विभीषण : ।
कृप: परशुरामश्च सप्तैते चिरजीविन: l l
सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम् l
जीवेद्वर्षशतं सोपि सर्वव्याधिविवर्जित: l l
अर्थात् अश्वथामा, बलि, वेदव्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय ऋषिलाई बिहान-बिहान स्मरण गर्नाले सबै रोगव्याधि समाप्त भई मनुष्यले १०० वर्षको आयु प्राप्त गर्दछ ।
अश्वत्थामालाई अधिक ज्ञान दिन चाहन्थे दोर्णाचार्य
महाभारतको अनुसार, द्रोणाचार्य जब कौरव र पाण्डवको शिक्षा दिंदै थिए, तब उनको एक नियम थियो । नियम अनुसार, द्रोणाचार्यले आफ्ना सबै शिष्यलाई पानी भर्नको लागि एउटा-एउटा भाँडो दिएका थिए । जो सबैभन्दा पहिले त्यो भाँडोमा पानी भर्दथ्यो, द्रोणाचार्य उसैलाई धनुर्विद्याको गुप्त रहस्य सिकाउँथे । द्रोणाचार्यलाई आफ्नो पुत्र अश्वत्थामा प्रति विशेष प्रेम थियो, यसले उनलाई सानो भाँडा दिएका थिए ।
त्यसैले उनी सबैभन्दा पहिले पानी भरेर आफ्नो पितासंग शस्त्रका गुप्त रहस्य सिक्न गइहाल्थे । अर्जुनले पनि त्यो कुरा थाहा पाए । आफ्नो वारुणास्त्रको माध्यमले छिटो पानी भरेर उनी पनि गुप्त रहस्य सिक्न दोर्णाचार्य भएको ठाँउमा पुग्दथे । त्यसैले अर्जुन पनि कुनै पनि कुरामा अश्वत्थामा भन्दा कम थिएनन् ।
जब अश्वत्थामाले चलाए नारायण अस्त्र
युद्धमा जब धृष्टद्युम्नले छल गरेर दोर्णाचार्यको वध गरे तब अश्वत्थामा निकै क्रोधित भए । आफ्नो पिताको मृत्युको बदला लिन उनले नारायण अस्त्र चलाए । यो अस्त्रको प्रभावले पाण्डवको सेनामा खलबली मच्चियो । अश्वत्थामाले यो अस्त्रको बारेमा दुर्योधनलाई बताए कि यो अस्त्र गुरु द्रोणलाई स्वंय भगवान नारायणले दिएका थिए । उक्त अस्त्रले शत्रुको नाश नगरि फर्किन्थेन । नारायणास्त्रले अन्य विभिन्न प्रकारका दिव्यास्त्रलाई पनि नष्ट गर्न सक्थ्यो ।
जब कृष्णले देखे की नारायण अस्त्रले सेनामा तहल्का मच्चाउदै छ अनि पाण्डवहरुको प्राण पनि संकटमा छ, उनले सबैलाई आफ्नो रथ रोकेर भुईमा झरी आ-आफ्ना शस्त्र-अस्त्र तल राखि नारायण अस्त्रको शरणमा जान भने । नारायण अस्त्र शान्त गर्ने यो मात्र एक उपाए थियो । सबैले कृष्णको यो कुरा माने । यस प्रकार नारायण अस्त्रको प्रकोप शान्त भयो अनि पाण्डवको ज्यान बच्यो ।
जब कृष्ण-अर्जुनमा भएन आग्नेय अस्त्रको असर
नारायण अस्त्र विफल भएपछि अश्वत्थामाले आग्नेय अस्त्र प्रयोग गरे । यो अस्त्र पनि महाभयंकर थियो । यसको अग्निले पाण्डवको एक अक्षौहिणी सेना नष्ट भयो । (अक्षौहिणी शव्दको प्रयोगद्वारा प्राचीन भारतमा सेनाको सङ्ख्या नापिन्थ्यो, यो संस्कृतको शब्द हो l विभिन्न स्रोतहरू अनुसार यसको सङ्ख्यामा केही अन्तर मिल्दछन् । महाभारतका अनुसार यसमा २१,८७० रथ, २१,८७० हात्ती, ६५, ६१० घोडसवार एवं १,०९,३५० पैदल सैनिक हुन्थे)
यो अस्त्रको प्रयोगले हावा निकै तात्न पुग्यो । ठुला-ठुला हात्ती युद्धभुमीमा लड्न थाले । तब अर्जुनले ब्रह्मास्त्र चलाए । ब्रह्मास्त्र चलाएपछि फेरी हावा तेजसंग चल्न थाल्यो । अर्जुन, श्रीकृष्ण र उनको रथमा आग्नेय अस्त्रको कुनै प्रभाव परेन ।
अर्जुन र श्रीकृष्णलाई आग्नेय अस्त्रले कुनै प्रभाव नगरेको देखेर अस्वत्थामा निकै आश्चर्यमा परे । तब महर्षि वेदव्यास सो ठाउँमा आए अनि अश्वत्थामालाइ भने की श्रीकृष्ण र अर्जुन भगवान नर-नारायणका अवतार हुन् । उनीहरुलाई कुनै पनि अस्त्रले प्रभाव पार्न सक्दैन । पुरानो समयमा भगवान नारायणले तपस्या गरेर भगवान महादेवबाट अनेकौं वरदान पाएका थिए । यसैको प्रभावले उनीहरु माथी विजय पाउन संभव छैन । महर्षि वेसव्यासको कुरा सुनेर अश्वत्थामा रणभुमिबाटै फर्के ।
अश्वत्थामाले मागे श्रीकृष्णको सुदर्शन चक्र
एक पटक अश्वत्थामा द्वारिका गए । भगवान कृष्णले उनलाई ठुलो स्वागत गरे अनि अतिथिको रुपमा आफ्नो महलमा बसाए । केही दिन त्यहाँ बसेपछि अश्वत्थामाले श्रीकृष्णसंग भने की आफ्नो अजय ब्रम्हास्त्र लिएर आफुलाइ उनको सुर्दशन चक्र दिउन् । भगवान कृष्णले भने ठीक छ मेरो कुनै पनि अस्त्रमा मन परेको उठाएर लैजानु । मलाई बदलामा केही पनि चाहिदैन ।
अश्वत्थामाले भगवानको सुदर्शन चक्र उठाउने प्रयास गरे तर अलिकति पनि हच्किएन । कयौं पटकको प्रयासमा पनि उनले सुदर्शन चक्र उठाउन सकेनन् । अश्वत्थामालाई निकै लाज भयो । बिनाकुनै अस्त्र लिएर उनी द्वारिकाबाट हिडे ।
कौरवका अन्तिम सेनापति अश्वत्थामा
जब भीमले गदा युद्धमा दुर्योधनको जाँघ तोडे अनि मर्नको लागि छोडिदिए तब त्यहाँ अश्वत्थामा, कृपाचार्य र कृतवर्मा आए । दुर्योधनको त्यस्तो अवस्था देखेर अश्वत्थामाले पाण्डवसंग बदला लिने प्रण गरे । दुर्योधन भने पछि कृपाचार्यले अश्वत्थामालाई सेनापति बनाए ।
अश्वत्थामाले सोचे कि रातको समय पाण्डवहरु विजय प्राप्त गरेर आ-आफ्नो शिविरमा आराम गर्दै हुनेछन् । सोही अवस्थामा उनीहरुको वध गर्न सम्भव हुन्छ । श्रीकृष्ण र पाण्डव सो समय कौरव शिविरमा थिए, यो कुरा अश्वत्थामालाई थाहा थिएन । कृपाचार्यले अश्वत्थामासंग भने की राती सुतेको समय वीरहरु माथी प्रहार गर्नु नियम विरुद्ध हुन्छ, तर अश्वत्थामाले कृपाचार्यको कुरा मानेनन् । अन्त्यमा कृपाचार्य र कृतवर्मा पनि अश्वत्थामालाई साथ दिन मन्जुर भए ।
महादेवसंग युद्ध गरेका थिए अश्वत्थामाले
पाण्डवसंग बदला लिने उद्धेश्यले अश्वत्थामा जब रातको समय पाण्डको शिविर पुगे तब उनले देखे शिविरको बाहिर एक विशालकाय पुरुष ढोकामा खडा छ । बाघ अनि हरिणको खोल पहिरिएका ती व्यक्तिको थुप्रै हात थियो । अनि प्रत्येक हातमा थरी-थरीका अस्त्र । मुखबाट आगोको लप्का निक्लदै थियो ।
ती व्यक्तिको तेजले हजारौं विष्णु प्रकट हुनसक्थ्यो । उनी स्वयंम भगवान महादेव थिए । महादेवको त्यस्तो भयंकर रुप देखेर पनि अश्वत्थामा डराएनन अनि उनी माथी दिव्यास्त्रका प्रयोग गर्न थाले । तर ती अस्त्रका भगवान शिव माथी कुनै असर भएन । यो देखेर अश्वत्थामा भगवान शंकरको उपासना गर्न थाले अनि आफ्नै बलि दिन लागे । महादेवले प्रसन्न भएर अश्वत्थामालाई एउटा तरबार दिए, तथा स्वयंलाई अश्वत्थामाको शरीरमा लीन गरिदिए । यसप्रकार अश्वत्थामा अत्यन्त तेजस्वी भए ।
अश्वत्थामाले गरे द्रौपदी पुत्र वध
महादेवबाट शक्ति प्राप्त गरेपछि अश्वत्थामा पाण्डवको शिविर प्रवेश गरे । सबैभन्दा पहिले द्रौपदीको भाई धृष्टद्युम्नलाई पिटेर मारिदिए । त्यसपश्चात अश्वत्थामाले उत्तमौजा, युधामन्यु, शिखंडी आदी वीरहरुको पनि वध गरिदिए । तब अश्वत्थामालाई रोक्नको लागि द्रौपदीका पुत्र आए, तर उनले महादेवको तरबारले उनको पनि वध गरिदिए ।
हेर्दा हेर्दै अश्वत्थामाले पाण्डवको बचेका सेनाको पनि सफाई गरे । यस्तो प्रकारको भयंकर कर्म गरे पछि अश्वत्थामा शिविरको बाहिर आए र उनले पांचाल वीर र द्रौपदीका पुत्रको वधको बारेमा कृतवर्मा र कृपाचार्यलाई बताए । तीनै जनाले निश्चय गरे कि यो समाचार तुरन्त दुर्योधनलाई बताउनु पर्छ ।
यस्तो विचार गरेर तीनै जना दुर्योधन भएको ठाउँमा पुगे । उक्त बखतसम्म दुर्योधनले प्राण त्यागिसकेका थिएनन् । दुर्योधन भएको ठाँउमा पुगि अश्वत्थामाले भने की अब पाण्डवको साथमा केवल श्रीकृष्ण, सात्यकि र पाण्डवमात्र बाँकि बचेका छन्, अन्य सबैको वध भइसकेको छ । यो समाचार सुनेर दुर्योधन प्रसन्न भए अनि केही बेरमा उनको प्राण गयो ।
श्रीकृष्णले दिए अश्वत्थामालाई श्राप
जब अश्वत्थामाले रातिको समय त्यसती द्रौपदीका पुत्रका वध गरिदिए तब पाण्डव क्रोधित भएर उनलाई खोज्न थाले । अश्वत्थामालाई खोज्दै उनीहरु महर्षि वेदव्यासको आश्रममा पुगे । अश्वत्थामाले देखे कि पाण्डव आफुलाई मार्न आएका हुन् अनि उनले पाण्डवको नाश गर्न ब्रम्हास्त्र प्रहार गरे । कृष्णले भनेपछि अर्जुनले पनि ब्रम्हास्त्र चलाए । दुईवटै ब्रम्हास्त्रको अग्नीले सृष्टी जल्न थाल्यो । सृष्टीको संहार भएको देखेर महर्षि वेसव्यासले अर्जुन र अश्वत्थामालाई आफ्नो आफ्नो ब्रम्हास्त्र फिर्ता लिनको लागि भने ।
अर्जुनले तुरन्त आफ्नो अस्त्र फिर्ता लिए, तर अश्वत्थामालाइ ब्रम्हास्त्र फिर्ता लिने कुनै ज्ञान थिएन त्यसैले आफ्नो ब्रम्हास्त्रको दिशा बदलेर अभिमन्युकी पत्नी उत्तराको गर्भतर्फ गरिदिए अनि भने मेरो यो अस्त्रको प्रभावले पाण्डवका वंश समाप्त हुनेछ । तब श्रीकृष्णले अश्वत्थामालाई भने कि तेरो अस्त्र अवश्य नै अचूक छ, तर उत्तराको गर्भबाट उत्पन्न मृत शिशु पनि जीवित हुनेछ ।
यस्तो भनेर श्रीकृष्णले अश्वत्थामालाइ श्राप दिए कि ‘तँ तीन हजार वर्षसम्म पृथ्वीमा भट्किने छस् र तैले कसैसंग कुरा गर्न सक्ने छैनस् । तेरो शररीरबाट पीप र रगत बगिरहनेछ । यसपछि द्रौपदीको आग्रहमा अश्वत्थामाको मस्तकमा रहेको मणि निकाली उनलाई अभयदान दिइयो ।