Trending :
 

तेहरिक–ई–इन्साफका डा. अरिफ रिहाम अल्भी पाकिस्तानका १३औँ राष्ट्रपति

भाद्र २०,२०७५

-

२० भदौ, २०७५ काठमाण्डौ l
 
 
पाकिस्तानमा भएको राष्ट्रपति निर्वाचनमा पाकिस्तान तेहरिक–ई–इन्साफका डा. अरिफ रिहाम अल्भी निर्वाचित भएका छन् । उनी राष्ट्रपतिमा निर्वाचित भएको आधिकारिक घोषणा हुन भने बाँकी नै छ । पाकिस्तानको निर्वाचन आयोगले अल्भी पाकिस्तानको १३औँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा बुधबार गर्ने पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।
 
विवरणहरूअनुसार अल्भीले पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएल–एन) को समर्थनमा उम्मेदवार बनाइएका जामियत उलेमा–ई–इस्लाम (जेयुआई–एफ) का मौलाना फजलुर रहमान तथा संसद्मा तेस्रो ठूलो दल पाकिस्तान पिपुल्स पार्टीका उम्मेदवार एजाज अहसनलाई पराजित गरेका हुन् ।
 
‘पिटिआईले चयन गरेको उम्मेदवार राष्ट्रपति निर्वाचनमा सफल भएकोमा भगवान्प्रति म अभारी छु,’ निर्वाचित भएपछि अल्भीले भने । राष्ट्रपतिजस्तो गरिमामय पदको उम्मेदवार बनाएकोमा पार्टी नेता खानप्रति उनले आभारी प्रकट गरेका छन् । आफू सम्पूर्ण देश र पार्टीको राष्ट्रपति भएको उनले प्रतिक्रिया दिएका छन् ।
 
‘आजदेखि म केवल पिटिआईले चुनेको राष्ट्रपति नभई सम्पूर्ण देश र पार्टीका तर्फबाट राष्ट्रपति बनेको छु । ममाथि हरेक पार्टीको समान अधिकार छ,’ अल्भीले भने ।
 
अल्भीको विजयले प्रधानमन्त्री इमरान खानलाई सत्ता सञ्चालनमा धेरै ठूलो सहयोग पुग्ने विश्लेषकहरूले अनुमान गरेका छन् । इलेक्टोरल कलेजका सदस्यहरूले पाकिस्तानमा राष्ट्रपति निर्वाचित गर्छन् । पाकिस्तानका ६ निर्वाचित निकायहरू सिनेट, नेसनल एसेम्बली र चार प्रान्तीय सभाका सदस्यहरू इलेक्टोरल कलेजका सदस्य हुन्छन् ।
 
संसद्का दुवै सदन र चारवटा प्रान्तीय सभाका एक हजारभन्दा बढी सांसद बुधबारको राष्ट्रपति निर्वाचनमा सहभागी थिए । मतदान सकिएसँगै मतगणना सुरु भएको थियो ।
 
पूर्वदन्तचिकित्सकसमेत रहेका अल्भी पिटिआईका संस्थापक सदस्यमध्येका एक हुन् । उनी प्रधानमन्त्री इमरान खाननिकट मानिन्छन् । ट्विटरलगायतका सामाजिक सञ्जालमा गहिरो रुचि देखाउने अल्भी सन् १९६९ मा लाहोरमा सैनिक तानाशाह आयुब खानविरुद्ध भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका थिए ।
 
उनको दायाँ हातमा अझै गोली लागेको दाग छ । दन्तचिकित्सकमा करिअर बनाउनुअघि उनले मिसिगन युनिभर्सिटी र सान फ्रान्सिस्कोको युनिभर्सिटी अफ दी प्यासिफिकमा अध्ययन गरेका थिए । पछि दन्तचिकित्सकको पेसा त्यागेर सक्रिय राजनीतिमा लागेका थिए । सन् २००६ देखि २०१४ सम्म पिटिआईको महासचिव बनेका उनी २०१३ को आमनिर्वाचनमा कराँचीबाट संसद्मा निर्वाचित भएका थिए । एजेंसी