Trending :
 

भूमध्यसागरमा आप्रवासीको मृत्युदर बढ्दो

भाद्र २०,२०७५

-

२० भदौ, २०७५ काठमाण्डौ l 
 
 
भूमध्यसागरको बाटो हुँदै युरोप प्रवेशमा कडाइ भए पनि यो मार्ग भएर युरोप जाने क्रममा मृत्यु हुने आप्रवासी शरणार्थीको संख्या उल्लेख्य रहेको राष्ट्रसंघले जनाएको छ  । सन् २०१८ को जनवरीदेखि जुलाईसम्म सो बाटो भएर युरोप पुग्ने आप्रवासी तथा शरणार्थीको संख्या ५८ हजारभन्दा बढी रहेको राष्ट्रंघको शरणार्थी मामिला हेर्ने निकाय युएनएचसिआरले जनाएको छ  । गत वर्ष सो संख्या ९५ हजार थियो  ।
 
यो वर्ष भूमध्यसागर हुँदै इटाली पुग्ने शरणार्थीको संख्या साढे १८ हजार पुगेको छ । खतरनाक सामुद्रिक बाटो प्रयोग गर्ने क्रममा बेपत्ता आप्रवासी शरणार्थीको संख्या यस वर्षको पहिलो सात महिनामा १६ सय पुगेको छ । सोही अवधिमा सो बाटो भएर जाने क्रममा मृत्यु भएका व्यक्तिको संख्या १२ सय रहेको छ । राष्ट्रसंघको तथ्यांकअनुसार भूमध्यसागरीय मार्गको प्रयोग गरी युरोप प्रवेश गर्ने हरेक १८ जनामा एकजनाले ज्यान गुमाएका छन् । गत वर्षको सोही अवधिमा प्रत्येक ४२ मा एकजनाले ज्यान गुमाएका थिए ।
 
युरोप पुग्ने बाटो विश्वकै खतरनाकमध्येको सामुद्रिक मार्ग ठहर भएको युएनएचसिआरको युरोप मामिला प्रमुख पास्कल मोरोउले बताए । ‘युरोप आउने आप्रवासी संख्यामा कमी आएसँगै युरोपले कसरी उनीहरूलाई व्यवस्थापन गर्ने भन्ने संकट टरेको छ तर मानवीय क्षतिमा कमी ल्याउन युरोपलगायतका अन्तर्राष्ट्रिय समुदायको ध्यान जान जरुरी छ,’ उनले भने । एजेंसी