Trending :
 

निगमको विमानबाट इन्धन चुहिएको बारे छानबिन गर्न समिति गठन

चैत्र ०८,२०७३

-रासस

काठमाडौं - मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानबाट इन्धन चुहिएको विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक हरिभक्त श्रेष्ठको संयोजकत्वमा गठित छानबिन समितिमा सुमनकुमार श्रेष्ठ र लक्ष्मीप्रसाद तुम्बाहाम्फे सदस्य रहेका छन् । मन्त्रालयद्वारा गठित सो समितिलाई गत साता निगमको एयरबस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट उडान भर्ने क्रममा इन्धन चुहिएर  ग्राउन्डेट भएको बारे वास्तविक कारणसहितको सत्य तथ्यको छानबिन गरी आगामी १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

 

यस समितिलाई छानबिनको क्रममा कसलाई के कारबाही गर्ने तथा यस्ता घटना आगामी दिनमा हुन नदिन के गर्नुपर्छ भन्ने सिफारिस गर्न पनि निर्देशन दिएको पर्यटन मन्त्रालयले जनाएको छ ।

निगमको व्यवस्थापनलाई चुस्त पारी हवाई सेवालाई थप प्रतिस्पर्धी बनाउने सरकारी लक्ष्यअनुरूप मन्त्रालयले अहिले यस्तो समिति गठन गरेको हो ।