मेसी सर्वाधिक उत्कृष्ट खेलाडी घोषित
-
भदौ २१, २०७५ काठमाडौँ ।
बार्सिलोनाका कप्तान लियोनल मेसी युरोपियन फुटबलमा सर्वाधिक उत्कृष्ट खेलाडी घोषित भएका छन् । इएसपिएनले यो सिजनको लिगमा गरेको प्रदर्शनका आधारमा लियोनल मेसी १ नम्बरमा पुगेका हुन् ।
त्यस्तै, म्यानचेस्टर युनाइटेडका रोमेलु लुकाकु दोस्रो नम्बरमा रहन सफल भए । मेसी अघिल्लो हप्ता भएको खेलमा निकै राम्रो लयमा देखिए । हुस्काविरुद्ध बार्सिलोनाले ८–२ को जित निकाल्दा मेसीले २ गोल गरेका थिए ।
रोमेलु लुकाकु
म्यानचेस्टर युनाइटेडका रोमेलु लुकाकु दोस्रो नम्बरमा छन् । युनाइटेडले अघिल्लो साता बर्नलीविरुद्ध २–० को अग्रता बनाउँदा लुकाकुले दुवै गोल गरेका थिए । उनको यो प्रदर्शनले युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होको सम्भावित बहिर्गमनलाई समेत रोकेको थियो । माउरिन्होले लुकाकुको खेलमा पनि आलोचना गर्दै आएका थिए । उनलाई जवाफका रूपमा समेत लुकाकुले गोल सम्भव बनाए ।
फ्लोरिन थाउविन
फ्रेन्च लिग वानमा मार्सेलीले मोनाकोलाई ३–२ ले हराउँदा थाविनले १ गोल गरेका थिए । खेलमा पछि परेको अवस्थामा उनले मार्सेलोलाई बराबरीमा पुर्याएका थिए । उनले इन्जुरी समयमा १ गोल एसिस्टसमेत गरेका थिए ।
ओन्ड्रेज कुआग्लिरेला
बुन्डेस लिगामा पछिल्लो वर्ष उपविजेता बनेको साल्केलाई हार्था बर्लिनले २–० ले हराएको थियो, जसमा ओन्ड्रेजले २ गोल गरेका थिए । उनले पहिलो हाफको सुरुवामै गोल गरे पनि अतिरिक्त समयमा थप गोल सम्भव बनाएका थिए ।
युभेन्टसका क्रिस्टियानो रोनाल्डो शीर्ष १० मै पर्न असफल भए । उनले क्लबका लागि तीन खेल खेले पनि गोलको खाता खोल्न सकेका छैनन् । २ सय ७० मिनेट मैदानमा रहे पनि उनले गोल गर्न सकेका छैनन् । शीर्ष १० मा पिएसजीका केलिएन एम्बाप्पे र नेयमार पनि पर्न असफल भएका छन् ।