Trending :
 

अमेरिकी विदेशमन्त्री पोम्पेओ पाकिस्तानमा

भाद्र २१,२०७५

-

२१ भदौ, २०७५ एजेंसी l
 
इस्लामाबाद l पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानसँग भेट गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ बुधबार इस्लामाबाद पुगेका छन् । पछिल्ला दिनमा दुई देशबीचको सम्बन्ध चिसिइरहेका वेला पोम्पेओले पाकिस्तानको भ्रमण गरेका हुन् । सम्बन्धलाई नयाँ गति दिनु पोम्पेओको भ्रमणको मुख्य उद्देश्य छ ।
 
वासिङ्टनले ३० करोड अमेरिकी डलरको सैन्य सहायता रोक्ने निर्णय पुष्टि गरेको भोलिपल्टै विदेशमन्त्री पोम्पेओ पाकिस्तान पुगेका हुन् । इस्लामाबाद उत्रिएपछि पोम्पेओले भने, ‘दुई देशबीचको सम्बन्धलाई नयाँ ढंगबाट अगाडि बढाउनु भ्रमणको मूल उद्देश्य हो ।’ अफगानिस्तानमा जारी द्वन्द्वमा पाकिस्तानले पर्याप्त सहयोग नगरेको बरु अफगान लडाकुलाई हतियार र आश्रय दिएको अमेरिकी आरोप छ ।
 
‘हो, हामीबीच धेरै किसिमका चुनौती छन्, तर पाकिस्तानको नयाँ नेतृत्वसँग नयाँ समझदारी बन्ने र हाम्रा साझा मुद्दामा मिलेर काम गर्न सकिने हाम्रो विश्वास छ,’ उनले भने । विदेशमन्त्री पोम्पेओले पाकिस्तानको भ्रमणपछि भारतको भ्रमण गर्नेछन् । भारतमा रहँदा अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस पनि साथमा रहनेछन् । अमेरिका र भारतबीच प्रतिरक्षा र व्यापारका विविध विषयमा छलफल हुने बताइएको छ ।