पुंसवन संस्कार, महत्व एवं परिचय !

भाद्र २२,२०७५

-माधव प्रसाद गर्तौला

२२ भदौ, २०७५ काठमाण्डौ l

षोडशसंस्कारहरु मध्ये प्रथम गर्भाधान संस्कारको परिचय हामीहरुले पाई नै सकेका छौं l अतः आज द्वितीय संस्कार अर्थात् ‘पुंसवन’ संस्कार को बारेमा जानकारी गराउने जमर्को गर्दै छु l

 

(२) पुमान् प्रसूयते येन कर्मणा तत् पुंसवनमीरितम् l (वीरमोत्रोदय)

अर्थात् जुन कर्मद्वारा पुरुष उत्पन्न हुन्छ, त्यस कर्मलाई ‘पुंसवन’ भनिन्छ l

 

प्राचीन कालमा विशेष गरी पुरुष-संतान (छोरा) को कामना गर्ने दम्पत्तिले यस संकारलाई गर्ने गर्दथे l तर अहिले भने प्रायः “छोरा-छोरी एक-समान” को धारणा विकसित भई सकेको छ l अतः संतान स्वस्थ, सुंदर, बलवान, गुणवान हुन् भन्ने धारणा राखी उक्त संस्कार गरियो भने अझै पनि यसको महत्व उत्तिकै रहेको छ l

 

जीव (संतान) जब पिताद्वारा मातृगर्भमा आउँछ, तबदेखि नै उसको शारीरिक एवं मानसिक विकास प्रारंभ हुन थाल्दछ l संतानको शारीरिक विकास अनुकूलतापूर्वक होस्, यसैका लागि यो संस्कार गर्ने गरिन्छ l शास्त्रहरुमा भनिएको छ कि गर्भाधानदेखि तेस्रो महिनामा पुंसवन संस्कार गर्नुपर्छ l (पुंसवन संस्कार कुन महिनामा गर्ने हो भनेर सर्वसंमत वचन उपलब्ध छैन, हरेक आचार्य (ऋषि) हरुले आ-आफ्नै तरिकाले व्याख्या गरेका छन् l वंशपरंपरानुसार आफ्ना गोत्र, प्रवर, शाखा तथा ऋषि अन्वेषण गरी, उनै ऋषि लिखित स्मृतिग्रंथानुरूप उक्त कर्म गर्दा उपयुक्त होला)

 

तृतीये मासि कर्तव्यं गृष्टेरन्यत्र शोभनम् l गृष्टे चतुर्थमासे तु षष्ठे मासेऽथवाष्टमे l l (वीरमोत्रोदय)

यस संस्कारमा गर्भस्थ शीशु पुरुषरूपमा उत्पन्न होस् भन्नका लागि प्रार्थना एवं कर्मकाण्ड गर्ने गरिन्छ l चिकित्साशास्त्र अनुसार चार महिनासम्म गर्भस्थ शिशुको लिंगभेद हुँदैन l यसैले स्त्री या पुरुषको चिन्ह उत्पन्न हुनुपूर्व नै उक्त संस्कार गर्ने प्रचलन रहेको छ l यस संस्कारमा औषधिविशेषलाई गर्भवती स्त्रीको नासिका (नाक) छिद्रबाट भित्र पुर्याइन्छ l सुश्रुतसंहितानुसार-

 

“सुलक्ष्मणा वटशुंग, सहदेवी विश्वदेवानाभिमन्यतमम् क्षीरेणाभिद्युष्ट्य त्रिचतुरो वा विन्दून् दद्यात् दक्षिणे नासापुटे l”

अर्थात् लक्ष्मणा, वटशुंगा, सहदेवी र विश्वदेवा यिनीहरुमा कुनै एक औषधिलाई गाईको दूधमा खूब मसिनो पारी पिनेर तीन या चार थोपा गर्भवती स्त्रीको दाहिने नासिकाको छिद्रमा हाल्नु पर्छ l यसले पुत्र नै जन्मिन्छ l

 

पुंसवन संस्कार गर्भस्थापनको तीन महिनाभित्रै गर्ने विधान रहेको छ l यस संस्कारले पुरुष शुक्रलाई बल प्रदान गरिन्छ, जसको कारणले प्रथम संतान पुरुष नै हुन्छ l उक्त संकारले गर्भस्थित शिशुको लिंगपनि परिवर्तन गर्न सकिन्छ यस्तो मान्यता रहेको छ l गर्भाधानदेखि लिएर तीन महिनासम्मको शिशुको लिंग निर्धारण हुँदैन l तीन महिनापछि लिंग निर्धारण हुने बित्तिकै गर्भमा तीव्र स्पंदन हुन थाल्छ l

 

गर्भ जब दुई-तीन महिनाको हुन्छ, अथवा स्त्रीमा गर्भको चिन्ह (लक्षण) स्पष्ट हुन्छ तब गर्भस्थ शिशुको समुचित विकासको लागि पुंसवन संस्कार गर्नुपर्छ l  प्रायः तीन महिनादेखि स्त्रीको गर्भमा रहेको शिशुको भौतिक शरीरको निर्माण प्रारंभ हुन्छ, जसको कारण शिशुको अंग र संस्कार दुबै आफ्ना स्वरूप निर्धारण गर्न थाल्छन् l गर्भस्थ शिशुमा माता-पिताको मन तथा भावनाहरुको गहिरो प्रभाव पर्छ l अतः माता (आमा) लाई मानसिकरूपले गर्भस्थ शिशुको राम्रो प्रकारले देखभाल गर्ने योग्य बनाउनको लागि यस संस्कारको विशेष महत्व छ l धर्मग्रंथहरुमा पुंसवन संस्कार गर्ने मुख्य दुईवटा उद्द्येश्य मिल्दछन् l पहिलो उद्द्येश्य पुत्रप्राप्ति र अर्को स्वस्थ, सुंदर तथा गुणवान संतान प्राप्त गर्नु हो l पहिलो उद्द्येश्यको संदर्भमा ‘स्मृतिसंग्रह’मा लेखिएको छ-

 

गर्भाद् भवेच्च पुंसूते पुंस्त्वस्य प्रतिपादनम् l

अर्थात् यस गर्भबाट पुत्र उत्पन्न होस्, यसैले पुंसवन संस्कार गरिन्छ l

पुंसवन संस्कारको व्याख्या गर्दै धर्मग्रन्थहरुमा धार्मिक आस्थामाथि विशेष बल दिइएको छ l जसको सीधा अर्थ माता (आमा) लाई आत्मिकरूपले सबल बनाउनु हो l जस्तै- जुन व्यक्तिले वेद-मंत्रहरुको अलौकिक शक्तिमा परम श्रद्धा राखेर पुंसवन संस्कार गर्दछ, त्यसको प्रभावले स्त्रीको भावप्रधान मस्तिष्क तथा हृदयमा पुत्रभावको संकल्प प्रगाढ हुन्छ l फलस्वरूप पुत्र नै उत्पन्न हुन्छ l

 

पुमानग्नि: पुमानिन्द्र: पुमान् देवो बृहस्पति: l पुमांसं पुत्रं विन्दस्व तं पुमान्नु जायताम् l l

अर्थात् अग्निदेवता पुरुष हुन्, देवराज इंद्र पुरुष हुन् तथा देवताहरुका गुरु बृहस्पति पनि पुरुष नै हुन्, अतः तिमीलाई पनि पुरुषत्वयुक्त पुत्र नै उत्पन्न होस् l

एउटा अन्य क्रिया पनिगर्ने विधान यजुर्वेदमा बताइएको छ l जसको अनुसार शुभ मंगलमय मुहूर्तमा मांगलिक पाठ गरेर, गणेशआदि देवताहरुको पूजन गरी वटवृक्ष (वर) को नवीन अंकुर तथा पल्लवहरु र कुशको जरालाई पानीसंग पिनेर त्यस रसरूप औषधिलाई पतिले गर्भिणी स्त्रीको दाहिने नाकको छिद्रबाट पुत्रको भावना गर्दै पियाउनु तथा निम्नस्थ मंत्रको पाठ गर्नु-

 

ॐ हिरण्यगर्भः समवर्तताग्रे भूतस्य जातः पतिरेक आसीत् । स दाधार पृथिवीं द्यामुतेमां कस्मै देवाय हविषा विधेम ।।

पुंसवन संस्कारको उद्द्येश्य बलवान, सुंदर एवं स्वस्थ संतानलाई जन्म दिनु हो l यस संस्कारले गर्भस्थ शीशुको रक्षा हुन्छ तथा उत्तम संस्कारहरुले पूर्ण बन्दछ l ईश्वरको कृपा स्वीकार गरी तथा उसप्रति कृतज्ञता प्रगट गर्दै प्रार्थना एवं यज्ञकार्य संपन्न गरिन्छ l साथै यो कामना पनि गरिन्छ कि भर्भस्थ शिशु समय पूर्ण भएपछि परिपक्वरूपले उत्पन्न होस् l

यो पनि पढ्नुहोस्- गर्भाधान संस्कार, महत्व एवं परिचय !