भाद्र २३,२०७५
-माधव प्रसाद गर्तौला
२३ भदौ, २०७५ काठमाण्डौ l
कुशे औंसी सनातन हिन्दू परंपरामा भाद्र महिनाको अमावस्या (औंसी) का दिन मनाइने पर्व हो । सम्पूर्ण धार्मिक एवं पितृकार्यहरुमा प्रयोग गरिने कुशलाई वैज्ञानीक भाषामा (Eragrostis Cynosuroides) भनिन्छ l कुश एउटा धार्मिक आस्था बोकेको धारीलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने कुशको जराबाट विभिन्न प्रकारका औषधीहरु पनि बनाइन्छ । प्राचीनकालमा कुशको प्रयोग गुरुकुलदेखि राजदरवारसम्म पनि हुने गर्दथ्यो l वैदिक साहित्यमा यसको अनेकौं ठाउँमा उल्लेख पाइन्छ l
अथर्ववेदमा यसलाई क्रोधशामक र अशुभनिवारक बताइएको छ भने कौटिल्यको अनुसार यसबाट एक विशेष प्रकारको तेलपनि निकालिन्थ्यो l भावप्रकाशानुसार कुश त्रिदोषघ्न (कफ, वात, पित्त) र शैत्यगुण (शीत) विशिष्ट हो भने यसको जराले मूत्रकृच्छ्र, अश्मरी, तृष्णा, वस्ती र प्रदररोगसमेतमा पनि महत्वपूर्ण भूमिका निभाउंछ l
धार्मिकशास्त्रानुसार कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्मकार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिन्छ l
स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि l करौ सदर्भौ कुर्वीत तथा संध्याभिवादने l l
अर्थात् नुहाँउदा, जप गर्दा, दानगर्दा, पुजापाठ, पितृकार्यमा समेत प्रयोग हुने बहूपयोगी कुशलाई हिन्दू धर्मावलम्बिहरुले महत्वका साथ हेर्दछन् ।
कुशको उत्पत्त्ति कसरी भयो भन्ने संदर्भमा पौराणिक आख्यानहरु पनि पाइन्छन् l जब भगवान् श्रीहरिले वराह अवतार धारण गर्नुभयो तब हिरण्यकशिपुको सहोदर हिरण्याक्षको वध गरिसकेपछि पृथ्वीलाई जलबाट बाहिर निकाली उनको निर्धारित स्थानमा राख्नुभयो, त्यसपछि वराहले पनि आफ्नो प्रवृत्ति अनुसार शारीरमा लागेको पानी झार्दा संग-संगै शरीरको रौँ पनि पृथ्वीमा झरेको थियो l सोही रौँबाट कुशको उत्पत्ति भएको हो l स्वयं भगवान् वराहको रौँबाट उत्पन्न भएको कारणैले गर्दा कुशलाई अत्यन्त पवित्र मानिएको हो l
यस्तै, स्वस्थानीको कथाप्रसङ्गमा पनि वृन्दाले विष्णु भगवानलाई श्राप दिएकी थिइन् कि घाँस नुपरोस्, त्यही घाँस नै कुशरूपमा आएको भन्ने कुरा त्यहीं स्पष्ट छ । जसरी पनि भगवानसँग सम्बन्धित भएर धार्मिक कृत्य सम्पादन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।
कुशको महिमालाई यथर्ववेद, श्रीमद्भगवद्गीता, गरुडपुराण, तथा विष्णुपुराणमा समेत वर्णन गरिएको छ । बिना कुशले गरिएको कर्म निष्फल मानिएको छ-
पूजाकाले सर्वदैव कुशहस्तो भवेच्छुचि: l कुशेन रहिता पूजा विफला कथिता मया l l
कुश संग्रह गर्ने विधि
धार्मिक मान्यतानुसार कुशमा साक्षात् ईश्वरको वास हुन्छ l संसारका सृष्टि, स्थिति र लयकर्ता ब्रह्मा, विष्णु र महेशको निवास कुशमा हुने गर्दछ l जरासहित कुश उखेल्ने शास्त्रीय विधान रहेको छ l किनभने कुशको अग्रभागमा रुद्र, मध्यमा केशव तथा मूलमा परमपिता ब्रह्माको निवास हुन्छ l त्यसैले कुश उखेल्दा निम्नस्थ मंत्र उच्चारण गर्दै प्रार्थना गर्नुपर्छ-
कुशाग्रे वसते रुद्र: कुशमध्ये तु केशव: । कुशमूले वसेद्ब्रह्मा कुशान् मे देहि मेदिनी ।।
विरञ्चिना सहोत्पन्नं परमेष्ठिन्निसर्गज: । हरतु सर्व पापानि दर्भ स्वस्तिकरो भव ।।
यस प्रकार प्रार्थना गरिसकेपछि कुश भएको स्थानमा गएर पूर्वोत्तर (इशानकोण) फर्की निम्नमंत्रको उच्चारण गर्दै कुश उखेल्नुपर्छ-
पूर्वं मंत्रं समुच्चार्य तत: पूर्वोत्तरा मुख: l हुँफट्कारेण मंत्रेण सकृच्छित्वा समुद्धरेत् l l
यसरी प्रार्थना गरेपछि "ॐ हुँ फट् स्वाहा" मन्त्र उच्चारण गरी कुशको फेदमा समाएर उखेल्नुपर्छ । यसरी विधिपूर्वक यस दिन उखेलेको कुश व्रत, दान, पुण्यकर्म, पूजा, श्राद्ध आदि कर्ममा वर्षदिनसम्म प्रयोग गर्न सकिन्छ । शास्त्रीय भाषामा ‘अयातयामा’ अर्थात् वर्षदिन सम्मका लागि यस दिन उखेलेको कुश बासी हुँदैन भनिएको छ । परदेश आदिको प्रवासमा या कर्मकालको अवस्थामा कुश नपाइएमा कास, जौ, दूबो, उशीर, कुन्द, गहुँ, धान, मूँज तथा बाबियोलाई पनि कुशसमान व्यवहारमा ल्याउन सकिन्छ भनी धर्मशास्त्रमा बताइएको छ । यस्तै यिनीहरूको अभावमा सुन, चाँदी र तामाको पनि प्रयोग गर्न सकिने शास्त्रवचन रहेको छ l यथा-
कुशाः काशा यवा दूर्वा उशीराश्च सकुन्दकाः । गोधूमा ब्रीहयो मौञ्जा दशदर्भाः सबल्वजाः ।।
कुशाः काशाः शरा दूर्वा यवगोधूमवल्वजाः । सुवर्णं राजतं ताम्रं दशदर्भाः प्रकीर्तिताः ।। इति
बुबाको मुख हेर्ने दिन (Father's Day)
प्रिय पाठक,
यसै भाद्र कृष्ण औंसीको दिनलाई कुश चयनका साथै पितृसम्मान दिवसका नामले पनि चिनिन्छ । लौकिक भाषामा यसलाई "बुबाको मुख हेर्ने दिन"का नामले व्यवहार गरिन्छ । पिता जीवित हुनेले स्वादिष्ट परिकार बनाएर उपयोगी सामग्री आदिद्वारा सम्मान गर्ने, दर्शन गर्ने, आफूले बनाएका परिकार खुवाउने चलन छ भने पिता स्वर्गवास भएका पुत्रले चाहिँ नजिकको तीर्थ गोकर्ण आदिमा गएर पिताको नाममा पितालाई शान्ति मिलोस्, पितृलोकमा सहज वास होस्, विष्णुलोकको गमन होस्, कष्ट भए हामीले गरेको तिथिश्राद्ध एवं यस पितृसम्मान दिवसमा पितृका नाममा गरेका दानपुण्य एवं श्राद्धादिले वहाँको कल्याण होस् भन्ने कामना गरेर श्राद्धआदि गरिन्छ ।
पिता शब्द ‘पा रक्षणे’ धातुबाट निष्पन्न हुन्छ, यसको निर्वचन हो ‘यः पाति स पिता’ अर्थात् जसले रक्षा गर्दछ त्यो पिता हो l मातापछि संसारमा यदि कोई वंदनीय छ भने त्यो पिता नै हो l पितृ शब्दको व्यापक अर्थ छ l यसको अंतर्गत माता एवं पिताको अलावा समस्त पूर्वजहरु पनि आउंछन् l पुत्र प्राप्तिमा हरेक गृहस्थ अत्यंत प्रसन्न हुन्छ, किनकि उसले उसलाई (पुत्र) आफ्नै प्रतिरूप संझिन्छ र उसको अंग-प्रत्यंगमा आफ्नै दर्शन गर्दछ l सामवेदीय ब्राह्मणग्रंथमा भनिएको छ- हे पुत्र ! तिमी मेरा अंग-अंगले उत्पन्न भएको तेज र हृदयबाट उत्पन्न भएका हौ, यसैले तिमी मेरै आत्मा हौ l उस (पिता) ले उस (पुत्र) लाई सयवर्ष सम्म जीवित रहेने कामना गर्दछ l उसले पुत्र प्राप्त गरेर आफुले आफैंलाई धन्य संझिन्छ र उसलाई आफ्नो प्रतिनिधि मान्दछ l
अथर्ववेदमा भनिएको छ- “अनुव्रत: पितु: पुत्रो माता भवति संमना:” अर्थात्- पुत्र पिताको आज्ञाकारी होस् र मातामा श्रद्धा राखोस् l पुत्र शब्दको प्रयोग संतानको लागि हुन्छ l संतानसंग न केवल आज्ञाकारी हुन अपितु पिताको व्रत, सुनियम तथा सद्गुणहरुको पालन गर्नेवाला हुनको लागि पनि कामना गरिएको छ l हर-एक पिता चाहन्छन् कि उनका संतान धन-धान्य र पदमा आफुभन्दा पनि उच्चस्थान प्राप्त गरून् l पुत्र या पुत्रीको आफ्नो तुलनामा अधिक प्रगति देखेर पितालाई ईर्ष्या हुँदैन अपितु अत्यंत प्रसन्नता हुन्छ l माता एवं पिताले आफ्नो संतानको पालन-पोषण बिना कुनै स्वार्थले गर्दछन्, यसैले माताको साथ पितालाई पनि देवता भनिएको छ l ( “मातृदेवो भव, पितृदेवो भव” ) l यसै कारण संतानमा आफ्ना पूर्वजहरुका ऋण चुकाउने दायित्व बन्न आउँछ l संतानको कर्त्तव्य हो कि उसले माता-पिता, हजुरबुवा-हजुरआमा आदि वृद्धजनहरुको जीवनपर्यंत सेवा-सुश्रुषा आदर एवं स्नेहभावले गरिरहून् l
कुनैपनि बच्चाको जीवनमा उसको माता-पिताको स्थान कसैले पनि लिन सक्दैन l तपाईंको पहिलो मित्र, पहिलो अध्यापक र एकमात्र संरक्षक सिर्फ माता-पिता नै हुन्छन् । जहाँ आमा आफ्नो मायाँ-ममताले दुनियाँको हर ख़ुशीहरु दिने कोशिश गर्दछिन् भने त्यहिं पिताको आफ्ना बच्चाहरुमा ख़ुशी बाँड्ने तरीका थोरै भिन्न हुन्छ l उनले तपाईंलाई प्रेमले कम हप्की-दप्की (कठोरता) ले ज्यादा समझाउंछन् l उनको कठोरतामा स्नेह, प्रेम र सहानुभूतिको भाव लुकेको हुन्छ l उनले गाली त सबैको सामुन्ने गरिदिन्छन् तर प्रेम, र स्नेह भने एक्लै (एकांत) मा गर्न जान्दछन् l किनकि उनले न सिर्फ प्रेम तपाईंसंग गर्छन् अपितु वटवृक्षको भांति तपाईंलाई र तपाईंको पूरा परिवारलाई आफ्नो छायाँमा राखेर संरक्षण पनि प्रदान गर्दछन् l
बाल्यकालमा साथिहरुको सामुन्ने गाली त अवश्यनै गर्दछन् तर यो पनि सत्य हो कि ती गाली तपाईंकै फाईदा, र भलाईको लागी हुन्छन् l तपाईं अवश्य नै महत्व (प्राथमिकता) नदिनुस् तर सत्य यही हो कि आज पनि उनले तपाईंको हर-एक स-साना आवश्यकताहरुलाई पूरा गर्नका लागि आफ्ना ठुला-ठुला आवश्यकताहरुलाई पनि बलिदान गरिरहेका हुन्छन् l त्यसैले जीवनमा माता-पिताको अति नै महत्वपूर्ण स्थान रहेको हुन्छ l अतः माता-पितामा हृदयतः नमन गर्नु, सेवा-सत्कार गर्नु सबै सन्ततिको परमकर्तव्य हुन आउँछ । त्यसैले शास्त्रमा मातापिताको महत्त्व यसरी गाइएको पाइन्छ—
माता गङ्गासमा तीर्थं पिता पुष्करमेव च । गुरुः केदारकं तीर्थं माता तीर्थं पुनः पुनः ।।
भरणं पोषणञ्चैव भोजनं रससंयुतम् । कारितामेव भो तात पितृदेव नमोऽस्तुते ।।
भरणपोषण पर्यन्तका कृत्य सम्पादन गरी सक्षम एवं देशको आदर्श नागरिक बनाएर ऐहिक एवं पारलौकिक खुसी एवं सुख वहन गर्ने क्षमतावान् व्यक्तित्व बनाउनुभयो, त्यसका लागि म सदा ऋणी छु भनेर मातापितालाई नमन गरेको प्रसङ्ग धर्मशास्त्रमा बारम्बार आइरहन्छ ।
साथै विद्यालय, गुरुकुल एवं मठ मन्दिरहरुमा गएर ब्राह्मणभोजन गराउने पिताको नाममा छात्रवृत्ति राख्ने, पाटी-पौवा, धर्मशाला आदिको निर्माण वा शुभारम्भ गर्ने जस्ता कार्यहरू गर्ने पनि शास्त्रीय परम्परा रहेको पाइन्छ । पितृहरूका नाममा गरिने कृत्यका लागि यो अत्यन्त पवित्र दिन हो । यसै तिथिमा काठमाडौंको गोकर्ण, सुनसरीको वराहक्षेत्र एवं विष्णुपादुका साथै देवघाटादि तीर्थहरूमा पनि पितृसम्बन्धी श्राद्धआदि गरिन्छ भने घरघरमा कुश भित्र्याएर कुशे औंसी मनाइन्छ ।
संपूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा कुशे औंसी एवं पितृदिवसको पावन उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु l
-माधव प्रसाद गर्तौला
प्रमुख समाचार
सम्वन्धित समाचार