माता-पितालाई आदर-सत्कार गर्नुपर्छ भनेर सिकाउनु पर्ने कुरा होइन : सरिता भंडारी

भाद्र २४,२०७५

-

२४ भदौ, २०७५ काठमाण्डौ l 

 

बाबा.......!  मेरो लागि यो शब्द, शब्दमात्र नभइ स्नेह, वात्सल्य, कर्त्तव्यपरायणता, साहस, धैर्य आदि मानवीय गुणले ओताप्रोत भएको व्यक्तिविशेष हो l 

 

बाबाले प्रदान गर्ने जति माया, ममता, स्नेह, प्रेम यस संसारमा अरु कुनै व्यक्तिले दिन सक्दैन l किनकि बाबा भनेको उक्त गुणविशिष्ट व्यक्तिविशेष नै बाबा हो l आमाले जन्म दिएता पनि बाबाको वात्सल्यपूर्ण संरक्षण बिना संतान पूर्णरूपले विकशीत एवं संस्कारित हुन सक्दैन l बाबा (पिता) एवं संतनको संबंध भौतिक दृष्टिले देख्न सकिंदैन यसका लागि गहन प्रेमपूर्ण हृदय (दृष्टि) चाहिन्छ l

 

जीवनको हरेक स-साना आवश्यकताहरु देखि लिएर अन्य महत्वपूर्ण दायित्वहरुलाई पनि सहजै निभाउन बाबाको महत्वपूर्ण भूमिका रहेको हुन्छ l जस्तै- बालको संरक्षणका लागि अन्य देशहरुमा जानु, विभिन्न कष्टकर कामहरु गर्नु आदि l बाबाले आफ्नो संतानकै लालन-पालन एवं भरण-पोषणका निम्ति यस्ता कष्टकर कामहरु गरेको प्राय: हामीहरुले देख्ने गर्छौं l

 

बाबा आफ्नो संतानको ख़ुशीको निम्ति जस्तोसुकै कष्ट पनि सहन तयार हुन्छन् l स्वयंको दुःख, पीड़ाहरुको ख्याल नै नगरी आफ्नो संतानको उज्वल भविष्यको कामना गरि दिन-रात एक गर्दै कड़ा परिश्रम गर्ने बाबा मेरो जीवनमा कुनै देवताभन्दा कम स्थान राख्नुहुंदैन l म आफ्नो बाबाप्रति कृतज्ञ हुँदै उहाँलाई प्रतिपल महसूस गरिरहेको हुन्छु l उहाँ अहिले जति टाढा भएपनि मलाई मेरै नजिक भएको अनुभूति हुन्छ l बाबाले आफ्ना संतानहरु प्रति निभाएको कर्त्तव्य निस्वार्थ हुन्छ l त्यसमा कतैबाट पनि संतानहरुबाट केही पाइयोस् भन्ने अभिलाषा हुंदैन, र संतानले पनि कुनै अपेक्षा नराखी निस्वार्थ भाव एवं आस्थाका साथ आफ्नो आमा-बाबाको सेवा-सत्कार गर्नु पर्दछ l

 

आजको परिवेशमा संतानहरुले आफ्ना बाबाले गरेका प्रेमको भाव नबुझेर आफुलाई जन्मदिने बाबा- आमालाई घरबाट निकालिदिने अथवा असहाय अवस्थामा छोडिदिने जस्ता अमानवीय कार्यहरु प्राय: हामीले देख्ने गरेका छौं l त्यस्तो गर्दा उनिहरुको हृदय कति रुन्छ होला, त्यसको अंदाजा कसैले पनि लगाउन सक्दैन l बाबाले गरेको जति दुःख, कष्ट छ त्यसलाई संझिँदै प्रत्येक संतानको कर्त्तव्य हुन आउँछ कि उसले पनि आमा-बाबालाई हृदयदेखि नै आभार एवं कृतज्ञता प्रगट गर्दै उहाँहरुको अशक्त अवस्थामा सेवाको लागि हरपल तत्पर रहनु पर्दछ l

 

अन्त्यमा म के भन्न चाहन्छु भने माता-पितालाई आदर-सत्कार गर्नुपर्छ भनेर सिकाउनु पर्ने कुरा होइन अपितु स्वयंले नै अवलोकन एवं महसूस गरि बुझ्नुपर्ने कुरा हो l यदि कुनै व्यक्तिलाई यस्तो कुराहरु पनि सिकाउन पर्छ भने शायद उसले माता-पिताको महत्व नै बुझेको हुँदैन l

 

संपूर्ण दाजुभाई, दिदीबहिनी एवं साथीभाईहरु प्रति पितृदिवसको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु l

- सरिता भंडारी, पुष्पलाल मेमोरियल क्याम्पस, चावहिल