मोतीराम भट्ट : जीवनी एवं व्यक्तित्व !

भाद्र २४,२०७५

-आस्था न्यूज

२४ भदौ २०७५ काठमाण्डौ l 

 

नेपाली साहित्याकाशको गजल विधामा गजलका पिता भनेर स्थापित नाम हो मोतिराम भट्ट । मोतिराम भट्ट नेपाली साहित्यको एउटा युग अर्थात माध्यमिक कालका प्रवर्तक हुन ।

 

नेपाली साहित्याकाशमा या भनौं नेपाली भाषामा एउटा नयाँ र नौलो आयाम भित्र्याई नेपाली साहित्य र नेपाली भाषामा अतुलनीय योगदान दिने यी महान व्यक्तिको जन्म पिता दयाराम भट्ट र माता रिपुमर्दिनी देवीभट्टका दोस्रो सन्तानका रूपमा वि.सं. १९२३ साल कुशेऔंसीका दिन काठमाण्डौको भोसिको टोलमा भएको थियो । ६ वर्षको सानो उमेरमा नै उनी शिक्षा हासील गर्ने क्रममा भारतको वाराणसी (बनारस) पुगेका थिए ।

 

सानैदेखि साहित्यमा अभिरुचि बोकेका-देखाएका उनले उर्दू लगाएत अन्य साहित्यका विधाको राम्रो अध्ययन गरेका थिए । उनी होनाहार, ओजस्वी र तपस्वी व्यक्तित्वका थिए । उनी स्वदेशी खानु,  स्वदेशी लाउनु,  स्वदेशी व्यवहार गर्नु,  स्वदेशी बोल्नु पर्दछ भन्ने सपना देख्थे । वरणारसीबाट नेपाल फर्की आएपछि १५ वर्षकै उमेरमा यिनले विवाह गरे । उनी दरबार स्कुलमा भर्ना भई स्कुल जीवन बिताइ सकेर फेरि उच्च शिक्षा हासिलका निम्ति भारतको कलकत्ता (कोलकाता) पुगे र त्यहाँ नै मास्टर डिग्रीसम्मको शिक्षा हासिल गरेका थिए l

 

अध्ययनलाई विशेष ध्यान दिने उनीमा नेपाली,  संस्कृत,  उर्दू लगायत अन्य भाषाको राम्रो ज्ञान थियो । यिनै महान् व्यक्तिले १९४८ मा कवि भानुभक्त आचार्यको जीवनचरित्रलाई नेपाली साहित्यको मन्दिरमा समर्पण गरेर नेपाली भाषासाहित्यमा समालोचनाको श्रीगणेश गरे । उनले भानुभक्तलाई स्थापित गर्न धेरै जुक्ति ख्याएका थिए । वास्तवमा नेपाली साहित्यलाई रातोरात उन्नतिको शिखरमा पुर्याउन मोतीराम भट्टले भानुभक्त आचार्यको यथेष्ट कदर गरेका थिए । जनजीवनमा साहित्यिक र भाषिक भावनाबाट जागरण ल्याउनका लागि भानुभक्त आचार्यलाई निकै सहयोग पुर्याएका थिए मोतीराम भट्टले भानुभक्त आचार्यका विषयमा लेखेका प्रायः सबै बेहोरालाई नै नेपाली साहित्यको इतिहासले आधिकारिक रूपमा ग्रहण गरेको छ ।

 

मोतीराम भट्ट जोसंग पनि खुलस्त हुन्थे । उनी साथीभाई भनेपछि पनि मरिमेट्थे । दरबार हाई स्कुलमा उनका सहपाठी चन्द्रशमशेर थिए । देशको विकासका लागि मोतीराम भट्ट चिन्तित थिए । त्यस बेला मोतीराम भट्ट पढाईमा तेजिला थिए । यिनले दरबार हाईस्कुलको १० कक्षा अध्ययन गरिरहेको बेला अर्थात १९४८ सालमा बेलायतबाट नेपाल भ्रमणमा आएका लर्ड राबर्ट प्रधानमन्त्री चन्द्रशमशेरसँग दरबार हाइस्कुलको निरिक्षणमा गएका थिए । त्यसैबेला मोतीराम भट्टलाई लर्ड राबटले पुरस्कार स्वरुप पन्ध्रवटा ग्रन्थ दिएका थिए ।

 

उनी ठाउँ हेरी सबैमा आवश्यकता बमोजीम केन्द्रित हुने गर्थे । प्रथम जीवनी लेखक,  समालोचक,  अन्वेषक, पत्रकार,  मुद्रणालयका संस्थापक,  संगठनकर्ता,  पुस्तकालय स्थापक पनि उनी नै थिए । मोतीराम भट्ट कवि,  गजलकार र गीतकार पनि थिए । साथै उनी मीठो स्वर भएका गाएक पनि थिए । त्यतिमात्र होइन उनी एउटा मौलिक नाटककार तथा नाटक निर्देशक थिए ।

 

बनारस बसेका बेलामा मोतीराम भट्टले राम्रा-राम्रा गजल गाएका थिए । त्यसैबेला यिनले सितारवादन पनि सिकेका थिए । बनारसमा बस्दा यिनले चार सयजति शायरीहरु लेखिसकेका थिए तर त्यसबेलासम्म यिनले नेपाली गीत,  कविता र गजल कोरेकै थिएनन् । कतै युगल दोहोरी र जुहारी त कतै रातभरि श्लोकमा जुहारी खेलेको सुनेपछि उनलाईपनि नेपाली भाषामा विशेष रुचि र ज्ञान पलायो र यस्ता गीतहरुलाई हृदयमा रोप्न र मष्तिस्कमा खेलाउंदै स्वरद्वारा प्रस्तुत गर्न थाले । ती सबै श्लोकहरु भानुभक्तले लेखेका हुन भन्ने थाहा पाएपछि मोतीराम भट्टले भानुभक्त आचार्यका गुनगानमा लाग्न थाले साथै कृतिहरु खोजी-खोजी प्रकाशन गर्ने काम गरे ।

 

आफ्नी श्रीमतीलाई लिएर संवत १९३८ मा काशी पुगे र यिनले भारतजीवन भन्ने हिन्दी पत्रिकाको नेपाली संस्करण गराए र यसको प्रकाशकीय र सम्पादकीय लेखे । त्यही छापाखानाबाट यिनले नेपाली भाषाका पुस्तकहरु भटाभट छापे । साथीहरु पद्यविलास पन्त, काशीनाथ, तेजसिंह र तेजबहादुर रानाहरुको सक्रियता र सहयोगमा बनारसमा एउटा मित्रमण्डलीको गठन गरी यिनले समस्या पूर्तिका कवितालगायत अन्य फुट्कर कविता र गजललेखनको अभियान पनि चलाउन थाले साथै रामायण पनि प्रकाशित गराए । संवत १९४४ फागुनमा फेरि बनारसबाट काठमाण्डौ आएपछि आफ्ना मामा नरदेव पाण्डे र कृष्णदेव पाण्डेको सहयोग लिएर १९४५ सालमा काठमाण्डौ ठहिटीमा मोतीकृष्ण कम्पनी खोले । त्यसैबेला उनले पुस्तकालयपनि खोलेका थिए ।

 

मोतीराम भट्ट विशेषतः श्रृङ्गारवादी साहित्यकार थिए । उनी जोसंग पनि भुतुकै हुन्थे । अति मिलनसार भएकाले उनीसंगपनि धेरैले घनिष्टता जोडेका थिए अनि यी केटीहरु भनेपछि मरिमेट्थे । भनिन्छ यिनले थुप्रैसंग  प्रीति गाँसे । यिनमा केटिहरुको घनिष्टता औधि थियो । वास्तवमा मोतीराम भट्टले लेखेका अधिकाशं गजलहरु पनि श्रृङ्गाररसले भरिएका नै पाइन्छन् । यिनले सुन्दरीसंग बोल्न पाए भने मीठा-मीठा कविता लेख्न थाली नै हाल्थे । यिनका श्रृङ्गार रसका धेरै कविताहरु केटीहरुसंगकै भेटघाटका अवसरमा तयार भएका मानिन्छन् जस्तै-

 

यी सानै उमेरदेखि मन हर्न लागे,

यिनै सुन्दरीले जुलुम गर्न लागे ।।

कहाँसम्मको आँट लौ हेर तिन्को,
 
रिसाएर आँखा पनि तर्न लागे l l 
 
एकैपल्ट आँखा घुमाई दिनाले,
 
कती मर्न लागे कती डर्न लागे l l 
 
सुनिस् मन् मुनियाँ बडा होस राखेस्,
 
बिछाएर जाल् कागुनो छर्न लागे l l 
 
बिराना र आफ्ना नराम्रा र राम्रा,
 
सबै सुन्दरीका अघि सर्न लागे l l 
 
अघि पर्न सक्दीनँ मैले हरीका l
 
नजर्देखि ‘मोति’ पनि झर्न लागे l l 

 

मोतीराम भट्टले नेपाली साहित्यमा पन्ध्र वर्षजति सक्रिय रूपमा सेवा गरे र त्यस अवधिमा उनले झन्डै पच्चीसवटा जति साहित्यिक कृतिहरु लेखे, सम्पादन गरे । भानुभक्त आचार्यको रामायण लगाएत अरु लेखकका कृतिहरु पनि प्रकाशित गराए । मोतीराम भट्टले युवाअवस्थामा आफ्नो सारा भावना, जाँगर र सक्रियता अर्पे र नेपाली साहित्यको विकासमा अतुलनीय, अविस्मरणीय र अकल्पनीय सृजनात्मक र संगठनात्मक साहित्यिक कार्यहरु गरेका थिए । उनले गरेका समस्त कार्यहरुको मूल्याङ्कन गर्दा उनको व्यक्तित्वलाई निम्नलिखित पाँचवटा पाटामा वर्गीकरण गर्न सकिन्छ-

 

१. जीवनीकार, समालोचक तथा अन्वेषक

२. कवि, गजलकार तथा गायक

३. समस्यापूर्तिकार तथा संगठनकर्ता

४. नाटककार तथा निर्देशक

५. सम्पादक, छापाखाना र पत्रिकाका प्रबन्धक तथा पुस्तकालयका निर्माता

 

मोतीराम भट्ट नेपाली साहित्यका एउटा अलौकिक व्यक्तित्व थिए । उनी नेपाली भाषासाहित्यको सृजना, संगठनका प्रेरक आधिकारिक पुरुष थिए । पढ्दै, पुस्तक लेख्दै, सम्पादन गर्दै, पत्रिका चलाउँदै, पुस्तकालय खोल्दै, छापाखानाको स्थापना गर्दै, अरुलाई लेख्ने प्रेरणा दिंदै यिनले नेपाली धर्तीलाई बिर्सिनसक्नुको गुन लगाएका छन् । नेपाल, नेपाली र नेपाली साहित्यप्रति सदैव मरिमेट्ने यस्ता ठूला सपुत शारीरिक अस्वस्थताका कारण सात महिना ओछ्यानमा थला परेर कुशे औंशीमा ३१ वर्ष लागेकैदिन १९५३ सालमा काठमाडौको पशुपति आर्यघाटमा स्वर्गीय भए ।

 
“म तिम्रा अघी पर्न लायक् कहाँ छू,
 
त्यसैले अघी सर्न लायक् कहाँ छू ।
 
हुकुम हुन्छ तिम्रो त हाजिर छँदैछू,
 
बिना मर्जि आँट गर्न लायक् कहाँ छू ।
 
अरूका ऊपर आँखिभौं तानि हाने,
 
म जावो हरे१ मर्न लायक् कहाँ छू ।
 
जहाँसम्म मन चल्छ लौ हुन्छ घुर्कुन्,
 
तिनै झैं नजर् तर्न लायक् कहाँ छू ।
 
सडकमै छ मन् हर्न सक्नू हरीले,
 
सुनीस् मोति त्यो गर्न लायक् कहाँ छू ।”
 

आफ्नो जीवनको अथक मिहिनेत, बौद्धिक कसरत र हिम्मतका कारणले उनी नेपाली माटोमा चिरस्मरणीय छन् । उनको योगदानका कारणले उनी यस देशका राष्ट्रिय विभूति बनेका छन् । उनका नाउँमा कैयौ संघसंस्था, बाटोघाटाका निर्माण भएका छन् । उनका नाउँमा हुलाक टिकट निकालिएको छ । उनैको नाउँमा युवावर्ष मोती पुरस्कार समेत स्थापना भएको छ, जुन पुरस्कार नेपाली साहित्यका युवा पिढीको सर्वोच्च पुरस्कारका रूपमा रहेको छ । बहूमुखी प्रतिभाका धनी मोतीराम भट्ट राष्ट्रभाषा नेपालीका पहिलो उत्थापक थिए । उनको यो मुलुकप्रति अत्यन्त ठूलो सद्भावना थियो । मोतीरामको सृजना, गोडमेल र जलमलका कारणले नेपाली भाषाले आजको स्थिति ओगटेको हो ।