Trending :
 

फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा युवा उम्मेदवार इम्यानुएल म्याक्रोन विजयी

बैशाख २५,२०७४

-

२५,वैशाख-

फ्रान्समा नयाँ इतिहास रच्दै राष्ट्रपतीय निर्वाचनमा युवा उम्मेदवार इम्यानुएल म्याक्रोन विजयी भएका छन् । हालसम्मको फ्रान्सेली इतिहासमा उनी सबैभन्दा कान्छो उमेरका राष्ट्रप्रमुखका पनि हुन सफल भएका छन् ।

 

आफ्ना निकटतम प्रतिद्वन्दी, उग्र दक्षिणपन्थी उम्मेदवार मेरिन लि पेनलाई हराउँदै उनी फ्रान्सको राष्ट्रपति पदमा विजयी भएका हुन् । मतगणनाको परिणाम घोषणा भएको केही बेरमै आफ्नो पराजय स्वीकार गर्दै मेरिन लि पेनले नवनियुक्त राष्ट्रपति म्याक्रोनलाई बधाई ज्ञापन गरेकी थिइन् ।
 
३९ वर्षीय म्याक्रोन एक सफल बैंक व्यावसायी, उद्यमी, लगानीकर्ता, श्रेष्ठ प्रविधिज्ञ, अर्थविज्ञ र आर्थिक सल्लाहकार तथा फ्रान्सका  अर्थमन्त्रीका रुपमा सुपरिचित छन् ।

त्यस्तै विजय पश्चात् पेरिसमा आयोजित एक स्थानीय आमसभा तथा विजय जुलूसलाई सम्बोधन गर्दै उनले युरोपेली संघ तथा सम्पूर्ण युरोपवासीलाई पुनः संगठित र सशक्त बनाउने सङ्कल्प गरे । साथै, उनले फ्रान्सेली जनताको विश्वास एक पटक पुनः जिती राष्ट्रको सबलिकरण र सुरक्षामा समर्पित हुने बताउँदै फ्रान्समा अब नवीन अध्यायको शुरुवात भएको घोषणा गरे ।

नवनियुक्त म्याक्रोनका अगाडि प्रशस्त चुनौतीहरु तेर्सिरहेका हुँदा विजयपश्चात् फ्रान्सका बुद्धिजीविहरु उनको कार्यशैली हेर्न उत्सुक रहेका बताइन्छ ।
 
मन्द गतिमा अघि बढिरहेको युरोपेली एकतालाई थप जीवन्तता प्रदान गरिनु पर्ने, बेलायतको बहिर्गगमन पश्चात् युरोपेली संघमा बिद्यमान रिक्ततालाई परिपूर्ण पार्नु पर्ने, मुलुकमा ओरालो लाग्न लाग्न लागेको अर्थतन्त्रमा सुधार गरी दृढता पूर्वक सही मार्गतर्फ लग्नु पर्ने तथा मुख्यतया फ्रान्स स्वयंमा खस्कँदै गै रहेको राष्ट्रिय सुरक्षालाई पुनः बलिष्ठ बनाई सम्पूर्ण जनतालाई सुरक्षाको प्रत्याभूति तथा निश्चिन्तता दिनु पर्ने लगायतका अनगिन्ती चुनौतिहरु शुरु देखि नै उनले सामना गर्नु पर्नेछ ।

नवनिर्वाचित राष्ट्रपति इम्म्यानुएलको विजयपश्चात् उनलाई निवर्तमान राष्ट्रपति फ्रान्कोइ हल्यान्डे तथा प्रधानमन्त्रीले तत्कालै बधाई दिएका थिए । त्यस्तै अमेरिकी राष्ट्रपसित डोनाल्ड ट्रम्प तथा जापानका प्रधानमन्त्री सिन्जो आबे लगायत बिश्वका सबैजसो राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले पनि बधाई ज्ञापन गरेका समाचारहरु आइरहेका छन् ।