Trending :
 

आर्थिक संबन्धबारे चीन–पाक वार्ता

भाद्र २५,२०७५

-

२५ भदौ, २०७५ एजेन्सी l
 
 
चीन र पाकिस्तानका विदेशमन्त्रीबीच चीन–पाकिस्तान आर्थिक मार्ग (सिपिइसी) बारे वार्ता भएको छ । चीनका विदेशमन्त्री वाङ यी र उनका पाकिस्तानी समकक्षी शाह मेहमुद कुरेसीबीच राजधानी इस्लामावादमा सिपिइसीबारे शनिबार आपसी वार्ता भएको पाकिस्तानले जनाएको छ । वार्तामा आर्थिक मार्गसँगै बेइजिङ र इस्लामावादबीचको आपसी चासोका विषयमा छलफल भएको हो ।
 
तीनदिने भ्रमणका लागि पाकिस्तान पुगेका चिनियाँ विदेशमन्त्री वाङले चीनले पाकिस्तानको विकासका लागि सहयोग गर्ने पुरानो प्रतिबद्धता दोहोर्‍याउँदै चीनले पाकिस्तानसँग दुई देशबीचको व्यापक रणनीतिक सहकार्यका सहमत भएको पाकिस्तानी समाचार संस्था जियो न्युजले जनाएको छ ।
 
पाकिस्तानका वैदेशिक कार्यालयका प्रवक्ता मुहम्मद फैसलले भने, ‘चिनियाँ विदेशमन्त्री वाङले पाकिस्तानको सामाजिक, आर्थिक तथा विकास पूर्वाधारका कार्यक्रमप्रति दरिलो समर्थन रहने बताएका छन् ।’चीन–पाकिस्तान आर्थिक करिडोर, आर्थिक सहकार्य, सांस्कृतिक तथा शैक्षिक आदानप्रदान गर्ने विषयमा छलफल केन्द्रित भएको फैसलले जानकारी गराए ।
 
भ्रमणका क्रममा वाङले नवनियुक्त पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई चीनमा हुने अन्तर्रााष्ट्रिय बजारबाट आयात गरिएका सामानहरूको प्रदर्शनीमा सहभागिताका लागि आमन्त्रण गरेको पाकिस्तानी पक्षले जनाएको छ । वाङले पाकिस्तानमा रहँदा राष्ट्रपति, प्रधानमन्त्री, पाकिस्तानी संसद्का सभामुख तथा सैनिक प्रमुखलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ ।