Trending :
 

इराकको विमानस्थलमा हमला, सांसदहरूको आकस्मिक बैठक

भाद्र २५,२०७५

-

२५ भदौ, २०७५ एजेंसी l
 
 
इराकको दक्षिणी सहर बार्सामा भएका हमलामा विद्रोहीले इरानी वाणिज्य दूतावासमा आगो लगाएको र विमानस्थलमा हवाई आक्रमण गरेको छ । पानीलगायतका अत्यावश्यक सेवाबाट वञ्चित गराइएको भन्दै सिया समूहले सो हमला गरेको हो ।
 
हमलापछि इराकी प्रधानमन्त्रीले संसद्को आकस्मिक बैठक बोलाएका थिए । इराकी प्रधानमन्त्री हैदर अल अवादीले उपलब्ध मन्त्रीहरूको बैठकमा विद्रोहीको हमलाबारे जानकारी गराएका थिए । अवादीले सो हिंसालाई ‘राजनीतिक प्रतिशोधले गरिएको आक्रमण’ भन्दै यसविरुद्ध दृढ भएर अघि बढ्न बताएका छन् ।
 
विद्रोहीले राजनीतिक दलका कार्यालय, सरकारी भवनहरू तथा इरानी वाणिज्य दूतावासमा आगजनी गरेको सरकारी सुरक्षा स्रोतले जनाएको छ । तनावलाई साम्य पार्न गरिएको सुरक्षा कारबाहीमा १२ जना विद्रोही मारिएका पुष्टि भएको छ ।
 
बार्सामा गत जुलाईदेखि सुरु भएको अन्दोलनमा अहिलेसम्म २७ जनाको ज्यान गइसकेको छ । सफा पिउने पानीको अभावमा प्रदूषित पानी खाँदा बिरामी परेका र करिब ३० हजार नागरिक खाद्यान्नबाट वञ्चित भएको आक्रोशमा सरकारी भवनमा आगजनी गरेको आन्दोलनरत समूहले जनाएको छ ।
 
‘हामी तिर्खाएका छौँ, भोकाएका छौँ, बिरामी परेका छौँ र राज्यद्वारा त्यागिएका छौँ, त्यसैले हाम्रो पवित्र कर्तव्यका लागि आन्दोलन सुरु गरेका छौँ र इमानदार नागरिकले आन्दोलनमा सहभागिता जनाउनेछ,’ इरान निकट मानिने सिया समूहका अलि हुसैनले भने ।
 
सुरक्षाकर्मीले आन्दोलनकारीविरुद्ध चलाएको कारबाहीमा १२ जना मारिएका र ५० जनाभन्दा बढी घाइते भएका इराकको गृहमन्त्रालयले जनाएको छ । इराकले सो आन्दोलन इरानको उक्साहटमा भएको आरोप लगाएको छ ।
 
इराकी विदेश मन्त्रालयले वाणिज्य दूतावासमा भएको आक्रमणलाई अस्वीकार्य कदम भन्दै ‘यसले इराकको चासो तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई कमजोर आँकलन गर्न खोजिएको जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता बहराम घसेमीले विद्रोहीको हमलालाई ‘असभ्य’ भन्दै इराकले गरेको आलोचनाको खण्डन गरेका छन् ।
 
इराकका लागि इरानी राजदूत इराज मस्जेदीले वाणिज्य दूतावास पूर्णरूपमा ध्वस्त गरिएको बताउँदै यसमा अमेरिका, जियोनी तथा केही अरब मुलुकका ‘विदेशी दलाल’ले इरान–इराकको सम्बन्ध बिगार्ने प्रयासमा गरेको उनले बताए ।
 
यसैबीच सांसदले प्रधानमन्त्रीलगायत सरकारी अधिकारीबाट घटनाको विवरण सुनाइएको छ । आन्दोलनको कारक भनिएको प्रदूषित खानेपानी तथा विद्युत् समस्याबारे छलफलसमेत भएको बताइएको छ ।
 
बार्सा क्षेत्रमा चर्चित सिया धर्मगुरु मोक्तदा सादरको आग्रहमा सांसदको आपत्कालीन बैठक बोलाइएको हो । बार्साबाट निर्वाचित सांसदले जनताको जायज मागमा भएको लापबाही थप केही दिन रहे संकटकालीन सरकारको निर्माण गरिने चेतावनी दिएका छन् ।