Trending :
 

दक्षिण एसियाली योगा च्याम्पियनसिप नेपालमा

बैशाख २५,२०७४

-

वैशाख २५ -

नेपाल योग खेलकुद संघको आयोजनामा प्रथम दक्षिण एसियाली योगा च्याम्पियनसिप आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।

प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले एक कार्यक्रमबीच उद्घाटन गरे ।

कार्यक्रममा मन्त्री श्रीपालीले युवा र खेलकुदलाई जोडेर योगको कार्यक्रम अगाडि बढाउने मन्त्रालयको सोच रहेको बताए । विश्व योगा खेलकुद महासंघकी अध्यक्ष राज श्री चौधरीले मानिसलाई तन्दरुस्त राख्न र स्वच्छ विचार जगाउन योग उपयोगी माध्यम भएको धारणा व्यक्त गरिन् ।

एसियामै पहिलोपटक योगाको च्याम्पियनसिप आयोजना भएको जानकारी आयोजक योग खेलकुद संघका महासचिव चूडामणि खरेलले दिए ।

प्रतियोगितामा नेपालबाट ७६, भारतबाट ७० र बंगलादेशबाट १७ प्रतिस्पर्धी सहभागी छन् । ८ देखि १२, १२ देखि १४, १४ देखि १८ र १८ देखि ३५ वर्ष उमेरसमूहमा प्रतिस्पर्धा भइरहेको छ । ३५ स्वर्ण तथा उत्तिनै रजत र कांस्य गरी जम्मा १ सय ५ पदकका प्रतिस्पर्धा हुनेछ ।

उक्त प्रतियोगिता वैशाख २६ गते सम्म चल्नेछ ।