हरितालिका तीज विशेष

हरितालिका तीजको धार्मिक एवं ऐतिहासिक महत्व !

शिक्षित महिलाले अंधविश्वासलाई चिर्दै, परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानुपर्छ

भाद्र २६,२०७५

-माधव प्रसाद गर्तौला

२६ भदौ, २०७५ काठमाण्डौ l

हरतालिका अथवा हरितालिका तीजको व्रत हिन्दू धर्ममा सबैभन्दा ठुलो व्रत मानिन्छ l यो तीजको पर्व भाद्रपद महिनाको शुल्क तृतीयाको दिन धुमधामसंग देशभरि नै मनाइन्छ l यस व्रतलाई ‘गौरी तृतीया’ पनि भनिन्छ l  मुख्यरूपले सौभाग्यवती महिलाहरुद्वारा यस पर्वलाई मनाइन्छ भने कम उमेरकी युवतिहरुका लागि पनि हरितालिका व्रत उत्तिकै श्रेष्ठ मानिएको छ l हरितालिका तीजमा भगवान शिव, माता गौरी एवं गणेशजीको पूजा-आराधनाको महत्व रहेको छ l यो व्रत निराहार एवं निर्जला भई तथा रात्रि जाग्राम गरि नाचगानको साथ गर्ने गरिन्छ l

 

‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी हुन्छ । पौराणिक प्रसंगअनुसार भाद्र शुक्ल तृतीयाको दिन पर्वतराज हिमालयकी सुपुत्री पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका सखीहरूले हरण गरेर लुकाएका कारण यस दिनलाई हरितालिका भनिएको हो ।

 

आलिभिः सखिभिः हरिता इति हरितालिका । अथवा सखिभिर्हरिता यस्मात् तेनेयं हरितालिका ।

हरितालिकाको लोकप्रसिद्ध नाम ‘तीज’ हो । यो विशेषगरी नारीहरूले मनाउने पर्व हो । धार्मिक रूपमा तीज अन्तर्गत उमामहेश्वरको पूजा गरी निराहार व्रत बस्ने र भोलिपल्ट व्रतको उद्यापन गरेर भोजन गर्नेसम्मका कृत्यहरू पर्दछन् । तीजमा निराहार व्रत बसी पार्वतीसहित भगवान् शिवको पूजा–आराधना गर्ने नियम छ । यसका साथै तीजमा दरका रूपमा विशेष खानपान, नाचगान र मनोरञ्जन समेत गरिन्छ । यो पर्व नेपाल, भारतलगायत हिन्दुहरूको बसोबास भएका अन्य मुलुकमा समेत मनाइन्छ । तीजमा मीठामीठा परिकार आफैंले पकाएर आफन्तहरूलाई बोलाएर आफ्नै मिहिनेतको फल खाने र खुवाउने चलन छ । यस्तै नयाँ कपडा तथा गरगहना जोरजाम गर्ने पर्वका रूपमा पनि तीज अगाडि रहेको छ ।

Image may contain: 3 people, people smiling, people standing

नेपाली समाजमा प्राचीनकालदेखि नै तीजलाई महत्त्वपूर्ण पर्वका रूपमा लिने गरेको पाइन्छ । बाल्यकालमै विवाह भएर टाढा पुगेका छोरी–चेली–भान्जीहरूलाई घरसम्मै माइती लिन जाने,  माइतमा एकसाथ भेला हुने,  रमाइलो भेटघाटबीच मीठो एवं स्वादिष्ट दर खाने,  व्रत बसी सामूहिक पूजा गर्ने र नाचगानका माध्यमले आफ्ना दुःखसुखका पीरमर्का व्यक्त गर्ने अवसर तीजले नै जुटाउंछ ।

 

यस पर्वलाई पतिपत्नीबीचको सम्बन्ध प्रगाढ बनाउने, आपसी सहयोगको भाव प्रत्यक्षरूपमा व्यक्त गर्ने, उमामहेश्वरको पूजाद्वारा पतिपत्नी एक–अर्काका पूरक भएको प्रमाणित गर्ने,  ईश्वर–उपासनाद्वारा इच्छाएको फल प्राप्त गर्ने जस्ता अनेकौं प्रेरणाहरू तीज पर्वबाट प्राप्त गर्न सकिन्छ । पतिपत्नीबाट अलि माथि उठेर हेर्दा सामाजिक पक्षसँग यो पर्व जोडिन पुग्छ । घरमा सासू–बुहारी र नन्द–भाउजूबीचको सम्बन्ध पनि तीतो नभएर मीठो एवं प्रगाढ नै हुनुपर्छ ।

 

आपसमा घरभित्रका व्यावहारिक विषयलाई बाहिर लैजाँदा वास्तवमा आफ्नै घरको बेइज्जत हुने र बाहिरी मानिसले घरायसी मनमुटावलाई जोड्न सक्ने हुँदा यसतर्फ सचेत गराउन माइती पक्षका अभिभावकले ठूलो भूमिका निर्वाह गरेका हुन्छन् । पारिवारिक द्वेष हुनबाट विमुख गराउने शिक्षा पनि यस पर्वबाट प्राप्त गर्न सकिन्छ । यसभन्दा पर गएर हाम्रो घरमा आश्रित व्यक्तिहरूलाई जोड्ने प्रयत्न गर्नु र नन्दआमाजू, फुपूदिदी र हजुरदिदीहरूलाई, सानीमा, ठुलीआमा एवं वरपरसम्मका इष्टमित्र र आफन्तहरूलाई बोलाएर उदारभावका साथ खानपान तथा रमाइलोले भेटघाट भए जति सबैको मन प्रसन्न भई आत्मीयपनको विकास हुनुले व्यावहारिक पक्षमा पनि एक–आपसमा सहयोग एवं सहकार्यको भावना जागृत हुन्छ ।

 

तीजको धार्मिक पृष्ठभूमि

 

भाद्र शुक्लपक्षको तृतीया तिथिमा पार्वतीले भगवान् शिवजीलाई पति पाऊँ भनी गरेको व्रतबाट तीजको परम्परा चलेको पाइन्छ । जब पार्वतीको चिन्तन, ध्यान, पूजा, उपासना, जप, तप सम्पूर्ण महादेवमा केन्द्रित थियो, उसबेला नारदको याचनाअनुसार पिता पर्वतराज हिमालयले भगवान् विष्णुसँग उनको विवाह निश्चय गर्दछन् ।

वासुदेव स्वयं देवः कन्यां प्रार्थयते यदि । तदा मया प्रदातव्या त्वदागमनगौरवात् ।।

Image may contain: 1 person

पिताजीले आफ्नो इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिने निश्चय गरेको थाहा पाएपछि पार्वतीलाई असह्य पीडा भयो । उनले आफ्नो वेदना सखीहरूलाई सुनाइन् । सखीहरूले पार्वतीलाई लुकाउने सल्लाह गरे, र हरण गरि जंगलमा पुर्याए । पार्वती हराएको सूचनाले पर्वतराजको दरबारमा भने हाहाकार भयो । यसरी सखीहरूले हरण गरेर लुकाएको अवस्थामा पार्वतीले आशुतोष भगवान् शिवजीको तपस्या गरिन् । उनले बालुवाको शिवलिंग बनाई पूजा गरिन् र ‘ॐ नमः शिवाय’ मन्त्रद्वारा भगवान् शिवजीलाई प्रसन्न गराई वरदानस्वरूप उनै भगवानलाई पतिरूपमा प्राप्त गरिन् । यसप्रकार पार्वतीले सिद्ध गरेको पूजालाई हरितालिका पूजा भन्न थालिएको हो ।

 

व्रत बस्ने दिन

 

तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् । व्रतको समयमा महिलाहरूले तीजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण-ब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरु महादेवको पुजा आराधना पश्चात फलफुल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।

 

सामाजिक महत्व

 

नेपाल कृषिप्रधान मुलुक हो । तीज बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व हो । आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर र्फकने प्रचलन छ जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुखदुखका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ ।

Image may contain: 4 people, people smiling, people dancing, people on stage, people standing and outdoor

विवाह भएको पहिलो वर्ष छोरीको घरमा दर पठाउनुपर्ने चलन बढ्न थालेको छ । यसले माइती पक्षलाई छोरीका निम्ति थप आर्थिक भार बेहोर्नुपर्ने बाध्यता सिर्जना गरिदिएको छ । दर पठाउने क्रममा माइतीबाट छोरीको घरमा सम्धिनीलाई मात्र नभएर जेठानी, नन्द, आमाजूसमेतलाई गरगहना, पहिरन, जुत्ता, शृंगार सामग्री आदिका साथै ११ किसिमका परिकार पठाउनुपर्ने चलनको थालनी भएको छ ।

 

यसका साथै महिनौं अघिदेखि दर खाने-खुवाउने नाममा हुने तडकभडकले पनि यो पर्वको पवित्रता एवम् मूल मर्ममाथि प्रहार भएको देखिन्छ ।  हुनेखाने वर्ग त यस्तो चलनमा रमाउलान्, तर सामान्य वर्गले पनि देखासिकी गर्न खोज्दा समस्या जटिल हुनसक्छ ।  यसले समाजमा वर्गीय विभेदको नयाँ समस्या जन्माउन सक्ने कुरा प्रति पनि नजरअन्दाज गर्न सकिँदैन । यो चलनको दुष्प्रभावस्वरूप धेरै बुहारी भएको घरमा कसले कति ल्याउने भन्ने अनावश्यक टिप्पणी हुने गर्छ । कम ल्याउने बुहारीलाई होच्याउने, अपमान गर्ने र बढी ल्याउने बुहारीलाई बढी सम्मान दिने गलत र अनावश्यक प्रतिस्पर्धाले हाम्रो सामाजिक सद्भाव र मेलमिलापमै असर पार्न सक्छ । यस्ता सामाजिक व्यवहारले तीजको वास्तविक उद्देश्यलाई ओझेलमा पारेको छ । यस्ता गलत प्रवृत्ति हटाउने हो भने तीजको सामाजिक महत्व अत्यन्त ठूलो छ ।

 

सांस्कृतिक महत्व

 

मानिस जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन । नेपालमा रहेका हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेको पाइन्छ । तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले युवतीहरू पनि यसमा रमाउँछन् । कामबाट केही समय अवकाश लिँदै परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको अर्को विशेषता बन्दैछ ।

 

तीजमा गीत-संगीतको विशेष महत्व रहन्छ । महिलाहरू विद्युतीय उपकरण र साधन नहुँदा समूहमा भेला भई गीत गाउँथे भने अहिले रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन् । तीजका गीतमा छोराछोरीबीचको विभेद, पीडा, सासूबुहारीको कचकच, दुस्ख, इर्ष्या आदि विषय समावेश हुन्थे तर अहिले तीज गीतका विषय पनि परिवर्तन भएका छन् । सांस्कृतिक मान्यतास्वरूप महिलाहरू गीत गाउँदै नजिकैको मन्दिर वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुञ्जाउँछन् ।

Image may contain: 4 people, people smiling, people standing and outdoor

चुल्हो-चौको एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्छन् । अहिले सबै नेपाली नारीको घरमा यस्तो अवस्था छैन । टोलटोलमा समूह बनाएर एक महिनाअघिदेखि नाचगान र खानपिनका कार्यक्रम संचालन गरिन्छन् । कतिपय संघसंस्थाले तीज प्रतियोगिता पनि आयोजना गर्छन् । यसले तीजको खास अर्थ र महत्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको छ । यद्यपि तीजको संस्कृति अन्य जात वा समुदायका महिलामा पनि प्रवेश गर्नु राम्रो कुरा हो ।

 

तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु भने हुँदैन । आफूलाई आधुनिक र सहरिया मान्ने महिलाहरू होटलमा भेला भएर पार्टी आयोजित गर्छन् र लठ्ठनिे गरी मदिरामा डुब्छन् । तीजका नाममा भित्रिएको यो सबैभन्दा विकृत पक्ष हो । इज्जत र सभ्यता अनि सुन्दर देखिन नभई अरूको देखासिकी र प्रतिस्पर्धाका लागि गहना लगाउने चलन पनि भित्रिएको छ । त्यसले आर्थिक भार पनि बढिरहेको हुन्छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनि ओझेलमा पार्छ । यो पर्वको सांस्कृतिक महत्वको जगेर्ना गर्न विकृतिहरू हटाउँदै जानु आवश्यक छ ।

No automatic alt text available.