सीमन्तोन्नयन संस्कार, महत्व एवं परिचय !

भाद्र २८,२०७५

-माधव प्रसाद गर्तौला

२८ भदौ, २०७५ काठमाण्डौ l

 

सीमन्तोन्नयन संस्कार हिन्दू धर्म संस्कारहरुमा तृतीय संस्कार हो l यो संस्कार पुंसवन संस्कारकै विस्तार हो l यसको शाब्दिक अर्थ हो- ‘सीमन्त’ अर्थात् ‘कपाल’ (सिउँदो) तथा ‘उन्नयन’ अर्थात् ‘माथि उठाउनु’ l यस संकार विधिको समयमा पतिले आफ्नी पत्नीको कपाल संवार्दै (कोर्दै) माथि उठाउंदछ l यसैले यस संस्कारको नाम ‘सीमन्तोन्नयन’ रहेको हो l

 

(३) सीमंत उन्नियते यास्मिन् कर्मणि तत् सीमन्तोन्नयनम् l l (वीरमित्रोदय)

अर्थात् सीमंत 'कपाल' (सिउँदो) माथि उठाइन्छ जुन कर्ममा त्यस कर्मलाई सीमन्तोन्नयन भनिन्छ l

 

यस संस्कारको उद्येश्य गर्भवती स्त्रीलाई मानसिक बल प्रदान गर्दै सकारात्मक विचारहरुले पूर्ण बनाउनु हो l गर्भस्थ शिशुको विकासको साथ माता (आमा) को हृदयमा नयाँ-नयाँ इच्छाहरु उत्पन्न हुन्छन् l शिशुको मानसिक विकासमा यी इच्छाहरुको पूर्तिले महत्वपूर्ण भूमिका निभाउंछ l अब उस (गर्भस्थ शिशु) ले सबै कुरा सुन्छ र बुझ्छ तथा आमाको प्रत्येक सुख-दु:खमा सहभागी हुन्छ l उल्लेखनीय छ कि चौथो महिनापछि शिशुको अंग-प्रत्यंग, हृदय आदि निर्मित भैसक्छ र उसमा चेतना पनि आउन लाग्छ, जसको कारणले गर्दा बच्चामा जाग्रत इच्छाहरु आमाको मस्तिष्कमा उत्पन्न हुन थाल्छ l यस समय गर्भस्थशिशु शिक्षणयोग्य बन्छ l उसको मन र बुद्धिमा नयाँ चेतना-शक्ति जागृत हुन थाल्दछ l यस्तोमा जुन प्रभावशाली राम्रो संस्कार हालिन्छ, त्यसको शिशुको मनमा गहिरो प्रभाव पर्छ l

 

अतः छैठौं या आठौँ महिनामा यस संस्कारलाई अवश्य नै गरिसक्नुपर्छ l यो संस्कार गर्भपात रोक्नको लागि गरिन्छ l चौथो, छैठौं या आठौँ महिनामा भएको गर्भपातमा शिशु जीवित रहंदैन l कहिले-कहिले आमाको पनि मृत्यु हुने संभावना हुन्छ, किनकि यस समय शरीरस्थित इंन्द्र नामक विद्युत प्रबल हुन्छ l यी तीनै महिनामा यो संस्कार गरिदिनाले इंन्द्र विद्युत शान्त हुन्छ l जसको कारणले गर्भपातको आशंका समाप्त हुन्छ l यस संस्कारलाई चौथो, छैठौं या आठौँ महिनामा गरिन्छ l तर विभिन्न शास्त्रकारहरु एकमत नभएको र आठौँ महिनालाई विशेष जोड़ दिएका हुनाले आठै महिनामा उक्त संकार गर्दा उपयुक्त हुन्छ l

 

यसमा कुनै संदेह छैन, कि गर्भस्थशिशु धेरै नै संवेदनशील हुन्छ l सती मदालसाको बारेमा भनिन्छ कि उनले आफ्नो बच्चा जन्मिनुभन्दा अगाडि नै गुण, कर्म र स्वभावको पूर्वघोषणा गरिदिन्थिन्, त्यसपछि उस्तै प्रकारको निरंतर चिंतन, क्रिया-कलाप, आहार-विहार र व्यवहार अपनाउँथिन् जसले गर्दा बच्चा त्यहि मनोभूमिमा परिवर्तित हुन्थो, जस्तो कि उनि चाहन्थिन् l

 

भक्त प्रह्लादकी आमा कयाधुलाई देवर्षि नारदले भगवद्भक्तिको उपदेश दिने गर्थे, जसलाई प्रह्लादले गर्भमै सुनेका थिए l व्यासपुत्र शुकदेवले पनि आफ्नी आमाकै गर्भमा सारा ज्ञान प्राप्त गरि जन्मिएका थिए l पाण्डुपुत्र अर्जुनले आफ्नी गर्भवती पत्नी सुभद्रालाई चक्रव्यूहभेदनको जुन शिक्षा दिएका थिए, ती सबै गर्भस्थशिशु अभिमन्युले पनि गर्भमै सुनेर सिकेका थिए l त्यसै शिक्षाको आधारमा मात्र सोह्र वर्षको कलिलै अवस्थामा एक्लै महाभारतको चक्रव्यूह भेदन गरि सात महारथीहरुलाई पराजित गरेका थिए l

 

यस संस्कारलाई गर्ने बेलामा शास्त्रवर्णित गूलर (निभारो) वनस्पति द्वारा गर्भिणी पत्नीको सीमंत (सिउँदो) मा ‘ॐ भूर्विनयामि’ भन्दै  पृथक् करणादि क्रियाहरु गर्दै पतिले निम्नलिखित मंत्रोच्चारण गर्नुपर्छ-

 

येनादितेः सीमानं नयति प्रजापतिर्महते सौभगाय l

तेनाहमस्यै सीमानं नयामि प्रजामस्यै जरदष्टिं कृणोमि l l

 

अर्थात् जुन प्रकारले देवमाता अदितिको सीमंतोन्नयन प्रजापतिले गरेका थिए, त्यस्तै प्रकारले म यस गर्भिणीको पनि सीमंतोन्नयन गरि यसको पुत्रलाई जरावस्था (वृद्धावस्था) पर्यन्त दीर्घजीवी गर्दछु l संस्कारको अन्त्यमा वृद्धा ब्राह्मणीहरुद्वारा आशीर्वाद दिलाउनुपर्छ l सीमंतोन्नयन संस्कारमा पर्याप्त मात्रामा घ्यू मिसाइएको खिचडी (जाउलो) खुवाउने विधान रहेको छ l यसको उल्लेख गोभिल गृह्यसूत्रमा यस प्रकार गरिएको छ-

 

किं पश्यास्सीत्युक्त्वा प्रजामिति वाचयेत् तं सा स्वयं भुज्जीत वीरसूर्जीवपत्नीति ब्राह्मण्यो मंगलाभिर्वाग्भि पासीरन् l l

 

अर्थात् यो सोद्धा कि तिमी (गर्भिणीस्त्री) के हेर्दै छौ ? तब गर्भिणी स्त्रीले भन्नु कि ‘म संतान हेर्दै छु’ l यसो भनि सकेपछि गर्भिणी स्त्रीले खिचडी सेवन गर्नु l यस संकारको समय उपस्थित स्त्रीहरुले उसलाई (गर्भिणीस्त्री) आशीर्वाद दिंदै भन्नु कि  तिमी जीवित संतान उत्पन्न गर्नेवाली हुनु l तिमी चिरकालसम्म सौभाग्यवती हुनु !

 

यो पनि पढ्नुहोस्- पुंसवन संस्कार, महत्व एवं परिचय !