ऋषिपंचमी विशेष
ऋषिपंचमी, महिमा एवं परिचय !
सप्तऋषिको पूजनले दोषहरु नाश भई यस लोकमा सुखसमृद्धि तथा परलोकमा मुक्ति मिल्ने मान्यता छ
-माधव प्रसाद गर्तौला
२८ भदौ, २०७५ काठमाण्डौ l
ऋषि पंचमी को व्रत भाद्रपद महिनाको शुक्लपक्षको पंचमी तिथिमा मनाउने गरिन्छ प्रथमत: यो व्रत सबै वर्णको पुरुषहरुका लागि पनि प्रतिपादित थियो, तर अब भने अधिकांशत: नारिहरुद्वारा मात्र गरिन्छ आचार्य हेमाद्रिले ब्रह्माण्डपुराणलाई उधृत गरि विशद वर्णन उपस्थित गरेका छन् l ऋषिपञ्चमी हिन्दू संस्कारअनुसार महिलाहरूका लागि तीज तथा हरितालिकाको व्रत जति नै महत्व भएको पर्व (व्रत) मानिन्छ । पौराणिक कथाअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि दोषहरू छन्, तीबाट मुक्ति पाउनका लागि यो व्रत बस्ने गरिन्छ ।
श्रीमद्भागवत, गरुडपुराण लगायत अन्य पुराणहरूमा उल्लेखित भएअनुसार देवराज इन्द्रलाई ब्रह्महत्याबाट लागेको पापलाई मुक्त गर्नका लागि चार भाग लगाई एक भाग नारीहरूको मासिक रक्तमा प्रवेश गराएकोले त्यसैका कारण उनीहरू चौथो दिनसम्म अशुद्ध रहन्छन् । यसै रजस्वलाबाट नै नारीहरूमा सन्तानोत्पादन गर्नसक्ने क्षमता उत्पन्न भएको मानिन्छ । सम्पूर्ण मानवीय चक्रको सुरूआत नै नारीको मासिकधर्मबाट शुरू हुन्छ ।
वराहमिहिर को बृहत्संहितामा सप्तर्षिको नाम पृथक रूपले आएको छ, यथा मरिचि, वशिष्ठ, अंगिरा, अत्रि, पुलस्त्य, पुलह र क्रतु l यसै ग्रंथमा उल्लेख छ कि अरुन्धती नामक ऋषिपत्नी वशिष्ठसंग छिन् l यस व्रतमा केवल सागहरुको प्रयोग हुन्छ भने ब्रह्मचर्यव्रतको पनि पालन गरिन्छ l यस व्रतलाई गर्नाले सबै प्रकारका दोषहरु बाट मुक्ति एवं तीनै प्रकारका दु:खहरु (आधिदैविक, आधिभौतिक र आध्यात्मिक) बाट पनि छुटकारा मिल्दछ l
अर्वाचीन ग्रन्थ व्रतार्क, व्रतराज आदिले भविष्योत्तर पुराणबाट उद्धृत गरी विविध विषयवस्तु प्रस्तुत गरेका छन्, यी पुस्तकमा भगवान् श्रीकृष्णले युधिष्ठिरलाई सुनाउनु भएको एउटा कथा पनि प्रस्तुत गरिएको छ ।
पौराणिक प्रसङ्गअनुसार देवराज इन्द्रले त्वष्टाऋषिका पुत्र वृत्रासुरको हत्या गरेपछि उनले ब्रह्महत्याको ठूलो पापको दण्ड व्यहोर्नु पर्यो । त्यस पापबाट मुक्ति पाउन त्यसलाई चार स्थानमा बाँडियो l अग्नि (धुँवामिश्रित प्रथम ज्वालामा), नदी, (वर्षाकालको गाज र मैलोयुक्त पानी), पर्वत (जहाँ लस्सेदार वृक्ष उत्पन्न हुन्छन्) र स्त्री (रजस्वला अर्थात् मासिक धर्ममा) । अत: मासिकधर्मका समय अस्पृश्यता रहने हुनाले उक्त अवसरमा छोइछिटो भई लागेको दोषबाट छुटकारा पाउनका निम्ति यस ऋषिपञ्चमीको व्रत समस्त महिलाहरूद्वारा लिनुपर्ने सनातन हिन्दू परंपराका धार्मिकग्रंथहरुमा उल्लेख गरिएको छ ।
यस व्रतमा व्रतालु महिलाहरूले नदी, ताल, पोखरी लगायतका जलाशयमा ३ सय ६५ वटा दतिवनले दात माँझेर, पवित्र माटो, तील र गोबर लगाई स्नान गर्ने र शुद्धवस्त्र लगाएर मध्याह्नमा अरून्धती सहित सप्तऋषिको षोडशोपचारले पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने र कर्कलाको तरकारी बनाई एकछाक खाना खाने गर्दछन् ।
ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन् । सप्तऋषिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोष लगायत अन्य सबै दोषहरु नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने भविष्योत्तरपुराणमा उल्लेख गरीएको छ । सप्तऋषि पूजापछि भजनकीर्तन तथा नाचगान गरेमा तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।
महिलाले नदी आदिमा स्नानादि सम्पन्न गरी आह्निक (शौच) कृत्य गरि सकेपछि अग्निशालामा प्रवेश गरी सातैजना ऋषिहरूको प्रतिमालाई पञ्चामृतमा स्नान गराई, ती प्रतिमामाथि चन्दनको लेप, सुगन्धितद्रव्य, आदि लगाउनु पर्छ l पुष्प, धूप, दीप, श्वेतवस्त्र, यज्ञोपवीत (जनै), नैवेद्यादि द्वारा पूजन गरि मन्त्रसहित अर्घ्य दिनुपर्दछ ।
कश्यपोत्रिर्भद्वाजो विश्वामित्रोथ गौतम: ।
जमदग्निर्वशिष्ठश्च सप्तैते ऋषय: स्मृता: । l