हिन्दू समुदायकै सहमतिमा श्रीलंकामा बलिप्रथा प्रतिबन्धित
-
२९ भदौ, २०७५ काठमाण्डौ l
कोलम्बो l दक्षिण एसियाली मूलुक श्रीलंकामा हिन्दू संस्कृतिको अभिन्न अंगका रुपमा लिइने बलि प्रथालाई प्रतिबन्ध लगाउने निर्णय भएको छ।
बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको श्रीलंकामा सरकारले बुधबार हिन्दू समुदायसँगको सहमतिपछि बलि प्रथालाई प्रतिबन्ध लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ।
श्रीलंकाली सरकारका अनुसार बलि प्रथा प्रतिबन्ध गर्ने निर्णयलाई हिन्दू धार्मिक मामिला मन्त्रालयले प्रस्ताव गरेको थियो। हिन्दू समुदायका अधिकांश मानिसहरु यसमा सहमत भएपछि श्रीलंकामा बलिप्रथा प्रतिबन्धको निर्णय भएको हो।
श्रीलंकामा ७० प्रतिशतभन्दा बढी जनसंख्या बौध धर्मावलम्बीहरु बसोबास गर्छन्। हिन्दू धर्मावलम्बी भने १२।६ प्रतिशत रहेको जनाइएको छ। हिन्दूले चाड पर्वमा भगवानको नाममा दिने जनवारको बलिलाई ठूलो जनसंख्याले ‘अमानवीय व्यवहार’ भन्दै आएको थियो।
खसी, भैंसी, कुखुराहरु मन्दिरमा बलि दिने चलन अब श्रीलंकामा अन्त्य हुने श्रीलंकाली सरकारले बताएको छ। मुस्लिम समुदायले समेत श्रीलंकामा बलि प्रथालाई मान्दै आएका छन्। मुसलमानहरुको जनसंख्या ९. ७ प्रतिशत रहेको छ।
यस कानुनले मुसलमानलाई नसमेट्ने देखिएको विश्लेषण गरिएको छ। यसअघि श्रीलंकामा धार्मिक विषयलाई लिएर विवाद हुँदा ३ मुसलमानको मृत्यु भएको थियो भने ४ सय ५० घर तथा पसलहरुमा क्षति पुगेको थियो। नेपाल खबर