जातकर्म संस्कार, महत्व एवं परिचय !

भाद्र २९,२०७५

-माधव प्रसाद गर्तौला

२९ भदौ, २०७५ काठमाण्डौ l

 

सनातन हिन्दू धर्मको संस्कृति संस्कारहरुमै आधारित छ l हाम्रा ऋषि-मुनिहरुले मानव जीवनलाई पवित्र एवं मर्यादित बनउनको लागि यी संस्कारहरुको आविस्कार गरेका हुन् l धार्मिक नै होइन वैज्ञानिक दृष्टिले पनि यी संस्कारहरुको हाम्रो जीवनमा विशेष महत्व छ l पूर्वीय संस्कृतिको महानतामा यी संस्कारहरुले महती योगदान गरेका छन् l गर्भाधान पछि गरिने संस्कारहरुमा पुंसवन र सीमन्तोन्नयन संस्कारको बारेमा संक्षेपमा व्याख्या गरिसकेको छु l

आज भने चतुर्थसंस्कार ‘जातकर्म’ को यथासंभव चर्चा गर्ने कोशिश गर्दैछु, आशा छ पाठकहरुको पुस्तकीय ज्ञानमा अभिवृद्धि हुनेछ !

 

दशमासाञ्छयान: कुमारो अधि मातरि l निरैतु जीवो अक्षतो जीवन्त्या अधि l l (ऋग्वेद)

अर्थात् हे परमात्मन् ! दश महिनासम्म आमाको गर्भमा रहनेवाला सुकुमार जीव प्राण धारण गर्दै आफ्नै प्राणशक्ति संपन्न आमाको शरीरबाट सुखपूर्वक बाहिर निस्कियोस् l

 

हिन्दू धर्म संस्कारहरुमा जातकर्म संस्कार चतुर्थ संस्कार हो l गर्भस्थ शिशुको जन्मपश्चात यो संस्कार गरिन्छ l

 

(४) जाते जातक्रिया भवेत् l

अर्थात् शिशु जन्मिसकेपछि गरिने प्रधानकर्मलाई ‘जातकर्म’ भनिन्छ l

जातकर्म संस्कार नवजात शिशुको दैवीय जगतसंग संबन्ध स्थापनाका लागि गरिन्छ l दैवीय जगतसंग शिशुको प्रगाढता बढोस् तथा परमपिता ब्रह्माजीको सृष्टिसंग राम्रो तरिकाले परिचित भएर दीर्घकालसम्म धर्म र मर्यादाको रक्षा गर्दै यस लोकको भोग गरोस् यहि यस संस्कारको मुख्य उद्येश्य हो l

 

शिशुको जन्मपश्चात् आफ्नो कुलदेवता र वृद्धजनहरुलाई नमस्कार गरि शिशुको मुख हेरेर नदी-तलाउ आदिमा शीतल जलले उताराभिमुख भएर स्नान गर्नुपर्दछ l यदि मूल-ज्येष्ठा आदि अशुभ नक्षत्रमा शिशु जन्मिएको छ भने शिशुको मुख नहेरिकनै स्नान गर्नुपर्छ l

 

यस कर्ममा सुनको शलाकाले विषम मात्रामा घ्यू र मह मिलाएर शिशुलाई चटाइन्छ, चटाउंदा भनिने मंत्र यसप्रकार रहेको छ-

 

प्रतेददामि मधुनो घृतस्य वेदं सवित्रा प्रसूतं मघोनाम् l

आयुष्मान् गुप्तो देवताभिः शतं जीव शरदो लोके अस्मिन् l l (आश्वलायन गृह्यसूत्र)

 

जातकर्म हेतु मधु (मह) र घ्यूलाई नै उपयोगी मानिएको छ तर आचार्य सुश्रुतले भने स्वर्ण मिश्रित घ्यू र मह नै उपयोगी हुन्छ भनेका छन्-

 

प्रथमेऽह्नि मधुसर्पिरनन्तमिश्रं मंत्रपूतं त्रिकालं पाययेत् ।

जातकर्मणि कृते मधुसर्पिरनन्तचूर्णमगुल्याऽनामिकया लेहयेत् । (सुश्रुतसंहिता)

 

मनुस्मृतिमा पनि आएको छ-

 

प्राङ्नाभिवर्धनात्पुंसो जातकर्म विधीयते ।

मंत्रवत्प्राशनं चास्य हिरण्यमधुसर्पिषाम् ।। (मनुस्मृति )

अर्थात् शिशुको नालच्छेदन भन्दा पहिले उसको जातकर्म संस्कार गरिन्छ । यसका लागि वेदमंत्र उच्चारणको साथै त्यस शिशुलाई स्वर्ण (सुन), मधु (मह) और घृत (घ्यू) चटाउनु पर्छ ।

 

यसले बालकको आयु तथा मेधाशक्तिलाई बढाउने काम गर्दछ l सुवर्ण (सुन) ले वातदोषलाई नष्ट गर्छ, मूत्रलाई पनि स्वच्छ बनाउँछ तथा रक्तको ऊर्ध्वगामी दोषलाई पनि नष्ट गरिदिन्छ l मधु (मह) ले रक्तशोधन गर्दछ भने साथ-साथै बलपुष्टिकारक पनि हुन्छ l

 

शिशु जन्मिसकेपछि प्रधानतः जुन-जुन कर्म गरिन्छ त्यसलाई नै ‘जातकर्म’ भनिएको हो l यी कर्महरुमा नाभिच्छेदन, शिशुको मुख सफा गर्नु, स्नान गराउनु, तेल अथवा घ्यू लगाउनु, स्तनपान गराउनु आदि l उपरोक्त सबै कर्महरु प्राय: सबै स्त्रीहरुले जानिराखेकै हुन्छन्, तर पनि ऋषिहरुले नवजात शिशुलाई मात्र एक शरीरको रूपमा नहेरिकन आत्माको रूपमा हेरेका छन् l उनीहरुको दृष्टि केवल बाह्य आवरण मात्रै नभई उसको भित्र विद्यमान चैतन्य आत्मामा पनि पर्यो l त्यस सद्योजात शिशुको आत्मालाई प्रत्यक्षरूपमा संस्कारित गराउनुनै ऋषिहरुको मूल अभिप्राय हो l उपरोक्त संस्कार द्वारा शिशुलाई दीर्घायु, तेजस्विता, पराक्रम आदि शुभगुणको आशीर्वाद प्राप्त हुन्छ भने शिशुरूपी आत्माको अपूर्व पोषण पनि हुन्छ l

 

यो पनि पढ्नुहोस्- सीमन्तोन्नयन संस्कार, महत्व एवं परिचय !