थाहा छ जुम्राबारे ११ रोचक तथ्य ?

भाद्र २९,२०७५

-

२९ भदौ, २०७५ काठमाण्डौ l
 
 
तपाईंले आफ्नो टाउकोमा जुम्रा परेको अनुभव गर्नु भएको छ ? छैन भने ठिकै भयो यदि छ भने तत्काल व्यवस्थापन गर्नु बुद्धिमानी हुन्छ । नेपालका ग्रामिण क्षेत्रमा अहिले पनि धेरै व्यक्तिहरु कुनै न कुनै समयमा जुम्राबाट पिडीत भएकै देखिन्छ । प्राय:  सानो बेलामा जुम्राले सताएको देख्ने गर्दछौँ । कसैकसैलाई वयस्क र वृद्ध अवस्थामा समेत जुम्राले सताउने गरेको पाइन्छ ।
 
आज हामी त्यहि जुम्राबारे केही तथ्य प्रस्तुत गर्दैछौँ-
 
१. जुम्राहरु पहेँलो, सेतो, कालो, खैरो रङ्गका हुन्छन् जुन चामलको दानाको एक चौथाई आकार भन्दापनि साना हुन्छन् ।
 
२. जुम्राहरु टाउकोको सम्पर्कबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छन् ।
 
३. जुम्रालाई बाँच्नको लागि मानव शरीरको रगत चाहिन्छ जुन तिनीहरुले टाउकोबाट चुसेर पाउँछन् । मानव शरीर बाहिर जुम्रा ४८ घण्टाभित्र मर्छन् ।
 
४. जुम्राको अण्डा अर्थात लिखाबाट जुम्रा निस्कन करिब ८ देखि ९ दिन लाग्छ ।
 
५. टाउकामा अत्यधिक जुम्रा पर्दा जुम्राले निकालेको सलाइभा (र्याल) ले गर्दा टाउको चिलाउने गर्दछ ।
 
६. मानव शरीरमा रहने जुम्राहरु जनावरहरुमा पर्दैनन् ।
 
७. जुम्रामा पखेटा हुँदैन, त्यस्तै तिनीहरु उड्न तथा उफ्रिन सक्दैनन् । तर तिनीहरु छिटो हिंड्न र घस्रिन सक्छन् ।
 
८. पोथी जुम्राले हरेक दिन १० वटा अण्डा अर्थात लिखा पार्ने गर्छे ।
 
९. छोटो कपाल भएका कारण महिलामा भन्दा पुरुषमा जुम्रा पर्ने सम्भावना कम हुन्छ ।
 
१०. झट्ट हेर्दा जुम्राका अण्डा अर्थात लिखा चाँयाजस्तै कपालमा झुण्डिएको जस्तो देखिन्छ तर त्यो होइन, लिखा कपालमा रहेको गमजस्तो पदार्थले बेस्सरी टाँसिएर बसेका हुन्छन् ।
 
११. टाउकोमा पर्ने जुम्राले कुनै रोग लगाउंदैन ।