२०१९ को चुनावमा बीजेपीलाई नहराए सबैले पकौडा बेच्नुपर्छ : अखिलेश यादव
-
भदौ ३०, २०७५ काठमाडौं ।
उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टी९एसपी० का अध्यक्ष अखिलेश यादवले भारतीय जनता पार्टी(बीजेपी)को कडा आलोचना गरेका छन् ।
एसपीको ‘सामाजिक न्याय एवम प्रजातन्त्र बचाऔँ, देश बचाऔँ’ साइकल र्यालीलाई शुक्रबार उत्तर प्रदेशको सैफईमा सम्बोधन गर्दै यादवले आउँदो चुनावमा जुनसुकै हालतमा बीजेपीलाई हराउनुपर्ने बताए ।
उनले भने, ‘यदि २०१९ को संसदीय चुनावमा बीजेपीलाई हराउन सकेनौँ भने हामी सबैले पकौडा बेच्नुपर्नेछ । प्रधानमन्त्री त भन्ने गर्छन्, नालीबाट ग्यास निस्कन्छ जसबाट रोजगार पैदा हुन्छ ।’
अखिलेश यादव त्यतिमै रोकिएनन् । उनले अगाडि थपे, ‘२०१९ हामी सबैका लागि राम्रो अवसर छ । यदि यो चुनावमा तपाईँ सफल हुनु भएन भने एउटा नाली र कराई खोज्नु अनि हामी सबै मिलेर पकौडा तारौँला ।’
बीजेपी हराउने अभियान सुरु भैसकेको भन्दै लोकतन्त्र नै समाप्त पार्ने काम गरिरहेको बीजेपीलाई जिताउन नहुने एसपी अध्यक्ष यादवले बताए ।