अमिताभ बच्चन र अक्षय कुमारले यस कारण फेरेका थिए नाम
-
३० भदौ, २०७५ काठमाण्डौ l
आफ्नो वास्तविक नामबाट भन्दा पछि राखिएका नामबाट भारतीय अभिनेताहरु चर्चामा आएका छन् । विग वी अमिताभ बच्चन देखि अक्षय कुमारसम्मले फिल्मी करियरमा लागेसँगै नाम परिवर्तन गरेका छन् । के हो त उनीहरुको वास्तविक नाम ?
अक्षय कुमारले राजीव हरि ओम भाटियाबाट अक्षय कुमार बन्नु पछाडिको कथा एक अन्तर्वार्तामा खुलासा गरेका छन् । पछिल्लो ३० वर्षदेखि बलिउडमा सक्रिय रहेका अक्षयले पहिलो पटक यसबारे खुलासा गरेका हुन् ।
एक अन्तर्वार्तामा अक्षयले भनेका छन् , ‘हालसम्म कसैले मलाई किन नाम बदलेको भनेर सोधेका थिएनन् ।
मेरो पहिलो चलचित्र सन् १९८७ मा आएको थियो जुन महेश भट्टले निर्देशन गरेका थिए । जसमा कुमार गौरवको मुख्य भूमिका रहेको थियो । गौरवको चलचित्रमा नाम अक्षय थियो ।
चलचित्रमा मेरो मात्र ४.५ सेकेण्डको भूमिका थियो । म पूरा समय गौरवको चरित्र र उनको अभिनयलाई हेरेर बसेँ । एक दिन खै मलाई के भयो, मैले अदालत गएर मेरो नाम बदलेँ ।’
अक्षय अगाडि भन्छन्, ‘मलाई नै थाहा छैन मैले किन नाम बदले ? मात्र एक दिन म बान्द्रामा रहेको अदालत पुगेर नाम परिवर्तन गरे । म त्यतिबेला स्टार पनि थिइँन तर मैले आफ्नो भिजिटिङ कार्ड पनि बनाएको थिएँ ।
म त्यसपछि फेरी काममा गएँ र भाग्यले साथ पनि दियो र मलाई फिल्मको अफरहरु आउन थाल्यो ।’
‘आज’बाट सिल्भर स्क्रिनमा कदम राख्ने अक्षय उक्त चलचित्रमा कराटे प्रशिक्षकको भूमिकामा थिए ।
यस्ता छन् अन्य नाम बदल्ने कालाकारहरुः
अमिताभ बच्चनः उनको वास्तविक नाम इन्कलाव श्रीवास्तव हो । उनले सुमित्रा नन्दन पन्तको सुझावमा नाम बदलेका थिए ।
रजनीकान्तः उनको वास्तविक नाम शिवाजी राव गायकवाड हो । उनले निर्देशक के बालाचन्दरको सुझावमा नाम बदलेका थिए ।
दिलिप कुमारः उनको वास्तविक नाम मोहम्मद युसुफ हो । उनले नायिका देविका रानीको सुझावमा नाम बदलेका थिए ।
राजेश खन्नाः उनको वास्तविक नाम जतिन खन्ना हो । उनले अंकल केके तलवार र निर्माता जिपी सिप्पीको सुझावमा नाम बदलेका थिए ।
ए आर रहमानः उनको वास्तविक नाम ए एस दिलीप कुमार हो । उनले ज्योतिषीको सुझावमा नाम बदलेका थिए ।