नामकरण संस्कार, महत्व एवं परिचय !

भाद्र ३१,२०७५

-माधव प्रसाद गर्तौला

३१ भदौ, २०७५ काठमाण्डौ l
 
नामाखिलस्य व्यवहारहेतुः शुभावहं कर्मसु भाग्यहेतुः l
नाम्नैव कीर्तिं लभेत मनुष्यस्ततः प्रशस्तं खलु नामकर्म l l (वीरमित्रोदय)
 
 
(५)  नामकरण संस्कार l
 
नामकरण संस्कार हिन्दू धर्म संस्कारहरुमा पंचम संस्कार हो l यो संस्कार शिशुको जन्मपश्चात् दशौँ अथवा एघारौँ दिनमा गर्ने गरिन्छ l नामकरण संस्कार अत्यन्तै महत्वपूर्ण मानिएको छ, किनभने जीवनको सम्पूर्ण व्यवहार नामबाटै हुने गर्छ, साथै नामले मनोवैज्ञानिकरूपले मस्तिष्क तथा व्यक्तित्वमा पनि प्रभाव पारिरहेको हुन्छ l तसर्थ नामकरण गर्दा विशेष ध्यान पुर्याउनु पर्दछ l
 
 
आयुर्वर्चोभिवृद्धिश्च सिद्धिर्व्यवहतेस्तथा ।
नामकर्मफलं त्वेतत् समुदिष्टं मनीषिभ: ।।
 
 
यथार्थमा आधुनिक युगमा हिन्दू संस्कारहरुको शुभारंभ “नामकरण संस्कार” देखि नै हुन्छ  l ऐतिहासिक परिप्रेक्ष्यमा यसको सर्वप्रथम उल्लेख शतपथ ब्राह्मणमा आएको छ l तर त्यस कालमा यसको साथ कुनै प्रकारको आनुष्ठानिक प्रक्रियाको समायोजन भएको थिएन, अर्थात् यो कर्म बिना कुनै आनुष्ठानिक आडम्बर नै संपन्न गरिन्थ्यो l यसमा यसको संबन्धमा जे विवरणहरु उपलब्ध छन् त्यसअनुसार शिशुको पिता जननाशौच व्यतीत भएपछि अघिल्लो दिन प्रातःकाल स्नानादि गरेर तीन ब्राह्मणहरुलाई भोजन गराएर वर्ण तथा लिंगको अनुसार शिशुको नाम चयन गरेर राख्दथ्यो l
 
 
उल्लेख्य छ कि नामकरणको समयावधिको विषयमा प्राचीन सूत्रकार तथा स्मृतिकारहरुमा मतभेद रहेको पाइन्छ l यथा आश्वलायन, शांखायन, गोभिल खादिर, काठक एवं बृहदारण्यकोपनिषद्का मतमा शिशुको नामकरण जन्मेकै दिन गर्नुपर्छ l महर्षि पतंजलिद्वारा पनि यसलाई नै मान्यता दिइएको छ l तर अर्वाचीन स्मृतिकारहरु भने प्रायः एकमत नै छन्, यथा-
 
नामधेयं दशम्यान्तु द्वादश्यां वास्य कारयेत् l
पुण्ये तिथौ मुहूर्ते वा नक्षत्रे वा गुणान्विते l l (मनुस्मृति २/३२)
 
अर्थात् जनानाशौच निवृत्त भएपछि दशौं अथवा बाह्रौं दिन शुभतिथि-मुहूर्त-नक्षत्रमा शिशुको नामकरण संस्कार गर्नु l
 
 
यस्तै याज्ञवल्क्यस्मृतिमा पनि उल्लेख भएको छ-
 
अहन्येकादशे नाम चतुर्थे मासि निष्क्रम: l 
षष्ठेऽन्नप्राशनं मासि चूडा कार्या यथाकुलम् l l (याज्ञवल्क्यस्मृति २/१२)
 
अर्थात् शिशु जन्मिएको एघारौं दिनमा नामकरण संस्कार गर्नुपर्दछ l
 
 
यस्तै अन्य स्मृतिहरु जस्तै व्यासस्मृति, शंखस्मृति, विष्णुस्मृति, नारदसंहिता, पारस्करगृहयसूत्रम्, विष्णुपुराण, मुहूर्तचिन्तामणि आदि प्राचीन ग्रंथहरुमा धेरै-थोरै मतभेद रहेपनि प्राय: नामकरण संस्कार एघारौं दिनमा नै गर्ने परंपरा रहेको पाइन्छ l
 
नामचयन प्रक्रिया
 
नवजात शिशुको नामचयनको संदर्भमा वैदिक तथा वैदिकोत्तर साहित्यमा अनेक प्रकारको वैविध्य पाइन्छ, तर भाष्य गर्दै सायणले वैदिककालमा चार प्रकारका नामहरुको प्रचलनको उल्लेख गरिएको छ, जुन चाहिं यस प्रकारको हुने गर्थ्यो-
 
 
१. शिशुको जन्मनक्षत्रमा आधारित ‘नाक्षत्रिक नाम’ l
२. जातकर्म संस्कारको समयमा मातापिताद्वारा राखिएको ‘गुप्त नाम’ l
३. नामकरण संस्कारको समयमा राखिएको ‘व्यावहारिक नाम’ l
४. यज्ञकर्मविशेषको संपादनको आधारमा राखिएको ‘याज्ञिक नाम’ l
 
 
ऋग्वैदिककालमा व्यक्तिको चारवटा नाम हुने गर्दथ्यो l तर पछि गृहयसूत्रकालमा आएर नामचयनको संरचनात्मक पक्षहरुमा ध्वन्यात्मक, अक्षरात्मक तथा व्याकरणात्मक रूपहरुमा पनि ध्यान दिन थालियो l अक्षरात्मक स्तरमा नामाक्षारको संख्या दुईदेखि आठसम्मको विधान पाइन्छ l व्याकरणको दृष्टिमा नामघटकहरुको रूप, संज्ञा, क्रिया, कृत्-तद्धित एवं उपसर्ग तथा ध्वन्यात्मक दृष्टिले आदि-अन्त्यमा घोष-अघोष एवं ह्रस्व-दीर्घ आदिको विधान पाइन्छ l
 
 
यसै संदर्भमा पारस्कर गृहयसूत्रमा विधान छ कि नाम समाक्षर अर्थात् दुई, चार अक्षरवाला होस्  l यसको प्रारंभ घोषध्वनि अर्थात् स्वर अथवा व्यंजन वर्णको तृतीय, चतुर्थ, पंचम वर्ण (ग, घ, ड, द, ध, न आदि) अथवा हकारले होस् l मध्यमा अंतस्थ ध्वनि (य, र, ल, व) होस् l अंतिम अक्षरको मात्रा दीर्घ होस् र यो सम्पूर्ण पद ‘कृत् प्रत्ययांत’ (कृदंत प्रत्ययले निष्पन्न)  होस् l
 
 
तर यसको विपरीत कन्या शिशुको नाम विषमाक्षर (एक, तीन) युक्त होस् l अंतमा आकारांत होस् तथा तद्धित प्रत्यय निष्पन्न होस् l यसको अतिरिक्त ब्राह्मण, क्षत्रिय, वैश्य शिशुको लागि क्रमश: यिनीहरुको वर्णसूचक पदहरुमा शर्म, वर्म तथा गुप्तको पनि योग गर्नुपर्छ l वर्णसूचक पदहरुको सूचीमा अन्त्यज (शूद्र) वर्णको उल्लेख नभएको कारणले गर्दा सहजै यो अनुमान लगाउन सकिन्छ कि त्यस कालमा यस वर्गका मानिसहरुको नामकरण संस्कार हुँदैनथ्यो l तर पछि आएर भने स्मृतिकारहरुले अन्त्यज (शूद्र) हरुको पनि नामोल्लेख गरेकाले उनीहरुको पनि नामकरण संस्कार प्रारंभ भएको छ, यथा-
 
 
शर्मवद्ब्राहणस्य स्याद्राज्ञो रक्षासमन्वितम् l
वैश्यस्य पुष्टिसंयुक्त शूद्रस्य प्रैष्संयुतम् l l
स्त्रीणां सुखोद्यमक्रूरं विस्पष्टार्थं मनोहरम् l
मांगल्यं दीर्घवर्णान्तमाशीर्वादाभिधानवत् l l (मनुस्मृति २/३२)
 
 
अर्थात् ब्राह्मणको नाम मंगलवाचक शब्द, क्षत्रियको बलवाचक, वैश्यको धनयुक्त तथा शूद्रहरुको दासयुक्त नाम हुनुपर्छ l त्यसैगरि ब्राह्मणहरुको नामको पछाडी शर्मा, क्षत्रियहरुको वर्मा, वैश्यहरुको भूति एवं शूद्रहरुको नामको पछाड़ी दास लगाउनुपर्छ l जस्तै शिवशर्मा, रामवर्मा, हरिगुप्त, श्यामदास आदि l स्त्रीहरुको नाम सुखपूर्वक उच्चारणयोग्य, क्रूर नहोस्, मंगलवाची, अन्त्यमा दीर्घअक्षरवाला र आशीर्वादात्मक शब्दले संयुक्त होस्, जस्तै- सरला, विमला, यशोदा आदि l
 
 

अंत्यमा शिशुको सर्वांगीण विकासको लागि जति आवश्यक स्नेह, माया, ममता आदिको हुन्छ त्यति नै आवश्यक उसलाई समयानुकूल उद्बोधन दिन पनि हुन्छ l यो सोच्नु हुँदैन कि शिशुले केहिपनि बुझ्दैन, यो धेरै ठुलो भ्रान्ति हो l बुझ्न-बुझाउन केवल शाब्दिक भाषा मात्रै हुन्छ भन्ने जरुरी छैन l किनभने स्नेह-स्पंदन, विचार-तरंग तथा भावनाहरुले पनि उत्तिकै बुझ्न-बुझाउन सकिन्छ l अझ शिशुहरू अत्यंतै संवेदनशील हुने भएकाले उनीहरुले भावना एवं वैचारिक तरंगहरुलाई उनका गहिराईदेखि नै बुझिरहेका हुन्छन् l तसर्थ उसको भविष्यत्कालीन यक्तित्व श्रेष्ठ एवं उत्तम बनाउनका लागि सदैव श्रेष्ठ तथा पवित्र विचार र भावनाहरुको माहौल तयार पार्न एकदम आवश्यक छ l

 

ॐ शुद्धोऽसि बुद्धोऽसि निरंजनोऽसि संसारमाया परिवर्जितोऽसि l l 

संसारमायां त्यज मोहनिद्रां त्वां सदगुरुः शिक्षयतीति सूत्रम् l l

 

यो पनि पढ्नुहोस्- जातकर्म संस्कार, महत्व एवं परिचय !