आशिष र अदितिलाई मोडल हन्ट नेपालको उपाधि
-
३१ भदौ, २०७५ काठमाण्डौ l
काठमाडौं । ‘मोडल हन्ट नेपाल २०१८’ को उपाधि आशिष के. सी. र अदिति अधिकारीले जितेका छन् । शुक्रबार साँझ काठमाडौस्थित होटल सोल्टीको मेघा मल्हार प्रेक्षालयमा आयोजित कार्यक्रममा ३१ प्रतियोगीलाई पछि पार्दै आशिष पुरुष तर्फको उपाधि बिजेता बन्दा अदितिले २४ प्रतियोगीलाई पछि पार्दै युवती तर्फको उपाधि हात पारिन् ।
साजसज्जा सहित भव्य रुपमा निर्माण गरिएको रनवेमा फेसनमय वातावरणसहित आयोजना भएको प्रतियोगिताका विजेता दुवैले नगद पुरस्कार ५० हजार रुपैयाँ प्राप्त गरे । यी दुवै मध्य आशिषले मिष्टर ओशियन तथा अदितिले सुपर मोडल अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नुको अलवा कोरियामा संचालन हुने एलबिएमए अवार्डमा समेत भाग लिने नेपाली प्रतिनिधि बन्ने छन् । प्रतियोगितामा आशिष र अदितिले कमर्सियल मोडलको अवार्ड जित्न पनि सफल भए ।
नेपालकै सर्वाधिक चर्चित र स्तरीय मोडल प्रतियोगिताको रुपमा स्थापित मोडल हन्ट नेपालको यो चौथौं संस्करण हो ।
प्रतियोगितामा सुरज राजोपाध्याय र रुबिस्का श्रेष्ठ फस्ट रनर अप, मुनिर अहमद र हेलि गुरुङ सेकेन्ड रनर अप तथा आदर्श ज्ञवाली र सन्नी महर्जन थर्ड रनर अप विजेता घोषित भए ।
रनर अप विजेता सुरज र रुबिस्काले नगद पुरस्कार ३० हजार, मुनिर र हेलीले २० तथा आदर्श र सन्नीले १५ हजार रुपैयाँ प्राप्त गरे ।
चौथौं संस्करणसम्म आइपुग्दा प्रतियोगिताको प्रस्तुतीकरण र आयोजनालाई परिष्कृत र स्तरीय बनाउन आफू सफल भएकोमा कार्यक्रम आयोजना प्रमुख रवि धमलाले खुशी व्यक्त गरे ।
आईसी स्कूल अफ आर्ट एण्ड फेसनका विद्यार्थी डिजाइनरहरुको विविधता युक्त सुन्दर, आकर्षक र मनमोहक पहिरनमा सजिएका सहभागिहरुको प्रस्तुति व्यवसायिक मोडलहरुको भन्दा कमको थिएन ।