Trending :
 

दक्षिण एसियाली योगामा नेपाल दोस्रो

बैशाख २६,२०७४

-

२६ बैशाख, काठमाडौं ।

प्रथम दक्षिण एसियाली योगा च्याम्पियनसिपमा नेपाल सोमबार दोश्रो भएको छ । नेपाल कूल २६ अंकसहित उपविजेता बनेको हो । पहिलो भएको भारतले ५९ अंक बटुल्यो भने तेश्रो स्थानमा चित्त बुझाएको बंगलादेशले ५ अंक प्राप्त गर्‍यो ।

नेपाल योग खेलकुद संघद्वारा आयोजित प्रतियोगिताको ८-१२ वर्ष उमेरसमूह अन्तर्गत महिला टिममा भारत पहिलो र नेपाल दोश्रो भयो । ८-१२ वर्षको महिला व्यक्तिगतमा भारतकी स्देहना पुरकैत पहिलो, भारतकै कादम्भोरी उपाध्याय दोश्रो तथा नेपालका मनीषा गुरुङ र पुष्पा विके तेश्रो भए । ८-१२ वर्षको पुरुष व्यक्तिगतमा बंगलादेशका रोहन तस्रिकले स्वर्ण, नेपालका बुद्ध तामाङले रजत तथा नेपालका निकेश ज्योति र आशिष मर्सानीले कांस्य जिते । ८-१२ वर्षको पुरुष टिममा भारत पहिलो भयो भने दोश्रो र स्थान नेपालले हासिल गर्‍यो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताअन्तर्गत १२-१४ वर्षको पुरुष व्यक्तिगतमा भारतका संकल्प मइतीले स्वर्ण, भारतका सिद्धार्थ दाहारिया दोश्रो तथा भारतका अभि गुप्ता र नेपालका छिरिङ लामा तेश्रो भए । १२-१४ वर्षको महिला व्यक्तिगतमा भारतकी चन्दाश्री साहु पहिलो, भारतकी अंकिता दास दोश्रो तथा भारतकी पद्यमाश्री मोहन्ती र बंगलादेशका रुफइदा ताजमिम तेश्रो स्थानमा रहे । १२-१४ वर्षको महिला टिममा भारतले शीर्ष स्थान कब्जा गर्‍यो भने नेपालले दोश्रो स्थान हात पार्‍यो ।

१४-१८ वर्षको पुरुष व्यक्तिगतमा भारतका अयान दास पहिलो, नेपालका रोशन खनाल दोश्रो र नेपालका धनप्रसाद तेश्रो भए । १४-१८ वर्षको पुरुष टिममा भारतले पहिलो र दोश्रो स्थान प्राप्त गर्‍यो भने नेपालले तेश्रो स्थानमा चित्त बुझायो । १४-१८ वर्षको महिला व्यक्तिगत स्पर्धामा भारतका खेलाडीले शीर्ष तीन स्थानको उपाधि हात पारे । अनुप्रभा दास पहिलो, पि्रया जन दोश्रो तथा तान्या चोधन र आचल शर्मा तेश्रो भए । १४-१८ वर्षको महिला टिममा भारतले स्वर्ण तथा नेपालले रजत हात पारे ।

१८ वर्षमाथि पुरुष व्यक्तिगतमा इन्द्रजीत रोय पहिलो, रविन्द्र माली र आयुश वर्मा तेश्रो भए । सबै खेलाडी भारतका हुन् । १८ वर्षमाथि पुरुष टिममा भारत पहिलो र नेपाल दोश्रो भयो । १८ वर्षमाथि महिला व्यक्तिगत इभेन्टमा भारतकी सोनिया कमिला पहिलो, भारतकी निशा भास्वानी दोश्रो तथा बंगलादेशकी फर्दुसी अक्तर औपी र भारतकी सपना अदित तेश्रो भए । १८ वर्षमाथि महिला टिममा भारत पहिलो र नेपाल दोश्रो भए ।