मेस्सीको करियरको ४८ औँ ह्याट्रिक
बार्सिलोनासँग आइन्डहोभन ४–० ले पराजित
-
असोज ३, २०७५ एजेन्सी ।
लियोनेल मेस्सीले आफ्नो करियरको ४८ औँ ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले डच च्याम्पियन पिएसभी आइन्डहोभनलाई ४–० को विशाल अन्तरले पराजित गरेको छ ।
च्याम्पियन्स लिग अन्तरगत समूह बीको पहिलो खेलमा बार्सिलोनाका कप्तानले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा अग्रता दिलाए ।
खेलको दोस्रो हाफमा ओसमान डेम्बेलेले बार्सिलोनाको दोब्बर बनाए ।
लगत्तै मेस्सीले इभान र्याकिटिचको एरियल पासलाई भली गर्दै बार्सिलोनाको तेस्रो गोल गरे ।
त्यसपछि सामुयल उमटिटीले दोस्रो पहेँलो कार्ड खाँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो ।
तर, एक खेलाडी कम भएर पनि मेस्सीले १५ यार्ड टाढाबाट गोल गर्दै बार्सिलोनाको चौँथो तथा आफ्नो व्यक्तिगत तेस्रो गोल पूरा गरे ।
आन्द्रेस इनियेस्टाको बिदाईसँगै बार्साको कप्तानको जिम्मेवारी पाएका मेस्सीले यो सिजन पछिल्ला ६ खेलमा सात गोल गरेका छन् ।
योसँगै च्याम्पियन्स लिगमा उनले आठ ह्याट्रिकसहित १०४ गोल गरेका छन् । उनले लगातार १४ औँ च्याम्पियन्स लिगको प्रतियोगितामा गोल गर्न सफल भएका छन् ।
एजेन्सी