Trending :
 

काभानाघले गल्ती गरेको जस्तो मलाई लाग्दैन : डोनाल्ड ट्रम्प

आश्विन ०४,२०७५

-

४ असोज २०७५ काठमाण्डौ l
 
वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा मनोनयन गरिएका ब्रेट काभानाघमाथि एक महिलाले लगाएको यौन शोषणको आरोपमा सत्यता रहेजस्तो आफूलाई नलागेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
 
राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका लागि ब्रेट काभानाघलाई सिफारिस गरेका छन् र उनका सम्बन्धमा अमेरिकी सिनेटको न्यायिक समितिमा हप्तौंदेखि सुनुवाइ भइरहेको छ । आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावअघि नै न्यायाधीश नियुक्ति गरिसक्ने राष्ट्रपति ट्रम्पको योजनामा यस प्रकरणले ठूलो समस्या निम्त्याइरहेको छ ।   
 
आरोप लगाउने महिलाले यौन शोषणका सम्बन्धमा विश्वसनीय आधार प्रस्तुत गर्न सके “हामीले निर्णय गर्नुपर्ने हुन्छ”, राष्ट्रपतिले भनेका छन् ।
 
ट्रम्पले काभानाघ एकजना कुशल व्यक्ति रहेको बताउँदै उनीबाट कुनै विपरीत कार्य होला भन्ने अनुमान गर्न पनि नसकिने बताए ।
 
काभानाघका सम्बन्धमा न्यायिक समितिमा सोमबार सुनुवाइ हुँदैछ । समितिको बैठकमा काभानाघ र यौन शोषण भएको भन्दै खुला चुनौती दिने क्यालिफोर्निया कलेजका प्राध्यापक क्रिस्टाइन ब्लासी फोर्डलाई आआफ्ना तर्क प्रस्तुत गर्न आमन्त्रण गरिएको छ । 
फोर्डको भनाइमा मदिरा सेवन गरेका काभानाघले केही दशकअघि आफूमाथि आक्रमण गरेको आरोप छ ।
 
फोर्डका कानुन व्यवसायीहरुले समितिमा बयान लिनुअघि अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) लाई अनुसन्धान गर्न दिनुपर्ने आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपतिकी उम्मेदवार रहिसकेकी हिलारी क्लिन्टनले ह्वाइट हाउसले एफबीआईलाई यौन शोषणका सम्बन्धमा जाँचका लागि आदेश दिनुपर्ने बताएकी छन् । रासस/एपी