निष्क्रमण संस्कार, महत्व एवं परिचय !

आश्विन ०४,२०७५

-माधव प्रसाद गर्तौला

४ असोज २०७५ काठमाण्डौ l 

 

(६)  निष्क्रमण संस्कार

 

हिन्दू धर्म संस्कारहरुमा  निष्क्रमण संस्कार षष्ठम संस्कार हो । निष्क्रमणको अर्थ हो- बाहिर निकाल्नु l शिशुलाई पहिलो पटक जब घरबाट बाहिर निकालिन्छ, त्यस समय निष्क्रमण संस्कार गराइन्छ l यस संस्कारको उद्येश्य शिशुको स्वास्थ्य तथा आयुको वृद्धि बताइको छ, यथा-

 

निष्क्रमणादायुषो वृद्धिरप्युद्दिष्टा मनीषिभिः l

अर्थात् विद्वान मनिषीहरुले निष्क्रमण संस्कारद्वारा शिशुको आयुवृद्धि हुन्छ भनेर भन्नुभएको छ l

 

शिशुको जन्म भएको चौथौं महिनामा यो संस्कार गरिने परंपरा रहेको पाइन्छ l

 

ततस्तृतीये मासि कर्तव्यं शिशोर्सूर्यस्य दर्शनम्‌ ।

चतुर्थे मासि कर्तव्यं शिशोश्चन्द्रस्य दर्शनम्‌ l l

 

यस संस्कारमा नवजात शिशुलाई चन्द्रमा, सूर्य, पृथ्वी, लगायत समस्त प्रकृतिको दर्शन गराइन्छ । शिशुलाई भगवान् सूर्यको तेज, चन्द्रमाको शीतलता र पृथ्वीको सहनशीलताको परिकल्पना गर्दै देवी-देवताहरुको दर्शन गराउनुका साथै दीर्घ एवं यशस्वी जीवनको लागि आशीर्वाद प्रदान गर्नु यसको महत्त्वपूर्ण पक्ष हो । वैज्ञानिक हिसाबले पनि नवजात शिशुको शरीर चार महिनासम्म बाहिरी वातावरण सँग अनुकूल हुँदैन यसर्थ तीन महिनासम्म सावधानीपूर्वक घर भित्रै राखेर बिस्तारै-बिस्तारै बाहिरी वातावरणको सम्पर्कमा ल्याउनु उचित हुने हुँदा यस संस्कारको प्रावधान रहेको हो ।

 

ततस्त्वलंकृता धात्री बालकादाय पूजितम्‌ l

बहिर्निष्कासयेद्‌ गेहात्‌ शङ्‌ख पुण्याहनिः स्वनैः l

 

अर्थात् शिशुकी आमा अलंकारयुक्त पवित्र भई देवी-देवताहरुको पूजन गरि शंख, घण्ट आदि मंगलध्वनि गर्दै शिशुलाई बाहिर लिएर आउनु l

 

जब शिशुको ज्ञान एवं कर्मेन्द्रियहरु सशक्त भएर जागतिक आघातहरु सहनसक्ने हुन्छन् त्यस बखत यस संस्कारलाई गरिने गरिन्छ l सूर्य, चन्द्रआदि देवताहरुको पूजन गरेर शिशुलाई जागतिक संपर्कमा ल्याउनु यस संस्कारको मुख्य उद्येश्य हो l

 

अप्रमत्तं प्रमत्तं वा दिवारात्रावथापि वा l

रक्षन्तु सततं सर्वे देवाः शक्र पुरोगमाः l l

चन्द्रार्कयोर्दिगीशानां दिशाञ्च गगनस्य च ।

निक्षेपार्थमिमं दद्मि ते मे रक्षन्तु बालकम्  l l

 

किनकि शिशुको शरीर पंचभूत (पृथ्वी, जल, तेज, वायु, आकाश) द्वारा निर्मित हुन्छ त्यसैले शिशुको कल्याणको कामना गर्दै भनिन्छ कि हे शिशो ! तिम्रो निष्क्रमण (घरबाट पहिलो पटक बाहिर आउँदा) को समय भूलोक (पृथ्वी) तथा भुवर्लोक (अन्तरिक्ष) कल्याणकारी सुखद एवं शोभास्पद होस् l सूर्यले तिम्रो अज्ञानरूपी अंधकार नष्ट गरि ज्ञानरूपी प्रकाश प्रदान गरून्, चंद्रमाले तिमीलाई कोमलता, शीतलता, शान्ति, स्नेह, प्रेम आदि गुणले युक्त गरून् l तिम्रो हृदयमा स्वच्छ वायुले चिरकालसम्म संचरण गरून् l दिव्य जलवाली गंगा, यमुना, गण्डकी आदि नदीहरुले तिम्रो लागि निर्मल स्वादिष्ट जलवहन गरून् आदि l यस्तै प्रकारले शिशुको मंगलकामना गरि आशिर्वाद प्रदान गरिन्छ l   

 

शिवे ते स्तां द्यावापृथिवी असंतापे अभिश्रियौ l शं ते सूर्य

आतपतु शं वातो ते हृदी । शिवा अभिक्षरन्तु त्वापो दिव्यः पयस्वतीः l l

नामकरण संस्कार, महत्व एवं परिचय !