गाईको पनि हिन्दु परम्परा अनुसार मानिसको जस्तै गरियो दाह संस्कार !

आश्विन ०४,२०७५

-

४ असोज २०७५ काठमाण्डौ l
 
पाल्पा । करिव १५ दिन पहिले ट्याक्टरको ठक्करबाट घाइते भएको एउटा गाइ तानसेनको टुडिखेलमा मृत्यु भएपछि त्यसलाई हिन्दु परम्परा अनुसार मृत्यु संस्कार अर्थात दाह संस्कार गरिएको छ ।
 
मानिसको मृत्यु जस्तै गरी मृत गाइको विश्व हिन्दु महासंघ पाल्पाको अगुवाइमा अन्तिम संस्कार गरिएको हो । घाइते गाइको पशु चिकित्सकको निगरानीमा उपचार गर्दागर्दैैै मृत्यु भएपछि मृतक गाईलाई नुहाइदिनुका साथै फूलमाला लगाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो। उपस्थित सबै मानिसले पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए।
 
नेपालको राष्ट्रिय जनावरको रूपमा लिइने मृतक गाइलाइ हरेराम लेखिएका पहेँलो बस्त्रले ढाकिएको थियो। गाईको महत्वको बारेमा सन्देश दिनको लागि विधिवत् रुपमा मृतक गाईको दाहसंस्कार गरिएको विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य शंकर गिरीले बताए। उनका अनुसार हिन्दु धर्म मान्नेहरूका लागि महत्वपूर्ण मानिने र बहुगुणी रहेको गाईलाई पछिल्लो समयमा स्याहार गर्न छोडेको भन्दै गाईको महत्वबारे जानकारी दिनको लागि हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको हो ।
 
उनका अनुसार आदिम कालको सृष्टिमा गाईलाई लक्ष्मीको रूप मानेर पूजा गर्न थालिएको थियो। अहिलेपनि पूजा गर्ने चलन छ उनले थपे गाईको गोबर, मुत्र, दूध मानिसको जन्म तथा मृत्यु सबै संस्कारमा आध्यात्मिक हिसाबले प्रयोग गरिन्छ ।
 
पछिल्लो समय गाइ पाल्ने चलन हराउदै गएको र गाइबाट उत्पादन लिएपछि यसलाई वेवारिसे अवस्थामा सडकमा छाडिदै आइएको पाइन्छ ।