शिवलिंगमा चढाएको प्रसाद ग्रहण गर्नुहुन्छ कि हुँदैन ?

आश्विन ०४,२०७५

-

४ असोज २०७५ काठमाण्डौ l
 
 
शिवपुराणका अनुसार शिवजीलाई चढाएको प्रसाद ग्रहण गर्दा व्यक्तिका समस्त पाप मेटिन्छन् । तर वैष्णव लगायतका केही सम्प्रदायमा शिवलिंगमा चढाएको प्रसाद ग्रहण नगर्ने मान्यता छ । 
 
 
भूतप्रेतहरूको गणको प्रधान मानिने चण्डेश्वर भगवान् शिवको मुखबाट प्रकट भएको हो र ऊ सधैं शिवजीको आराधनामा लीन रहन्छ । शिवलिंगमा चढाएको प्रसाद उसकै भागमा पुग्छ । कसैले यो प्रसाद खाएमा भूतप्रेतको अंश ग्रहण गरेको ठहर्छ । यसै कारण शिवलिंगमा चढाएको प्रसाद नैवेद्य खान मनाही छ ।
 
शिवपुराणको विद्येश्वरसंहिताको बाईसौं अध्यायमा एउटा श्लोक छ-
 
 
चण्डाधिकारो यत्रास्ति तद्भोक्तव्यं न मानवैः ।
चण्डाधिकारो नो यत्र भोक्तव्यं तच्च भक्तितः ।।
 
 
अर्थात् चण्डको अधिकार भएको शिवलिंगमा अर्पित प्रसाद मनुष्यहरूले ग्रहण गर्नुहुँदैन । तर चण्डको अधिकारमा नभएको शिवजीलाई अर्पित प्रसाद ग्रहण गर्न सकिन्छ । 
 
शास्त्रीय मान्यताअनुसार, शिवलिंगको प्रसाद ग्रहण गर्नु नगर्नुमा शिवलिंग कुन धातु वा पदार्थबाट बनेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । सामान्य माटो, ढुंगा वा चिनियाँ माटोबाट बनेको शिवलिंगमा चढाएको भोग प्रसादका रूपमा ग्रहण गर्नुहुँदैन । 
 
तर शिवलिंग धातु, नर्मदाको तटमा पाइने पत्थर वाणलिंग वा पारोबाट बनेको छ भने त्यसमा चढाएको प्रसाद ग्रहणीय हुन्छ । यो चण्डेश्वरको अंश नभएर महादेवको भाग भएकाले यसलाई ग्रहण गर्दा व्यक्ति दोषमुक्त मात्र नभई उसको जीवनको बाधा पनि नष्ट हुन्छ । 
 
यसबाहेक कुनै शिवलिंगलाई शालिग्रामका साथ पूजा गरिन्छ भने जुन पदार्थबाट बनेको भएपनि त्यसमा समर्पित प्रसाद दोषमुक्त हुन्छ र ग्रहण गर्न सकिन्छ । शिवजीको साकार मूर्तिमा चढाइएको प्रसाद पनि पूर्ण रूपमा ग्रहणीय हुन्छ र व्यक्तिलाई शिवकृपा प्राप्त हुन्छ । 
 
स्वयम्भू लिंग अर्थात् भक्तहरूको कल्याणका लागि स्वयं प्रकट भएका सबै शिवलिंगमा चढाएको प्रसाद ग्रहणीय हुन्छ । अर्थात् पशुपतिनाथमा चढाएको प्रसाद अवश्य नै ग्रहण गर्नुपर्छ । यो प्रसाद लिने व्यक्तिका समस्त पाप नाश हुन्छन् । 
 
सिद्ध गरिएका शिवलिंग अनि शिवतन्त्रको दीक्षा लिएका शिवभक्तले शिवलिंगमा चढाएको प्रसाद ग्रहण गर्न सकिन्छ । 
 
ग्रहण गर्न नमिल्ने भनिएका प्रसाद पनि त्यत्तिकै मिल्काउन हुँदैन, त्यसो गर्दा पाप लाग्छ । त्यस्ता प्रसादलाई नदी वा अन्य जलमा प्रवाहित गरिदिनुपर्छ ।