Trending :
 

अन्नप्राशन संस्कार, महत्व एवं परिचय !

आश्विन ०५,२०७५

-माधव प्रसाद गर्तौला

५ असोज, २०७५ काठमाण्डौ l

(७) अन्नप्राशन संस्कार

हिन्दू धर्मसंस्कारहरुमा अन्नप्राशन संस्कार सप्तम संस्कार हो l यस संस्कारमा शिशुलाई अन्न ग्रहण गराइन्छ l अहिलेसम्म त शिशुले आमाकै दुग्धपान गरेर पुष्ट भैरहेको थियो, अब यसपछि भने शिशुले स्वयं अन्न ग्रहण गरेर नै आफ्नो शरीरलाई पुष्टिप्रदान गर्नुपर्ने हुन्छ l किनकि प्राकृतिक नियम सबैका लागि यहिनै रहेको छ l अब शिशुलाई परावलम्बी नभएर बिस्तारै-बिस्तारै स्वावलम्बी हुनुपर्छ l केवल यति मात्रै होइन, भविष्यमा गएर आफ्नो तथा परिवारको पनि भरण-पोषणको दायित्व संहाल्नुपर्ने हुन्छ l यहि नै यस संस्कारको तात्पर्य हो l शिशुजन्मिएको छैठौं महिनामा अन्नप्राशन संस्कार गरिन्छ-

 

चतुर्थे मासि कर्तव्यं शिशोर्निष्क्रमणं गृहात् l

षष्ठेऽन्नाप्राशनं मासि यद्येष्टंं मङ्गलं कुले l l (मनुस्मृति २/३६)

 

यस्तै देवर्षि नारदले पनि आफ्नो ग्रंथ नारद संहितामा भनेका छन्-

 

जन्मतो मासि षष्ठे स्यात् सौरेणोत्तममन्नदम्‌ l

तदभावेऽष्टमे मासे नवमे दशमेऽपि वा l l

 

साथै वीरमित्रले पनि वीरमित्रोदय नामक ग्रंथमा यसरि उल्लेख गरेका छन्-

 

द्वादशे वापि कुर्वीत प्रथमान्नाशनं परम्‌ l

संवत्सरे वा सम्पूर्णे केचिदिच्छन्ति पण्डिताः l l

 

अर्थात् छैठौं महिनामा शिशुलाई अन्न खुवाउनु, या जस्तो आफ्नो कुल-परंपरामा चलिआएको छ त्यस्तै गर्नु l शास्त्रमा अन्नलाई प्राणीहरुको प्राण भनिएको छ l गीतमा पनि भनिएको छ कि अन्नले नै प्राणीहरु जीवित रहन्छन् l अन्नले नै मन बन्दछ l यसैले अन्नको जीवनमा सर्वाधिक महत्व रहेको छ l

 

आमाको गर्भमा मलिन भोजनको जुन दोष शिशुमा आउँछ त्यहि दोष निवारणार्थ र शुद्ध भोजन गराउने प्रक्रियालाई नै अन्नप्राशन संस्कार भनिन्छ- अन्नाशनान्मातृगर्भे मलाशाद्यपि शुद्धयति l l शिशुलाई पाँच-छ महिनाको अवस्थामा पेय पदार्थ, दूधआदि अतिरिक्त पदार्थ प्रथम पटक यज्ञआदि गरेर अन्न खुवाउन प्रारंभ गरिन्छ l शुद्ध एवं सात्विक, पौष्टिक अन्नले नै शरीर र मन स्वस्थ हुन्छन् तथा स्वस्थ मन नै ईश्वरानुभुती गर्ने एकमात्र साधन हो l

 

आहारशुद्धौ सत्त्वशुद्धिः सत्त्वशुद्धौ ध्रुवा स्मृतिः l

स्मृतिलम्भे सर्वग्रन्थीनां विप्रमोक्षः l l

 

अर्थात् शुद्ध आहारले शरीरमा सत्वगुणको वृद्धि हुन्छ, सत्वगुणको वृद्धि भएपछि स्मृति (विवेक, चेतना) स्थिर हुन्छ, चेतना स्थिर भएपछि सम्पूर्ण अज्ञानरूपी ग्रंथि नष्ट भई व्यक्ति मुक्त हुन्छ l

 

अन्नले केवल शरीरको मात्रै पोषण हुँदैन अपितुमन, बुद्धि, तेज या आत्माको पनि पोषण हुन्छ l यसै कारण अन्नप्राशनलाई संस्कारको रूपमा स्वीकार गरि शुद्ध, सात्विक एवं पौष्टिक अन्नलाई नै जीवनमा ग्रहण गर्ने व्रत हेतु अन्नप्रशन संस्कार सम्पन्न गरिन्छ l अन्नप्राशन संस्कारको उद्येश्य शिशुलाई तेजस्वी, बलशाली एवं मेधावी बनाउनु हो, यसैले शिशुलाई घृतयुक्त भात या दही, मह आदि मिलाएर अन्नप्राशन गराउने विधान छ l छ महिनापछि शिशुले हलुका अन्न पचाउन समर्थ हुन्छ, अतः अन्नप्राशन संस्कार छैठौं महिनामा गर्नुपर्छ l यस समयमा यस्तो अन्न दिइन्छ, जुन पचाउनमा सजिलो र बल प्रदान गर्नेवाला हुन्छ l

 

छ-सात महिनापछि शिशुको दांत निस्कन थाल्छ र पाचनतंत्र पनि प्रबल हुँदै जान्छ l यस्तोमा उसले जस्तो अन्न खान प्रारम्भ गर्छ, उसै अनुरुप उसको तन-मन निर्मित हुन थाल्छ l मनुष्यको विचार, भावना, आकांक्षा एवं अंतरात्मा अधिकांशरूपले अन्नमा नै निर्भर हुनेगर्छ l अन्नबाटै जीवनतत्व मिल्दछ, जसले रगत, मासुआदि बनेर जीवन धारण गरिरहने क्षमता उत्पन्न हुन्छ l

 

शास्त्रमा खाद्यपदार्थ देवताहरुलाई निवेदित गरेर अन्न ग्राहण गर्ने विधान रहेको छ l यस संस्कारमा शुभमुहूर्तमा देवताहरुको पूजन गरेपश्चात् शिशुको मत-पिताले चाँदीको चम्चाले खीरआदि पवित्र र पुष्टिकारक अन्न शिशुलाई खुवाउँछन् र निम्नलिखित मन्त्रोच्चारण गर्दछन्-

 

शिवौ ते स्तां व्रीहियवाबलासावदोमधौ l

तौ यक्ष्मं वि बाधेते एतौ मुंचतो अंहसः l l

यो पनि पढ्नुहोस्- निष्क्रमण संस्कार, महत्व एवं परिचय !