पुत्र लवकुशले आफ्नै पिता रामलाई दिएका थिए चुनौती !

आश्विन ०५,२०७५

-

५ असोज २०७५ काठमाण्डौ l
 
 
भगवती सीता रामायणकी आदर्श पात्रा हुन् । उनी पतिव्रता मात्रै थिइनन् अपितु आफूभन्दा सानालाई प्रेम र स्नेह गर्थिन् भने आफुभन्दा माथिका सबैलाई आदार-सम्मान गर्ने गर्थिन् । आफ्ना देवरहरु सबैलाई आफ्नै संतान झैं माया गर्थिन् l लंकाको राजा रावणले छल गरि अपहरण गरेर लंका लगिएकी सीतालाई रामले युद्धमा रावणको वध गरेर सीतालाई मुक्त गराए तथा चौध वर्ष वनवास समाप्त भएपछि अयोध्याको चक्रवर्ती सम्राट बने ।
 
 
अयोध्याका जनताले रावणले अपहरण गरेर लंका लगेर राखेकी सीताको चरित्रमाथि प्रश्न उठाएपछि रामले जनभावनाको कदर गर्दै सीतालाई वनवास पठाउने निर्णय गरे । त्यतिबेला सीता गर्भवती थिइन् । वनवासमा रहँदा सीता वाल्मिकी ऋषिको आश्रममा बस्थिन् र वनवासमै दुई जुम्ल्याहा सन्तान भए, जसको नाम लव र कुश राखियो । लवकुशलाई वाल्मिकी ऋषिले शिक्षा-दिक्षा दिए तथा विभिन्न शस्त्र-अस्त्रको अभ्यास पनि गराए ।
 
 
अयोध्याका राजा रामले अश्वमेध यज्ञको निम्ति स्वतंत्र घोडा छोडेका थिए जसको निधारमा लेखिएको थियो 'यदि यो घोडालाई कसैले समातेमा त्यसलाई युद्धको लागी चुनौती दिएको ठहरिनेछ र अयोध्याका सेनासँग लडाई गर्नुपर्नेछ' । जब त्यो घोडा लवकुश रहेको वनमा पुग्यो उनीहरुले घोडाको निधारमा लेखिएको चुनौती पढे तथा घोडालाई आफ्नो नियन्त्रणमा लिए । घोडालाई नियन्त्रणमा लिएको खबरसँगै अयोध्याका सेना, रामका भाईहरु भरत, शत्रुघ्न, लक्ष्मण र हनुमान समेत उक्त घोडा छुटाउन आए तर लवकुशले ती सबैलाई पराजित गरे । अन्तिममा राजाराम आफैं आएर लवकुशलाई घोडा छोडिदिन आग्रह गरे । तर लवकुशले उक्त घोडा छोड्न मानेनन् र लडाईमा जितेर लैजान चुनौती दिए ।
 
 
केहि गर्दा पनि लवकुशले घोडा छोड्न नमानेपछि रामले बाध्य भएर आफ्नै सन्तान (रामले उनीहरुलाई चिनेका थिएनन्) माथि हथियार उठाउन खोज्दा वाल्मिकी ऋषि आएर युद्ध हुनबाट रोके । लवकुशले अयोध्याका सारा सेनालाई पराजित गरेको र राम स्वयं युद्ध गर्न आएको खबर आफ्नी आमा सीतालाई गएर सुनाए ।साना छोराहरु लवकुशको यस्तो कुरा सुनेर सीता दुखी भएर रुन थालिन् र लवकुशले आफ्नै बाबु राम र आफ्ना काकाहरुमाथि हथियार उठाएर राम्रो नगरेको भनिन् । सीताको कुरा सुनेर लवकुश पनि दुखी भएर अन्जानमा गल्ती गरेको भन्दै आमा सीतासँग माफी मागे ।
 
 
लवकुशले राजा रामले बिना गल्ती वनवास पठाएका सीता आफ्नै आमा र राम आफ्नै बाबु हुन् भन्ने थाहाँ पाएपछि रुन थाले । वाल्मिकी ऋषिले लवकुशलाई अयोध्यावासीलाई आफ्नी आमाको पवित्र आँचलमाथि निन्दाको धब्बा किन लगाएको भनेर प्रश्न सोध्नुपर्ने र घर-घरमा गएर सीताको करुण कथा सुनाएर आफ्नी आमाको पवित्र आँचलमाथी लागेको धब्बा अयोध्याका जनताको आँसुले धुनुपर्ने र अयोध्याबासीको मनमा सीताको संमान फेरी स्थापित गर्न आदेश दिए ।