आर्थिक प्रसङ्ग
बैशाख २६,२०७४
-
२६,वैशाख,सुनसरी-
औद्योगिक करिडोरका उद्योगले आफ्नो उत्पादन क्षमता बढाउन यस आर्थिक वर्षमा थप लगानी गर्ने भएका छन् I २ सय करोड बराबरको लगानी थप गर्ने योजना रहेको उद्योगीले जनाएका छन् ।
पूर्व क्षेत्रको यस करिडोरमा मझौला र ठूला गरी करिब ६ सय उद्योग रहेको उद्योग संगठन मोरङको तथ्यांक छ । संगठनसँग आवद्ध नभएका अन्य उद्योगसमेत भएको हुँदा यो तथ्यांकभन्दा बढी नै हुन सक्छन् ।
यस करिडोरमा रड, सिमेन्ट, जस्तापाता, चाउचाउ, जुट, कपडा, खाद्यान्नलगायत उद्योग स्थापित छन् । पूर्व क्षेत्रमै २ सय करोडभन्दा बढी रकम लगानी हुनु सुखद् रहेको धेरैको तर्क छ ।
मुलुकभित्र सञ्चालनमा रहेका उद्योगले उत्पादन क्षमता बढाउँदै जाँदा देश अर्थतन्त्रमा आत्मनिर्भरताको बाटोमा अग्रसर भएको संकेत गर्छ भने देशभित्र रोजगारीका अवसरसमेत बढेर जान्छ । यसले विदेशिने युवाशक्तिलाई स्वदेशमै रोक्छ र मुलुक युवाविहीन पनि हुनु पर्दैन भन्ने आशा गरिएको छ।
त्यस्तै उद्योग संगठन मोरङ सचिवालय प्रमुख सोम अधिकारीले मुलुकभित्र थप लगानी भित्रिनु सुखद् रहेको बताए । ‘मुलुकको वातावरण लगानीमैत्री छैन भन्ने भ्रमलाई यसले चिर्छ,’ अधिकारीले भने, ‘यसरी लागनीमैत्री वातावरण बन्दा पुराना व्यवसायीले त लगानी थप्छन् नै, नयाँ लगानीकर्तासमेत भित्रिन्छन् ।’ अधिकारीले पुराना लागनीकर्ताभन्दा नयाँ लगानीकर्ता भित्रिनु राम्रो पक्ष रहेको बताए ।
प्रमुख समाचार