‘ठग्स अफ हिन्दुस्तान’ मा अमिताभ बच्चनको ‘खुदाबक्श’ अवतार
-
७ असोज २०७५ काठमाण्डौ l
बलिउड सुपरस्टार अमिताभ बच्चन र आमिर खानको अभिनय रहेको ‘ठग्स अफ हिन्दुस्तान’ यस वर्षकै बहुप्रतीक्षित फिल्म बनेको छ । यसैबीच फिल्ममा सबैभन्दा ठूलो ‘ठग’ रहेका अमिताभको फिल्मी लुक सार्वजनिक गरिएको छ ।
एक्सन-एडभेन्चर जनराको यस फिल्मको सुटिङ शुरु भएदेखि नै अमिताभ र आमिरको लुक लिक भएको भन्दै सामाजिक सञ्जालमा कैयौं तस्वीर बाहिरिने गरेको थियो, तर हरेक पटक त्यो सही नरहेको ठहर हुन्थ्यो । यसपाली भने यशराज फिल्म्सले अफिसियल रुपमा अमिताभको फिल्मी अवतार सार्वजनिक गरेको हो ।
‘ठग्स अफ हिन्दुस्तान’ मा अमिताभ ‘खुदाबक्श’ को भूमिकामा देखिनेछन् । उनको खुदाबक्श लुक पानीजहाजमा उभिएको देखाइएको छ । रिलिज गरिएको मोशन पोस्टरको शुरुवात उडिरहेको बाजबाट हुन्छ। खुदाबक्शको लुकमा अमिताभ सेताम्मे दाह्री-जुँगासहित तथा हातमा तरबार लिएर देखिएका छन् ।
यसैबीच, फिल्मको अर्को पात्र ‘जाफिरा’को रुपमा देखिने फातिमा सना शेखको मोसन पोस्टर पनि यशराज फिल्म्सले सार्वजनिक गरेको छ ।
पोस्टरमा फातिमालाई आगोसँग खेल्दै धनुषबाणको निशाना ताकिरहेको देखाइएको छ । उनको ‘जाफिरा’ अवतारलाई आगो जस्तै तेजस्वी, जो निकै प्रतिभाशाली सेनानी र धनुषबाणबाट युद्ध गर्न माहिर भनिएको छ । आमिर खानले पनि पोस्टरको लिङ्क ट्विट गर्दै लेखेका छन्, “योद्धा ठग ! यिनको निशानाबाट बच्नू !!”
यो फिल्म लेखक फिलिप मिडोस टेलरको उपन्यास ‘कन्फेशन्स अफ अ ठग’ सन् १८३९० मा आधारित छ । फिल्मको छायांकन युरोपेली मुलुक माल्टाका साथै भारतकै राजस्थानमा गरिएको छ । ‘ठग्स अफ हिन्दुस्तान’ लाई डिजिटल रूपमा आइम्याक्स फर्म्याटमा बनाइएको छ, जुन यो प्रविधिमा बनाइएको पाँचौं भारतीय फिल्म हो । यसअघि ‘धूम ३’, ‘ब्याङब्याङ’, ‘बाहुबली २’ र ‘पद्मावत’ यो प्रविधिमा बनाइएको थियो ।
विजय कृष्ण आचार्यले निर्देशन गरेको ‘ठग्स अफ हिन्दुस्तान’ ८ नोभेम्बरमा रिलिज हुनेछ ।