आश्विन ०९,२०७५
-
९ असोज २०७५ काठमाण्डौ l
आश्विन महिना कृष्ण पक्ष प्रतिपदा देखी आश्विन शुक्ल अमावस्या सम्मलाई सोह्रश्राद्ध भनिन्छ l जुन आजबाट सुरु भयो l यसमा १६ ओटा तिथि हुन्छन् । श्राद्ध भनेको सम्मान पुर्वक गरिने सम्मान हो जुन जिवित हुंदा र मृत्यपछि पनि दिनुपर्छ l जिवित हुँदा राम्रो गर्नुपर्छ मरेपछि केही गर्नु पर्दैन भन्नु अपमानजनक कुरा हो l जुनसुकै धर्ममा पनि मृत्युपछि आफ्ना माता-पिता, नातागोता सबैलाई सम्झने संस्कार छ l हाम्रो पुर्वीय वैदिक सनातन परम्परा अनुसार मृत्युपछि पितृहरुका नाममा जल एवं पिण्ड प्रदान गर्नुपर्छ l जुन वर्षमा दुई पटक गर्नुपर्छ l जसरी हामीहरुको २४ घण्टामा दिन र रात हुन्छ त्यसैगरि पितृहरुको पनि एकवर्षमा दिन र रात हुन्छ l जसले गर्दा सोह्रश्राद्धमा दिईने दिनको र मृत्यु तिथीमा दिईने रातको एकछाक हुन आउँछ । पितृहरु दिव्यलोकबाट सोह्र श्राद्धको अवसरमा पृथ्वीलोकमा कुशे औंसीकै दिनमा कुशमा आएर बस्नुहुन्छ र सोह्रश्राद्धको अन्तिम औंसीमा पनि उहाँहरुको आगमन हुन्छ l
देखिएको वा नदेखिएको कुनैपनि आदर्श गुण, विशिष्ट कुराहरुको महत्व र शक्ति आदिबाट मनलाई प्रभावित गरी त्यसप्रति उत्पन्न हुने आदर्शपूर्ण भावना, इश्वर र धर्म आदि आफ्ना पूज्य तथा मान्यताप्रतिको सद्भाव, आस्था, निष्ठा, विशवास, भक्तिभावलाई नै श्रद्धा भनिन्छ । त्यहि मान्यता अनुसार शास्त्र तथा कुलहरुको बिधी आचरण अनुसार पितृहरुले प्राप्त गर्नेगरि श्रद्धापूर्वक गरिने कर्मलाई नै श्राद्ध भनिन्छ । हिन्दू धर्मशास्त्रमा जिवात्माहरुको ८४ लाख जुनी हुने दाबी गरिएको छ । ती जुनिहरु मध्ये सवोर्त्कृष्ट नै मानव जीवन हो । मानव जीवन उन्नत भएकै कारण मृत्यु भईसकेका जन्मदिने आमाबाबु तथा तिनपुस्ते दाजुभाई र मावली सहित समस्त पितृहरुलाई सम्झिएर तर्पण दिई पितृ कर्तव्य पुरा गरिन्छ ।
जोतिषशास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्णपक्षलाई पितृ पक्ष मानिएको छ । पितृहरुका लागि वर्षको दुई पटक श्राद्ध (पिण्डदान) गरिन्छ । जसअनुसार आश्विन कृष्णपक्ष पितृपक्षमा पर्ने तिथिका दिनमा तीन पुस्तासम्मका पितृ, मावलीतर्फ र फूपुहरुलाई समेत गरिने श्राद्धलाई महालय भनिन्छ भने एउटामात्र पितृकालागि गरिने श्राद्धलाई एकोद्दिष्ट श्राद्ध भनिन्छ । पिण्ड भनेको श्राद्धमा पितृका नाममा चढाइने भात, जौ तथा गाईको दूधबाट तयार गरिएको खिरको डल्लो हो । गाईको दूध, मह, घिउ र खुदो राखेर पिण्ड पकाइन्छ र पिण्डबटार्ने बेलामा जौ र तील पनि राखिन्छ ।
आश्विन कृष्णपक्ष प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदा मातामह श्राद्धसम्म सोह्र दिन हुने भएकोले पनि सोह्रश्राद्ध भनिएकोहो । शुक्लपक्ष तथा कृष्णपक्ष जुन तिथिमा पितृहरु दिवंगत भएपनि सोह्र श्राद्धको श्राद्ध त्यसै तिथिमा श्राद्ध गरिन्छ l जसको कुमार अवस्थामा नै मृत्यु भयो उनिहरुको पञ्चमी तिथिमा श्राद्ध गरिन्छ भने मातृहरुको श्राद्ध आश्विन महिनाको कृष्णपक्षको नवमीमा गर्दा आमाको मात्र नभई आफ्नो कुलको समस्त स्त्रीजातीको पितृहरुको उद्धार हुन्छ l
पर्व अर्थात औंसीमा गरिने श्राद्ध भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । पितृपक्षमा श्राद्ध गर्ने व्यक्तिले कपाल, नङ आदि काटेर सफा शुद्ध भई नित्य स्नान गरी सात्विक भोजन गर्दछन् । यस्तो समयमा देवकार्य र देवस्थलमा दर्शन गर्न नहुने परम्परा रहेको छ । पार्वण श्राद्ध अपरान्हमा गर्नु भनि शास्त्रहरुले निर्देश गरेको पाइन्छ ।
महालयमा यी पितृहरू कर्ताको घर–आँगनमा आउँछन् र निमन्त्रणा गरेको ब्राह्मणको शरीरमार्फत श्राद्धभूमिमा पुगी तर्पणादि जल दिएको पिण्ड प्राप्त गर्छन्। पितृ, पितामह, प्रपितामह, माता, पितामही, प्रपितामही, मातामह, प्रमातामह, वृद्ध–प्रमातामह, मातामही, प्रमातामही, वृद्ध–प्रमातामही यसैगरी काकाहरू, काकीहरू, फुपूहरू, फुपाजु र उनीहरूका छोराछोरीहरू, भाइहरू बुहारीहरू, बहिनीहरू, ज्वाइँहरू, सानिमा, ठूल्यामाहरू, उनीहरूका पति र सन्तानहरू, आफन्तजनहरू, गायत्रीगुरु, दीक्षागुरु, मन्त्रगुरु, अनन्तगुरु, पत्नीका पितामाता, साला–जेठानहरू, राजा र भीष्मपितामह सम्मका लागि जल, तर्पण र पिण्ड दिने व्यवस्था धर्मशास्त्रमा श्राद्धको विषयमा उल्लेख गरेको पाइन्छ । उनीहरूलाई श्राद्धमार्फत कृतज्ञता सम्पन्न गर्दै यी सबैबाट ऐच्छिक एवं पारलौकिक सुखको आशीर्वाद पितृहरूले दिएर जान्छन् । जस्तै याज्ञवल्क्यस्मृतिमा लेखिएको छ–
आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च ।
प्रयच्छन्ति तथा राज्यं प्रीताः नृणां पितामहाः ।।
श्राद्धको महत्त्व-
योऽनेन विधिना श्राद्धं कुर्याद्वै शान्तमानसः ।
व्यपेतकल्मषो नित्यं याति नावर्तते पुनः l l
निष्काम भावले शान्त भएर विधिपूर्वक आफ्ना पितृहरूको जसले श्राद्ध गर्दछ, पितृहरूका आशीर्वादले सबै प्रकारका पापबाट ऊ छुट्छ भने अन्त्यमा मोक्ष प्राप्त गर्दछ। उसले फेरि जन्म–मरणको भुमरीमा पर्नुपर्दैन । विधिपूर्वक श्राद्ध गर्नाले पितृहरू प्रसन्न हुन्छन् र आशीर्वाद दिएर पितृलोक फर्कन्छन् ।
श्राद्धभन्दा पुण्यदायक अर्को कुनै कार्य छैन। यसर्थ देवकार्य भन्दा पितृकार्यलाई विशेष महत्त्वका साथ सम्पादन गर्नुपर्छ। साक्षात् सम्बन्ध भएका पितृहरूको मृततिथिमा श्राद्ध तथा पिण्डदान गरिन्छ। पितृहरूको रक्त सम्बन्ध र अंश सम्बन्ध छोरा, नाति, काका, भतिजा, पत्नी, छोरी आदिमा रहेको हुन्छ। यही रक्त सम्बन्ध र अंश सम्बन्धको ऋणबाट मुक्त हुन र वंश निरन्तरताको आशीर्वाद प्राप्त गर्न पितृहरूको सम्मानमा उनीहरूको स्मरण गर्दै श्राद्ध गरिन्छ ।
आश्विन महिनाको एकादशी तथा द्वादशी तिथीमा यदि कसैको मता-पिता दाजु-भाई दिदि-बहिनिले संन्यास धारण गर्नुभएको थियो भने वहाँहरुको नाममा पनि श्राद्ध गर्नुपर्छ l चतुर्दशी तिथीमा चाहिं दुर्धटनामा परि अकालमृत्यु हुनेहरुको श्राद्ध गरिन्छ l यदि तिथी थाहा छैन भने औंशीको दिन श्राद्ध गर्नुपर्छ र मावली पट्टीका कोही छैनन् भने औंशीको भोलीपल्ट गर्नुपर्छ जसलाई मालय श्राद्धपनि भनिन्छ ।
मृत्यू भएपछि प्रेतको अवस्थामा पुगिने र त्यहाँबाट मुक्त भएपछि पितृहरुको पितृलोकमा निवास हुन्छ । पितृहरुका राजा यमराज हुन् । पुराणमा उल्लेख भए अनुसार मानिस देवऋण, ऋषिऋण र पितृऋणले बाँधिएका हुन्छन् । तर भक्तिपूर्वक श्राद्धकर्म सकेपछि मात्रै पितृऋणबाट मुक्ति पाइने विश्वास छ । पितृ रिसाएका खण्डमा देवकर्मबाट प्राप्त फलसमेत हरण हुन्छ । भारतका चारधाम लगायत नेपालमा वराहक्षेत्र, जनकपुरधाम, मुक्तिनाथ र दामोदर कुण्ड आदिमा तीर्थ गरेपछि सकुन्जेल सम्म श्राद्धकर्म समेतगर्नु पर्दछ । सोह्रश्राद्धको अन्तिम दिनलाई पितृविसर्जन गर्ने दिन भनिन्छ । सोह्रश्राद्ध सकिए लगत्तै नेपालीहरुको महान चाड बडादसैं सुरु हुन्छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार