संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय सभामा विश्वमाझ एक्लै उभिएका ट्रम्प
-
१० असोज २०७५ काठमाण्डौ l
एजेन्सी । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय बैठकमा विश्वका १२० भन्दा बढी मुलुक एकातिर थिए भने अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चाहिँ एक्लै खडा भएका थिए । ट्रम्प प्रशासनको ‘अमेरिका आफ्नै खुट्टामा उभिन सक्छ’ भन्ने यसै नीतिको प्रचारका निम्ति राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उपस्थित सबैलाई यसबारे सानो कपिसमेत बाँडेका थिए । यस्तोमा पछिल्लो समय अमेरिका र यसका मित्र राष्ट्रहरुबीचको बढ्दो दुरी पुनः देखा परेको सीएनएनले जनाएको छ । मंगलबार दोस्रो सम्बोधनको कार्यक्रममा ट्रम्पले त्यसै नीतिमा आधारित वक्तव्य पेश गर्ने बताइएको छ ।
यसरी पछिल्लो समय अन्तर्राष्ट्रिय सहमतिका मुद्दाहरुबाट बाहिरिरहेका कारण पनि अमेरिका एक्लिएको देखिएको छ । विशेषगरी युरोपेली संघको व्यापार नीतिसँग ट्रम्पको असन्तुष्टिले पनि विवादलाई ठूलो रुप दिइरहेको बताइएको छ । विश्वको प्राथमिकतामा रहेको यस विषयबारे अमेरिकी राजदूत निक्की हेले र बोल्टनले पनि चर्चा गरेका हुन् । पछिल्लो वर्षको सभामा अमेरिकाले पेरिसको जलवायु सम्झौताबाट बाहिरिएर ठूलो विवाद खडा गरेको थियो ।
त्यसैगरी यसपटक भने आप्रवासन र ईरान आणविक सम्झौतामा अमेरिका असहमत रहेको निक्कीले बताइन् । तर वास्तवमा यसबाहेक अमेरिकाले थुप्रै संघसंस्थालाई प्रदान गरिरहेको आर्थिक सहयोगमा पनि कटौति गरेको छ भने प्यासिफिक पार्टनरशीप र विश्व व्यापार संगठनबाट बाहिरिनेबारे पनि ट्रम्पले बारम्बार धम्की दिइरहेका छन् । यी संघसंस्थाहरुले वर्षौँदेखि अमेरिकाको फाइदा उठाइरहेको ट्रम्पको आरोप छ ।
यसको प्रतिक्रियामा निक्किले भनेकी छन्, “हामी बहुपक्षीय संघसंस्थासँग आबद्ध हुन समर्पित छौँ तर यसो गर्दैगर्दा हामीले अमेरिका र यसका जनताको हित विपरितका निर्णयमा भने कहिल्यै सहभागीता जनाउने छैनौँ ।”
उता ट्रम्पका आलोचकहरुले भने यसले केबल अन्तर्राष्ट्रिय समुदायमाझ ट्रम्पकै नेतृत्वमा नकारात्मक प्रभाव पारिरहेको बताउने गरेका छन् ।
तर सोमबार राज्य सचिव माइक पोम्पेओले अमेरिका विश्वव्यापी नेतृत्वलाई विवादित बनाउने पक्षमा नरहेको स्पष्ट पार्दै बरु त्यसलाई सुनिश्चित गर्न अघि बढिरहेको उल्लेख गरेका हुन् ।
तापनि ट्रम्प प्रशासनले अभूतपूर्व अस्थिरताकै समयमा आफ्नो नीति बदल्नु उचित नहुने विश्लेषकहरुको भनाइ छ । यस्तोमा १२० भन्दा बढी देशका प्रमुखहरु एकैठाउँ भेला भएको यस सभामा पहिलोपटक असहज र अनिश्चितता महसुस गरिएको बताइएको छ ।
यसमा दुई ठूला अर्थतन्त्रबीच गम्भीर बन्दै गइरहेको व्यापारिक युद्ध, मध्य पूर्वी विवाद, युरोपमा आप्रवासन संकट, अत्याधिक ऋणको समस्या, अमेरिकी राजनीतिमा रुसको हस्तक्षेप र चिनियाँ बलको चुनौती जस्ता मुद्दाले चिन्ताजनक रुप लिइरहेकाबारे गम्भीर छलफल हुने बताइएको छ ।
अमेरिकाले भने जोखिमयुक्त हतियारको कारोबार, इरान सम्झौता, उत्तर कोरियाको मानवअधिकार सम्बन्धि मुद्दा, ड्रग्स तस्करी विरुद्ध अभियानमा अन्तराष्ट्रिय चुनौति र आतङ्ककारी समुह आइएसआइएस अनि संयुक्त राष्ट्रका नियममा सुधार ल्याउने जस्ता विषयलाई प्राथमिकता दिने बताएको छ ।
तर यस सूचीमा अमेरिकाले उत्तर कोरियाको निशस्त्रीकरण अभियान र रासायनिक हतियार प्रयोगबारे चाहिँ कतै उल्लेख नगरेकोप्रति युरोपेली मुलुकहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।
त्यसैगरी विश्वका अन्य प्रमुखहमा बेलायती प्रधानमन्त्री टेरेजा मे र क्यानडाका राष्ट्रपतिले विकासोन्मुख मुलुकहरुकको आर्थिक, सामाजिक र राजनीतिक अवस्थामा सुधार ल्याउन महिला शिक्षा सम्बन्धि कार्यक्रमा सहभागी हुने बताइएको छ ।
मे भने अफ्रिकामा रोजागारी सिर्जना गर्ने र यमनको मानवअधिकार र मानव संकटको विषयमा पनि केन्द्रित रहने बताइएको छ ।
अर्कोतर्फ युरोपेली संघले चाहिँ अमेरिका बाहिरिएको पेरिस जलवायु सम्झौतामा काम गर्ने बताएको छ । त्यसैगरी आप्रवासन र शरणार्थी सम्बन्धी मुद्दाबारे अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रियामा सुधार ल्याउनेतर्फ पनि युरोपेली संघले जोड दिने बताएको छ ।