आश्विन १०,२०७५
-माधव प्रसाद गर्तौला
१० असोज २०७५ काठमाण्डौ l
(१०) यज्ञोपवीत संस्कार
हिन्दू धर्म संस्कारहरुमा उपनयन (व्रतबंध) संस्कार दशम संस्कार हो l मनुष्य जीवनमा यस संकारको विशेष महत्व छ l यस संस्कारको अनंतर नै बालकको जीवनमा भौतिक तथा आध्यात्मिक उन्नतिको मार्ग प्रशस्त हुन्छ l यसै संस्कार अंतर्गत ‘वेदारंभ संस्कार’ पनि समावेश गरिएको छ l साथै यस संस्कारलाई 'यज्ञोपवित संस्कार' पनि भनिन्छ l यस संस्कारमा वटुकलाई गायत्री मंत्रको दीक्षा एवं यज्ञोपवित (जनै) धारण गराइन्छ l विशेषगरी आ-आफ्ना शाखाअनुसार वेदाध्ययन पनि गरिन्छ l
यो संस्कार ब्राह्मण बालकको आठौं वर्षमा, क्षत्रिय बालकको एघारौं वर्षमा र वैश्य बालकको बार्हौं वर्षमा गरिन्छ l यथा-
गर्भाष्टमेऽब्दे कुर्वीत ब्राह्मणस्योपनायानम् l
गर्भादेकादशे राज्ञो गर्भात्तु द्वादशे विश: l l (मनुस्मृति २/३६)
कन्याहरुलाई भने यस संस्कारको अधिकार दिइएको छैन, केवल विवाह संस्कार नै उनिहरुका लागि द्विजत्वको रूपमा परिणत गर्नेवाला संस्कार मानिएको छ l
उपनयन को अर्थ-
उपनयनको अर्थ हो ‘सन्निकट या नजिक लैजानु’ तर कसको नजिक लैजानु ? संभवत: आरंभमा यसको तात्पर्य थियो ‘आचार्यको नजिक’ (शिक्षणको लागि) लैजानु l हुनसक्छ यसको तात्पर्य नवशिष्यलाई विद्यार्थीपनको अवस्थासम्म पुर्याईदिनु l केही गृह्यसूत्रहरुमा यसको आभास पाइन्छ, यथा हिरण्यकेशि गृह्यसूत्रको अनुसार; तब गुरुले शिष्यबाट भानाउंछ “ म ब्रह्मसूत्रलाई प्राप्त भएको छु, मलाई यसको नजिक लैजानु, सविता देवताद्वारा प्रेरित मलाई ब्रह्मचारी हुन दिनुस् l
उद्गम एवं विकास
यस संस्कारको उद्गम एवं विकासको विषयमा केही चर्चा हुन आवश्यक छ l किनकि यो संस्कार अन्य सबै संस्कारहरुमा अति महत्वपूर्ण मानिएको छ l उपनयन संस्कारको मूल भारतीय एवं ईरानी हुन् l किनकि प्राचीन जोरांस्ट्रिएन (पारसी) शास्त्रहरुको अनुसार पवित्र मेखला अधोवसन, (धोती) को संबंध आधुनिक पारसीहरुमा पनि छ l तर यस विषयमा हामी प्रवेश गर्दैनौं l
मानव एवं काठकगृह्यसूत्रकारले ‘उपनयन’ शब्दको स्थानमा ‘उपायन’ शब्दको प्रयोग गरेका छन् l काठकगृह्यसूत्रको टीकाकार आदित्यदर्शनले भनेका छन् कि उपानय, उपनयन, मौंजीबंधन, बटुकरण एवं व्रतबंध समानार्थक शब्द हुन् l ‘उपनयन’ शब्दलाई दुई प्रकारले बुझ्न सकिन्छ l
१. बच्चालाई आचार्यको सन्निकट लैजानु l
२. त्यो संस्कार या कृत्य जसको द्वारा बालक आचार्यको नजिक लगिन्छ l
पहिलो अर्थ आरंभिक हो, तर कालांतरमा जब विस्तारपूर्वक यो कृत्य गरिन थालियो तब दोस्रो अर्थ पनि प्रयुक्त हुन थाल्यो l आपस्तम्बधर्मसूत्रले दोस्रो अर्थ नै लिएको छ l उसको अनुसार उपनयन एउटा संस्कार हो जुन उसको लागि गरिन्छ, जसले विद्या सिक्न चाहन्छ; “यो यस्तो संस्कार हो जुन विद्या सिक्नेवालालाई गायत्रीमंत्र सिकायेर गरिन्छ” l स्पष्ट छ, उपनयन प्रमुखतया गायत्री-उपदेश (पवित्र गायत्रीमंत्रको उपदेश) हो l यस विषयमा जैमिनीय पनि द्रष्टव्य छ l
उपनयन संस्कारको लक्षण-
ऋग्वेदबाट थाहा पाइन्छ कि गृह्यसूत्रहरुमा वर्णित उपनयन संस्कारको केही लक्षण त्यस समयमा पनि विदित थियो l त्यहाँ एउटा युवकको समान यूप (बलिस्तंभ) को प्रशंसा गरिएको छ; “यहाँ युवक आउँदै छ, उ भलिभांति सज्जित छ (युवक मेखला द्वारा तथा युवकको यूप रशन द्वारा); उ जब उत्पन्न भयो, महत्व प्राप्त गर्दछ; हे चतुर ऋषिहरु, तपाईंहरु आ-आफ्ना हृदयमा देवताहरु प्रति श्रद्धा राख्नुहुन्छ र स्वस्थ विचारवाला हुनुहुन्छ, यस (युवक) लाई उन्नत बनाउनुहोस्” l यहाँ “उन्नयन्ति” शब्दमा जुन धातुको उपयोग गरिएको छ, त्यही धातु उपनयन शब्दमा पनि प्रयोग गरिएको छ l अधिकांश गृह्यसूत्रहरुले यस मंत्रलाई उधृत गरेका छन् l यथा- आश्वलायन, पारस्कर, तैत्तिरीय संहितामा तीन ऋणहरुको वर्णनमा ‘ब्रह्मचारी’ एवं ‘ब्रह्मचर्य’ शब्द आएका छन्- “ब्राह्मण जब जन्मिन्छ तब तिनै वर्गका व्यक्तिहरुको ऋणी हुन्छ l
उपनयन एवं ब्रह्मचर्यको लक्षणहरुमा प्रकाश वेद एवं बाह्मण साहित्यहरुमा उपलब्ध छ l अथर्ववेदको एउटा पूरा सूक्त नै ब्रह्मचारी (वैदिक छात्र) एवं ब्रह्मचर्यको विषयमा अतिशयोक्तिपूर्वक प्रशंसा गरिएको छ l
अब म सूत्र एवं स्मृतिहरुमा वर्णित उपनयन संस्कारको संक्षिप्त वर्णन गर्छु l यस विषयमा एउटा कुरा स्मरणीय छ कि यस संस्कारसंग संबंधित सबै कुरा सबै स्मृतिहरुमा पाईंदैन र उनिहरुमा विविध विषयहरुको एउटै अनुक्रममाँ वर्णन पाइन्छ l यति मात्रै होइन, वैदिक मंत्रहरुको प्रयोगको विषयमा पनि सबै सूत्र एकमत छैनन् l
आश्वलायनगृह्यसूत्रको मतमा ब्राह्मणकुमारको उपनयन गर्भाधान या जन्मदेखि लिएर आठौं वर्षमा, क्षत्रियको एघारौं वर्षमा एवं वैश्यको बार्हौं वर्षमा गरिन्छ l यतिमात्रै होइन, क्रमैले सोर्हौं, बाइसौं, चौबिसौं वर्षसम्म पनि उपनयन संस्कारको समय बनि नै रहन्छ l शांखायन, बौधायन, भारद्वाज एवं गोभिल गृह्यसूत्र, याज्ञवल्क्य तथा आपस्तंबधर्मसूत्रले स्पष्टरुपमा भन्छन् कि वर्षको गणना गर्भाधानदेखि हुनुपर्छ l यहि कुरा महाभाष्यमा पनि छ l पारस्करगृह्यसूत्रको मतमा उपनयन गर्भाधान या जन्मदेखि आठौं वर्षमा हुनुपर्छ, तर यस विषयमा कुलधर्मलाई पनि मान्यता दिनुपर्छ l याज्ञवल्क्यले पनि कुलधर्मको कुरा उठाएका छन् l
शांखायनगृह्यसूत्रले गर्भाधानदेखि आठौं, दसौं वर्ष, मानवगृह्यसूत्रले सातौं या नवौं वर्ष, काठकगृह्यसूत्रले तीनै वर्णका लागि क्रमैसंग सातौं, नवौं एवं एघारौं वर्ष स्वीकृत गरेको छ; तर यो छुट केवल क्रमले आध्यात्मिक, सैनिक एवं धनसंग्रहको महत्ताका लागि दिइएको हो l आध्यात्मिकता, आय आधिक्य एवं धनको अभिकांक्षावाला ब्राह्मण पिताका लागि पुत्रको उपनयन गर्भाधानदेखि पांचौं, आठौं एवं नवौं वर्षमा पनि गर्न सकिन्छ l जन्मदेखि आठौं, एघारौं एवं बार्हौं वर्ष क्रमैले ब्राह्मण, क्षत्रिय एवं वैश्यका लागि प्रमुख समय मानिँदै आइरहेको छ l पांचौं वर्षदेखि एघारौं वर्षसम्म ब्राह्मणका लागि गौण, नवौं वर्षदेखि सोर्हौं वर्षसम्म क्षत्रियका लागि गौण मानिएको छ l ब्राहमणहरुका लागि बार्हौं वर्षदेखि सोर्हौं वर्षसम्म गौणतर काल तथा सोर्हौं वर्ष उपरांत गौणतम काल मानिएको छ l
कालांतरका धर्मशास्त्रकारहरुले उपनयन संस्कारको लागि मास, तिथि एवं दिनहरुको विषयमा ज्योतिष संबंधी विधान धेरै विस्तारसंग प्रस्तुत गरेका छन्, जसमा यस लेखमा लेख्न उचित एवं आवश्यक छैन, तर केही सामान्य जानकारीका लागि लेख्न आवश्यक छ किनकि आजकल यिनै विधान मान्य छ l वृद्धगार्ग्यले लेखेका छन् कि माघ महिनादेखि लिएर छ महिना उपनयनको लागि उपयुक्त छन् l तर अन्य शास्त्रकारहरुले भने माघदेखि लिएर महिना मात्रै उपयुक्त मानेका छन् l प्रतिपदा, चतुर्थी, सप्तमी, अष्टमी, नवमी, त्रयोदशी, चतुर्दशी, पूर्णिमा एवं अमावस्या तिथिहरुलाई प्राय: छोड्ने गरिन्छ l
उपनयन विधि-
आश्वलायनगृह्यसूत्रमा उपनयन संस्कारको संक्षिप्त विवरण दिइएको छ, जुन चाहिं पठनीय छ l स्थानाभावको कारण त्यो वर्णन यहाँ उपस्थित गर्न सकिंदैन l उपनयन-विधिको विस्तार आपस्तम्बगृह्यसूत्र, हिरण्यकेशिगृह्यसूत्र एवं गोभिलगृह्यसूत्रमा पाइन्छ l केही कुरा यहाँ दिइंदै छ l जसमा मतैक्य एवं मतांतरमा केही प्रकाश होस् l आश्वलायन एवं आपस्तम्ब तथा केही अन्य सूत्रकारहरुले यज्ञोपवीतको बारेमा केहीपनि लेखेका छैनन् l तर हिरण्यकेशि, भारद्वाजगृह्यसूत्र एवं मानवगृह्यसूत्रले यज्ञोपवीत धारण गर्न बताएका छन् l बौधायनगृह्यसूत्रको भनाई छ कि यज्ञोपवीत पाएको उपारांत नै बटुकले-
'यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात् ।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज: l l
नामक अति प्रसिद्ध मंत्रको उच्चारण गर्दछ, पवित्र जनैलाई “यज्ञोपवीतं” मंत्रको साथ तथा कृष्ण (कालो) मृगचर्मलाई “मित्रस्य चक्षु:” भनेर दिन्छ l यही कुरा संस्कारतत्वमा पनि पाइन्छ l संस्काररत्नमालाकारले हवनपूर्व नै यज्ञोपवीत (जनै) लगाउनकोलागि भनेका छन् l
पारस्करगृह्यसूत्र, भारद्वाज, आपस्तम्बगृह्यसूत्र, आपस्तम्ब-मंत्रपाठ, बौधायनगृह्यसूत्र, मानवगृह्यसूत्र एवं खादिरको मतानुसार बटुकसंग आचार्यले उसको नाम सोध्छ र उस (बटुक) ले बताउंछ l आचार्यले उसंग यो पनि सोध्छ कि तिमी कसको ब्रह्मचारी हो ? सबै स्मृतिहरुमा यो कुरा पाइन्छ l उपनयन संस्कार तीनै वर्ण (ब्राह्मण, क्षत्रिय, वैश्य) हरुको हुन्छ l उपनयन-विधिको विषयमा धेरै भेद-विभेद छन् l जसको चर्चा गर्न यहाँ आवश्यक छैन l कालांतरका लेखकहरुले यस संकारलाई विभिन्न मंत्रहरु निर्मित गरि अत्यधिक विस्तार गरेका छन् l
यो पनि पढ्नुहोस्- कर्णवेध संस्कार, महत्व एवं परिचय !
प्रमुख समाचार
सम्वन्धित समाचार