इरान कुनै युद्ध चाहँदैन : रुहानी
-
११ असोज २०७५ काठमाण्डौ l
एजेन्सी । इरानका राष्ट्रपति हसन रुहानीले मंगलबार सम्पन्न संयुक्त राष्ट्रको अन्तराष्ट्रिय सम्मेलनमा अमेरिकी प्रतिबन्धको आलोचना गर्दै ईरानले वास्तवमै कुनै युद्ध, विवाद वा खतरा उत्पन्न गराउन नचाहेको स्पष्ट पारेका हुन् । कार्यक्रममा उनले ईरान विरुद्ध अमेरिकाले आर्थिक युद्ध सुरु गरिरहेको आरोप समेत लगाएका छन् ।
गत मे महिनामा ईरान आणविक सम्झौताबाट बाहिरिएपछि अमेरिकाले ईरानमाथि आर्थिक प्रतिबन्ध जारी गरेको हो । यसमा ईरानले निर्यात गर्ने इन्धनको कारोबारमा समेत अमेरिकाले रोक लगाएपछि तेलको मूल्य बढ्नेप्रति विश्व समुदयाले भने चिन्ता व्यक्त गर्दै आएको छ । सम्मेलनकै क्रममा फ्रान्सका राष्ट्रपति म्याक्रोनले पनि ट्रम्पलाई ईरान सम्झौताबाट पछि हट्ने निर्णय फिर्ता लिए मात्र तेलको मूल्य सन्तुलित हुने बताएका हुन् ।
तर यस मुद्दामा पहिलेपनि युरोपेली मुलुक, चीन र रुसबाट एक्लिसकेको अमेरिकाले भने आफ्नो अडान नछाड्ने बताएको छ । सो सम्झौतामा आवश्यक सुधार ल्याइएपछि मात्र आफूहरु पुनः आबद्ध हुने ट्रम्पको भनाइ छ । यस्तोमा ट्रम्पले ईरानमाथि लगाएका प्रतिबन्धहरु आगामी अगस्टदेखि नै लागू हुने तय भएको छ जसपछि विवाद झन् बढ्ने प्रति चिन्ता व्यक्त गरिएको हो ।
यसैकारण यो समस्या आउन नदिन आणविक सम्झौताको समर्थन गरिरहेका बाँकी सदस्यले अमेरिकी प्रतिबन्धको सामना गर्ने विकल्पको खोजि गरिरहेको बताएका छन् । यसमा फ्रान्स, बेलायत, जर्मनी, चीन र रुस सो सम्झौताको समर्थनमा रहँदै आएका छन् । यसै अन्र्तगत युरोपेली संघको विदेश नीतिले ईरानसँग कारोबार गर्न विशेष संस्था स्थापित गर्ने तयारी गरिरहेको बताइरहेको छ जसमार्फत युरोप लगायत अन्य विदेशी कम्पनीहरुले वैधपूर्वक ईरानसँग कारोबार गर्न पाउने बताइएको अन्तराष्ट्रिय संचार एजेन्सीले जनाएका छन् ।