Trending :
 

भारतमा अब विवाहित महिला-पुरुषले अर्कोसँग सम्बन्ध राख्न पाउने

आश्विन ११,२०७५

-

११ असोज २०७५ एजेन्सी ।
 
भारतको सर्वोच्च अदालतले विवाहेतर सम्बन्धलाई अपराध मान्न नहुने फैसला गरेको छ । यसअघि मानिदैं आएको अपराधलाई सर्वोच्च अदालतले उल्टाउँदै पुरानो कानुनलाई असंवैधानिक ठहर गरेको छ । १५८ वर्ष पुरानो अंग्रेजकालीन यो कानुनले बिहेपछि परस्त्री सम्बन्धलाई अपराध मान्दै आएको थियो ।
 
कुनै पुरुषले अर्काकी श्रीमतीसँग यौनसम्बन्ध राखे त्यसलाई 'परस्त्रीगमन' भन्दै सजाय गरिन्थ्यो । अब यो कानुनलाई अवैध ठहर गर्दै विवाहपछि अर्को महिला वा पुरुषसँग हुने सम्बन्धलाई वैध ठहर्‍याएको हो । अंग्रेजकालीन उक्त कानुनले महिला-पुरुषबीच विभेद गरको भन्दै खारेज गर्न सर्वोच्चमा रिट दायर भएको थियो।
 
यसअघि समलिंगी सम्बन्धलाई अवैध ठहर गर्ने कानुन पनि खारेज गरेको थियो । समलिंगी कानुन ११७ वर्ष पुरानो थियो । विवाहेतर सम्बन्ध अवैध ठहर गर्ने कानुन खारेजीको फैसला गर्दै सर्वोच्चका मुख्य न्यायाधीश दीपक मिश्रले भने, यो भनेको नैतिकताको विषय हो । विवाहेतर सम्बन्धलाई लिएर पतिपत्नीबीच मनमुटाव भए उनीहरू सम्बन्ध विच्छेद गराउन सक्छन् । यसलाई कानुनी अपराधका रुपमा लिनु पर्दैन ।'
 
यो कानुनले विवाहेतर सम्बन्ध राख्ने महिलाबारे भने कुनै उल्लेख नगरेको बीबीसी हिन्दीले जनाएको छ । सन् १८६० मा बनेको कानुनअनुसार विवाहेतर सम्बन्ध राख्नेलाई पाँच वर्ष जेल, जरिवाना वा दुवै सजाय हुदैं आएको थियो ।
 
यसका साथै कुनै पनि महिलाको शरीरमा उनको आफ्नो हक हुने र अरु कसैले कुनै सम्झौता गर्न नपाउने पनि प्रस्ट्याएको छ। कुनै महिलाको पति 'स्वामी' नहुने भन्दै अदालतले 'पवित्रता' भन्ने कुरा महिला र पुरुष दुवैमा लागू हुने जनाएको छ ।