Trending :
 

बेलायती राजकुमारी मेगानले गाडीबाट ओर्लिएर आफैँ ढोका लगाएपछि ठूलो विवाद उत्पन्न

आश्विन १२,२०७५

-

१२ असोज २०७५ काठमाण्डौ l 
 
 
 
बीबीसी । बेलायती राजकुमार ह्यारीकी पत्नी मेगानले मंगलबार एक कार्यक्रममा उपस्थित हुँदा गाडीबाट बाहिर निस्किएर आफैँ ढोका लगाएपछि यस विषयले ठूलो विवाद खडा गरेको छ । यसरी सर्वसाधारणका लागि यो कुरा अत्यन्तै सामान्य भएपनि राजपरिवारको सदस्य भएकाले उनका निम्ति भने अस्वभाविक मानिएकाले यसबारे अधिक चर्चा भइरहेको बताइएको छ । उनको यस्तो व्यवहारले शाही नियम उल्लंघन भएको प्रतिक्रिया समेत आएको थियो ।
 
वास्तवमा विवाहपछि पहिलोपटक एक्लै कार्यक्रममा उपस्थित हुन पुगेकी मेगानले ढोका लगाउँदै गरेको भिडियो भाइरल भएपछि यो विषयले ठूलो रुप लिएको हो । धेरैले यसबारे उनको ट्रोल समेत बनाएको पाइएको छ भने मिडियाले पनि यस मुद्दालाई अनावश्यक रुपमा ठूलो बनाइरहेको भन्दै मानिसहरुले विरोध जनाएका छन् । कतिपयले चाहिँ उनको नम्र व्यवहारको प्रशंसा गर्दै यसलाई सकारात्मक रुपमा लिएको पनि देखिएको छ । अधिकांश मानिसहरुले भने यसले कसैको जागिर जान सक्ने भन्दै व्यङ्ग्य गरेका थिए ।
 
ह्यारीसँग विवाह तय भएदेखि नै मेगान विवादित मानिदै आएकी छन् । अमेरिकी नागरिक, एक डिभोर्सी र अभिनेत्री एवम् मोडलका रुपमा परिचित भएकाले नै पहिले उनलाई राजपरिवारका निम्ति अयोग्य ठहर गरिएको थियो । तर यसअघिका सबै शाही परम्परा तोड्दै उनले गत मेमा ह्यारीसँग विवाह गरेकी हुन् । यसैले पनि अझै मानिसहरुले उनका हरेक क्रियाकलापमाथि नजर राख्ने गरेको पाइएको छ । तर विवाह अघि नै विभिन्न ठूला समारोहमा राजकुमार ह्यारीका साथ सहभागी भइ उनले आफूलाई साबित गरिसकेकी छन् । 
 
यस्तोमा उनलाई राजपरिवारका नियम र परम्पराहरु लागू गर्न अझै समय लागिरहेको बताइएको छ । तरपनि यस घटनामा भने उनीबाट कुनै नियमको उल्लंघन नभएको बताइएको हो । सामान्यतय राजपरिवारको सदस्यका लागि गाडीको ढोका खोलिदिन छुट्टै कर्मचारी राखिएको हुने तर वास्तवमा यो कुनै परम्परा वा सम्मानको विषय नभएर सुरक्षाको हिसाबले मात्र अपनाइएको बताइएको छ । तरपनि सो घटनाले सबैको ध्यान कार्यक्रममा भन्दा मेगान र गाडिको ढोकातर्फ केन्द्रित गराएकामा भने राम्रो मानिएको छैन । 
 
वास्तवमा उनका लागि ढोका खोलिदिएका व्यक्तिले अगाडि उभिएका आयोजकसँग हात मिलाउन मेगानलाई बाटो दिँदा यस्तो हुन पुगेको थियो । मेगानले साँच्चिकै पालन गर्नुपर्ने सामाजिक नियमहरु सेल्फि लिन र अटोग्राफ दिन नपाउने, भोट नहाल्ने र सामाजिक संजाल नचलाउने लगायत रहेको बताइएको छ ।