Trending :
 

केशांत संस्कार तथा समावर्तन संस्कार, महत्व एवं परिचय !

आश्विन १२,२०७५

-माधव प्रसाद गर्तौला

१२ असोज २०७५ काठमाण्डौ l 

 

(११) केशांत संस्कार एवं समावर्तन संस्कार

हिन्दू धर्म संस्कारहरुमा केशांत संस्कार एकादश संस्कार हो l बालकको प्रथम मुंडन प्राय: पहिलो या तेस्रो वर्षमा भैसक्छ l यो कुरा मैले आठौं संस्कार (चूडाकरण संस्कार) मा बताईसकेको छु l प्रथम मुंडन (चूडाकरण) को प्रयोजन केवल गर्भको कपाल खौरिनसंग संबंधित छ l त्यसपछि यस केशांत संस्कारमा पनि मुंडन गर्नुपर्ने हुन्छ l जसको कारणले बालक वेदारंभ तथा अन्य क्रिया-कर्मका लागि अधिकारी बन्न सकोस् अर्थात् वेद-वेदांत आदि अध्यात्मिक शास्त्र पढ्न तथा यज्ञादिक कार्यहरुमा पनि भाग लिन सकोस् l यसैले भनिएको पनि छ कि शास्त्रोक्त विधिले भली-भांति व्रतको आचरण गर्नेवाला ब्रह्मचारी यस केशांत संस्कारमा टाउकाको कपाल तथा श्मश्रु (दार्ही) खौरिन्छ l

 

समावर्तन संस्कार

 

हिन्दू धर्म संस्कारहरुमा समावर्तन संस्कार द्वादश संस्कार हो l प्राचीनकालमा गुरुकुलीय शिक्षा पूर्ण भएपच्चात् जब स्नातकलाई गुरुकुलबाट विदाई गरिन्थ्यो तब आगामी जीवनको लागि गुरुद्वारा उपदेश गरिन्थ्यो l यसै उपदेशलाई समावर्तन संस्कार भनिन्छ l वर्त्तमान समयमा ‘दीक्षांत समारोह’ समावर्तन संस्कारकै आधुनिक रूप हो l

 

यस संस्कारलाई विद्याध्ययन पूर्ण भएपछि गर्ने विधान रहेको छ l प्राचीन परंपरामा बार्हवर्षसम्म आचार्यकुल या गुरुकुलमा बसेर विद्याध्ययन परिसमाप्त भएपछि आचार्य स्वयंले आफ्ना शिष्यहरुका समावर्तन संस्कार गर्दथे l त्यस समय उनले आफ्ना शिष्यहरुलाई गृहस्थसंबंधी श्रुतिसम्मत केही आदर्शपूर्ण उपदेश दिएर गृहस्थाश्रममा प्रवेश गर्नका लागि प्रेरित गर्दथे l

 

शिष्यहरुलाई गुरुकुलमा बसेर जुन विद्याहरुको अध्ययन गर्नुपर्ने हुन्थ्यो ती विद्याहरु हुन् चार वेद (ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद) l वेदांतमा शिक्षा, कल्प,  व्याकरण, निरुक्त छंद एवं ज्योतिषशास्त्र l उपवेदमा धनुर्वेद, गांधर्ववेद आयुर्वेद आदि l ब्राह्मणग्रंथहरुमा शतपथब्राह्मण, ऐतरेयब्राह्मण, तांड्यब्राह्मण र गोपथब्राह्मण आदि l उपांगहरुमा पूर्वमीमांसा, वैशेषिकशास्त्र, न्याय (तर्कशास्त्र) योगशास्त्र, सांख्यशास्त्र र वेदांतशास्त्र आदि l

 

ब्रह्मचर्यव्रतको समापन या विद्यार्थीजीवनको अंतको सूचकको रुपमा समावर्तन (उपदेश) संस्कार गरिन्छ, जुनचाहिं साधारणतया पच्चीस वर्षको आयुमा हुन्छ l यस संस्कारको माध्यमले गुरुले शिष्यलाई इंद्रियनिग्रह, दया र मानवकल्याणको शिक्षा दिन्थे l ऋगवेदमा लेखिएको पनि छ-

 

युवा सुवासाः परिवीत आगात् स उ श्रेयान् भवति जायमानः।

तं धीरासः कवय उन्नयन्ति स्वाध्यों मनसा देवयन्तः।।

 

अर्थात् युवा पुरुष उत्तम वस्त्रहरुलाई धारण गरि उपवीत (ब्रह्मचारी) सम्पूर्ण विद्याहरुबाट प्रकाशित जब गृहस्थाश्रममा आउँछ, तब उ प्रसिद्द भएर श्रेय मंगलकारी एवं शोभायुक्त हुन्छ l उसलाई धीर, बुद्धिमान, विद्वान, राम्रो ध्यानयुक्त मनले विद्याको प्रकाशका लागि उच्चपदमा आसीन गराउंछन् l

 

तैत्तिरीय उपनिषद्को शिक्षावल्लीको एघारौं अनुवाकमा उल्लेख छ कि कसरी आचार्यले आफ्ना स्नातकलाई भावी जीवनको उपदेश दिन्थे-

सत्यं वद । धर्मं चर । स्वाध्यायान्मा प्रमदः । आचार्याय प्रियं धनमाहृत्य प्रजातन्तुं मा व्यवच्छेत्सीः । सत्यान्न प्रमदितव्यम् । धर्मान्न प्रमदितव्यम् । कुशलान्न प्रमदितव्यम् । भूत्यै न प्रमदितव्यम् ।

 

अर्थात् सत्य बोल्नु, धर्माचरण गर्नु, स्वाध्याय गर्नमा आलस्य नगर्नु, (पढ्न समाप्त भयो, अब हामीलाई पठन-पाठनदेखि के मतलब, यस्तो नसम्झिनु) आचार्यलाई उनको प्रियवस्तु दिनु, र संतानरूपी तंतुको विच्छेद नगर्नु (अर्थात् संतान उत्पन्न गर्नबाट नबच्नु) सत्यप्रति प्रमाद नगर्नु, धर्मको मार्गमा हिंड्न प्रमाद नगर्नु, कल्याणकारी कार्यहरुलाई गर्नमा आलस्य नगर्नु एवं संसाधनहरुको विकासमा आलस्य नगर्नु...l

 

पच्चीस वर्षको अवस्थासम्म ब्रह्मचर्यपूर्वक गुरुकुलमा बसेर, गुरुसंग समस्त वेद-वेदांगहरुको शिक्षा प्राप्त गरि शिष्य जब गुरुको परीक्षामा उत्तीर्ण हुन्थ्यो, तब गुरुले उसको शिक्षा पूर्ण भएको प्रतीकस्वरूप उसको समावर्तन संस्कार गर्दथे l यो संस्कार एक या अनेक शिष्यहरुको एकसाथ हुन्थ्यो l वर्तमान युगमा पनि यो संस्कार विश्वविद्यालयहरुमा हुन्छ, तर यसको रूप र उद्येश्य भने परिवर्तित भएको छ l प्राचीन कालमा समावर्तन संस्कारद्वारा विभिन्न उपदेशहरु दिएर गृहस्थाश्रममा प्रवेश गर्ने अनुमति प्रदान गर्थे l उनले भन्थे-

 

उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत ।

क्षुरस्य धारा निशिता दुरत्यया दुर्गं पथस्तत्कवयो वदन्ति ।। (कठोपनिषद्)

अर्थात् (हे मानव) उठ, जाग (सचेत हौ) श्रेष्ठ (ज्ञानी) पुरुषहरुलाई प्राप्त (उनिहरुको नजिक गई) गरि ज्ञान प्राप्त गर l किनकि ज्ञानी पुरुषहरुले त्यस पथ (तत्वज्ञानको मार्ग) लाई छुराको तीक्ष्ण (नाघ्नमा कठिन) धारको समान दुर्गम (घोर कठिन) भनेका छन् l

 

अथर्ववेदमा पनि भनिएको छ कि ब्रह्मचारी समस्त धातुहरुलाई धारण गरि समुद्रको समान ज्ञानमा गंभीर सलिल जीवनधार प्रभुको आनंद रसमा विभोर भएर तपस्वी हुन्छ l उ स्नातक भएर नम्र, शक्तिमान र दीप्तिमान बनेर पृथ्वीमा सुशोभित हुन्छ l

यो पनि पढ्नुहोस्- यज्ञोपवीत संस्कार, महत्व एवं परिचय !